५ वर्षपछि अलैंची निर्यात

काँकडभिट्टा — पूर्वी नाकाबाट अलंैचीको निर्यात ५ वर्षपछि पुन: सुरु भएको छ  । विगतमा भारतीय प्लान्ट क्वारेन्टाइनको झन्झटिलो प्रक्रियाले निर्यात अवरुद्ध थियो  ।

मेची भन्सार कार्यालयका अनुसार दुई महिनायता करिब ८ करोड मूल्यको १ लाख ५ सय किलो अलैंची निर्यात भएको छ । अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले निर्यात सुरु भएपछि व्यापार थप सहज भएको बताए ।

विगतमा भारतको पानीट्यांकीस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले अलैंचीवाहक सबै गाडीको नमुना जाँचका लागि कोलकाता पठाउँथ्यो । जसका कारण कम्तीमा एक साता कुर्नुपर्ने बाध्यता थियो । ‘अब एक पटकको नमुना जाँचको रिपोर्टलाई आधार मानेर सामान आयात गर्न क्वारेन्टाइन मन्जुर भएको छ,’ भट्टराई भन्छन्, ‘जसले अलैंचीको निर्यात सहज बनायो ।’

यसअघि विराटनगरको जोगबनी नाकाबाट मात्रै नेपाली अलैंची निर्यात हुँदै आएको थियो । अध्यक्ष भट्टराईका अनुसार जोगबनीबाट सिलगढी पुर्‍याउन दुई दिन लाग्थ्यो । अब एकै दिनमा सिलगढी पुर्‍याउन सकिन्छ । ढुवानी भाडासमेत कम लाग्ने भएको छ ।

भाउ निरन्तर गिर्दो वर्ष दिनअघि अलैंचीको भाउ प्रतिमन (४० किलो) लाख रुपैयाँ नाघेको थियो । तर, अहिले यसको भाउ निरन्तर गिर्दो छ । अहिले यसको भाउ प्रतिमन ३० हजार मात्रै छ । संघका अनुसार न्यून मूल्यका कारण करोडौं मूल्यको अलैंची बिर्तामोडको गोदाममा थन्किएर बसेको छ ।

थोरै मात्र निर्यात भइरहेको छ । खासगरी असमको अलैंचीका कारण पनि भाउ नपाएको व्यवसायीको भनाइ छ । असममा उत्पादित अलंैची सस्तोमा उपलब्ध भइरहेको छ । गुणस्तरमा उत्कृष्ट मानिने नेपाली अलैंचीले भने त्यही कारण भाउ पाएको छैन ।

नेपाली अलैंचीलाई बंगलादेश निर्यात गर्ने प्रयत्न पनि अलैंची महासंघले गरेको थियो । तर, उच्च करका कारण निर्यात गर्न नसकिएको अध्यक्ष भट्टराईले बताए । ‘बंगलादेशमा नेपाली अलैंचीलाई ३५ प्रतिशत ड्युटी तोकिदिएको छ’, उनले भने, ‘महँगो कर तिरेर निर्यात गर्ने अवस्था हाम्रो छैन ।’ बंगलादेश र भुटानबीच कृषिजन्य उत्पादन आयात–निर्यातमा शून्य भन्सार व्यवस्था छ । जसका कारण भुटानले बिना ड्युटी अलंैची निर्यात गरिरहेको छ ।

अलैंची भारतसहित, पाकिस्तान, दुबई र युरोपेली मुलुकमा निर्यात हुँदै आएको छ । ताप्लेजुङ पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, गोरखालगायत जिल्लाका करिब १ लाख ७५ हजार कृषक अलैंची खेतीमा संलग्न रहेको अनुमान छ । नेपालमा वार्षिक करिब १५ हजार ४ सय हेक्टर जमिनमा खेती हुने अलैंची करिब ५ हजार मेट्रिक टन उत्पादन हुन्छ ।

www.kantipurdaily.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?