तरकारीले फेरिएको गाउँ

पर्वत — दुई दशकअघिसम्म यहाँका युवा खाडी मुलुक नगएसम्म परिवारको हातमुख जोर्ने अवस्था थिएन  । ०५३ सालमा सल्यानमा धाइरिङ सिँचाइ आयोजना बन्यो ।

आकासेपानीको भरमा एक सिजन कोदो मात्रै फल्ने गाउँको फाँटमा लहलह धान फल्न थाल्यो । त्यसैबेला बेमौसमी तरकारी खेतीको लहर गाउँभरि सुरु भयो ।

गाउँमा विदेश गएर फर्किएका युवाले तरकारी खेती गर्न थाले । युवामा गाउँमै दुखजिलो गर्ने केही थिए । उत्तरपूर्वी मोहडामा फैलिएको विशाल फाँटमा एकपछि अर्को गर्दै तरकारी रोप्ने किसानको होडबाजी चल्यो ।

त्यति नै बेला ट्रयाक खुलेको मालढुंगा–बेनी सडकले बेनी, बागलुङ र पर्वत हुँदै कास्कीसम्म यो गाउँ जोडिइसकेको थियो । गाउँको फेदीमा पर्ने मिलनचोकसम्म गाडीको सहज पहुँच भएपछि यहाँ फलेको तरकारी बिक्री गर्न समस्या भएन ।

उतिबेलादेखि नै तरकारी खेतीमा लागेका एकनारायण पौडेल यहाँका अगुवा हुन् । उनले तरकारीबाट मात्रै यो अवधिमा करिब २ करोडको सम्पत्ति जोडेका छन् । तरकारीबाट छोटो समयमै फड्को मार्नेमा उनी एक्ला होइनन् ।

दर्जनभन्दा बढी युवा तरकारीबाटै करोडपति बनेका छन् । साबिकको धाइरिङ गाविसको वडा नम्बर ४ र ५ (हालको जलजला ७) सल्यानमा करिब दुई सय परिवारको बसोबास छ । तीमध्ये आधाजसो परिवार तरकारीबाटै आत्मनिर्भर छन् । यहाँका एकल महिलादेखि संयुक्त परिवारसमेतले तरकारीबाट लाखौं आम्दानी गर्छन् ।

सबै किसानले गरेर सल्यान फाँटको पाँच सय रोपनीमा तरकारी लगाउँदै आएको पौडेलले बताए । ‘सय परिवारले तरकारी लगाएका छन्,’ स्थानीय धाइरिङ बीउ तथा ताजा तरकारी उत्पादन समूहका अध्यक्षसमेत रहेका उनले भने, ‘थोरै लगाउनेले दुई रोपनी र धेरैमा १२ रोपनीमा तरकारी लगाउँछन् ।’

उनका अनुसार सिजनमा यहाँबाट दैनिक पाँच ट्रक तरकारी जिल्लाबहिर जान्छ । धेरैजसो किसानले नजिकको बजार बेनीमा बिक्री गर्छन् । त्योबाहेक मुस्ताङ, बागलुङ, कुस्मा र पोखरा यहाँका किसानको मुख्य बजार हो ।

यहाँ विशेषगरी बेमौसमी काँक्रा, गोलभेंडा, आलु, काउली, बन्दा, लसुन, प्याजलगायत तरकारी उत्पादन हुन्छ । त्योबाहेक भक्तपुर लोकल काँक्रा र विभिन्न जातका गोलभेंडाको बीउसमेत उत्पादन हुन्छ । अगुवा किसान देवी पौडेलका अनुसार अघिल्लो वर्ष ३२ क्विन्टल काँक्रो र १० क्विन्टल गोलभेंडाको बीउ मात्रै उत्पादन भएको थियो ।

बीउबाट मात्रै यहाँका किसानले अघिल्लो वर्ष १ करोड २ लाख रुपैयाँ गाउँमा भित्र्याएका थिए । किसानकै सक्रियतामा केही वर्षअघि गठित धाइरिङ बीउ तथा ताजा तरकारी उत्पादक समूहले गाउँभरिको बीउ संकलन गरेर बिक्री गर्छ । बीउ खरिद गर्न चितवन, कास्की र काठमाडौंस्थित कालीमाटीका व्यवसायी गाउँमै आउँछन् ।

यहाँका सबैजसो युवा बिहान सबेरैदेखि साँझ अबेरसम्म खेतमा व्यस्त हुन्छन् । धाइरिङ सिँचाइ आयोजनाले घरमुन्तिरको समथर फाँटमा बाहै्र महिना सिँचाइ हुन्छ । आधुनिक प्रविधिको प्रयोग, उन्नत जातको बीउ, रोगकिराको सहज निदान, गाउँसम्म सडकको पहुँचलगायतका कारणले पछिल्ला केही वर्षयता तरकारी उत्पादनमा समस्या छैन । उत्पादन भएको तरकारी पोखरासम्म लैजान घरघरै गाडी पुग्छन् ।

दुई दशकअघि वैदेशिक रोजगारीमा गएका स्थानीय बुद्धिप्रसाद सुवेदी, योगेन्द्र पौडेल, टेकनारायण आचार्यलगायतले अहिले तरकारीबाटै बर्सेनि १० देखि १५ लाखसम्म आम्दानी गर्छन् । गाउँमा आम्दानीको कुनै माध्यम नदेखेर खाडी मुलुक पुगेका उनीहरूले गाउँ फर्किएर गरेको प्रगति निकै लोभलाग्दो छ । तरकारीको आम्दानीले बेनी, कुस्मा, बागलुङ, पोखरालगायतका बजारमा घरघडेरी जोड्नेको संख्या ५० भन्दा बढी पुगेको अगुवा किसान नरबहादुर क्षत्री बताउँछन् ।

‘प्राय: सबैले बजारमा घर जोडेका छन्,’ अर्का अगुवा रामप्रसाद पौडेलले भने, ‘तरकारीकै आम्दानीबाट जोडेको सम्पत्ति हो ।’ बेसिजनमा राम्रो उत्पादन हुने भएकाले यहाँको तरकारीले बढी मूल्य पाउँछ । यो गाउँ तरकारीबाट आत्मनिर्भर जिल्लाकै एक मात्र गाउँ हो । तरकारीबाट जिल्लामै सर्वाधिक आम्दानी गर्ने गाउँका रूपमा चिनिएको छ । अगुवा किसान हरि शर्माका अनुसार विगत ४ वर्षयता यहाँका किसानले गोलेभेंडा, काँक्रा, लौका, फर्सी, मुलालगायतको बीउसमेत उत्पादन गर्दै आएका छन् । सिजनमा तरकारीको मूल्य घटेका बेला उनीहरू बीउमा जोड दिन्छन् ।

यहाँको व्यावसायिक तरकारीमा विगतदेखि सरकारी तथा गैरसरकारी निकायको सहयोग र सहकार्य हुँदै आएको छ । विगतमा जिल्ला कृषि विकास कार्यालयले सल्यानलाई तरकारी पकेट क्षेत्र घोषणा गरेको थियो । गत वर्षदेखि जलजला गाउँपालिकाले विशेष सहुलियतका कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाले पनि धाइरिङ र नाङ्लीबाङलाई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजनामा समेत यो गाउँ तरकारी पकेट क्षेत्रका रूपमा घोषणा भइसकेको छ । परियोजनाअन्तर्गत किसानलाई बीउ, मल, मलखाद व्यवस्थापन, करेसाबारी सुधारलगायतमा अनुदानका कार्यक्रम सञ्चालनमा रहेको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले बताए ।

यहाँको तरकारीले मुख्य गरी बेनी, बागलुङ र कुश्माको माग धानेको छ । त्यसबाहेक पोखरा, नारायणगढ र काठमाडौंसम्म पनि यहाँको तरकारी पुग्ने किसान बताउँछन् ।

यहाँको तरकारीबाट लोभिएर म्याग्दीको बेनीका युवाले समेत अघिल्लो वर्षदेखि जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती सुरु गरेका छन् । चार रोपनी जग्गा भाडामा लिएका बेनीका विष्णु श्रेष्ठले पहिलो वर्षमै राम्रो आम्दानी भएको बताए ।

प्रतिरोपनी १६ हजार रुपैयाँ वार्षिक भाडा तिर्ने गरी जग्गा भाडामा लिएका उनले बन्दा, काउली गोलभेंडालगायत तरकारी लगाएका छन् । ‘धेरै ठाउँमा जग्गा खोजें,’ उनले भने, ‘यहाँजस्तो उपयुक्त जग्गा कतै भेटिनँ ।’ उनले चार रोपनीमा लगाएको तरकारीबाट एक वर्षमै करिब ३ लाख आम्दानी भएको बताए ।कान्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments