दार्चुलामा स्याउ जोन कार्यक्रम सञ्चालन

दार्चुला — प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत दार्चुलामा ‘स्याउ जोन’ कार्यक्रम लागू हुने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको उक्त परियोजनाले ६ वर्षमा यहाँको ५ सय हेक्टर जमिनमा स्याउ खेती गरिने जनाएको हो  ।

चालु आवबाट सुरु भएर ०८०/०८१ सम्म सञ्चालन हुने परियोजनामा ७० प्रतिशत लगानी संघीय सरकार र ३० प्रतिशत स्थानीयको लगानी हुने परियोजना कार्यान्वयन इकाई दार्चुलाका निम्ति प्रमुख विष्णुप्रसाद ओझा बताए । जिल्लाको हिमाली क्षेत्रमा पर्ने व्यास गाउँपालिकाको व्यास, राप्ला र सुन्सेरा, अपी हिमाल गाउँपालिकाको खण्डेश्वरी र सितोला तथा नौगाड गाउँपालिकाको इयरकोटका विभिन्न ठाउँहरूमा स्याउ फलाइने परियोजना कार्यान्वय इकाई कार्यालयले जनाएको छ ।

‘समुद्री सतहबाट २ हजार ५ सयदेखि ३ हजार ५ सय मिटर उचाइसम्मको भू–भागमा स्याउ उत्पादन गर्न सकिने छ,’ उनले भने, ‘स्याउ खेतीका लागि गाउँपालिकासँग समन्वय भइरहेको छ ।’ केही गाउँपालिकाहरूमा माटो परीक्षणको कार्य चलेको छ । अपी हिमाल गाउँपालिका स्याउ उत्पादित हुने सम्भावित ठाउँको माटो परीक्षण गरिएको छ ।

व्यास गाउँपालिकामा माटो परीक्षणका लागि प्राविधिकहरूको टोली व्यासको छाङरु र तिंकर गएको छ । स्याउ उत्पादनबाट आयआर्जन गरी जनताको जीवनस्तर माथि उकास्ने उद्देश्यले ‘स्याउ जोन’ लागू कार्यक्रम देशभरका हिमाली जिल्लाहरूमा लागू भएको उनले जानकारी दिए ।

जिल्लाका विभिन्न ठाउँमा उन्नत जातको बीउ, नयाँ पद्धति तथा प्रविधि अपनाएर सुहाउँदो अनुकूल परिस्थिति हेरेर समुद्री सतहबाट २ हजारदेखि ४ हजार मिटरको उचाइमा पनि स्याउ खेती गर्न सकिने कृषि प्राविधिक हरिदत्त जोशीले बताए ।

‘स्याउ जोन कार्यक्रमका ठाउँ छनोट गरेर माटो परीक्षण र स्याउ खेती सुरु गरिनेछन्,’ उनले भने, ‘दुई/तीन वर्षमै स्थानीयस्तरमै स्याउ उत्पादन गर्ने गरी कार्यक्रम कार्यान्वयन गरिनेछ ।’ यो कार्यक्रम लागू भएपछि स्थानीयस्तरमा कृषकहरूको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

स्याउको बीउको राम्रो उन्नत जातको लगभग प्रतिकिलो ३५ हजारदेखि ४५ हजारसम्म पर्छ । स्याउको बोटको प्रतिबोट ७५ रुपैयाँदेखि एक हजार ५ सयसम्म पर्ने सक्ने अनुमान गरिएको छ । चालु आवको कार्यक्रम सञ्चालनका लागि यहाँ १ करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको निमित्त प्रमुख ओझाले जानकारी दिए ।

जिल्लाका हिमाली क्षेत्रमा करिब एक दशकदेखि व्यावसायिक रूपमा स्याउ उत्पादन गर्दै आएका छन् । व्यास र अपी हिमाल गाउँपालिकाका केही ठाउँमा पछिल्लो वर्षहरूमा व्यावसायिक रूपमा स्याउ उत्पादन गरिए पनि ढुवानीको समस्या भोग्दै आएको किसानहरूको गुनासो छ । केही वर्षदेखि स्याउको व्यावसायिक खेती गर्दै आएका व्यास गाउँपालिका १ छाङरुका जितबहादुर बोहराले बजार र ढुवानीको समस्या भोग्दै आएका छन् ।

उनी दुई सय बोट स्याउका रोपेर व्यावसायिक खेतीतर्फ उन्मुख छन् । ‘स्याउ उत्पादन सुरु गरेको ४/५ वर्ष भयो । स्थानीयस्तरमा बजार नहुँदा समस्याले पिरोलेको छ,’ उनले भने, ‘यहाबाट बजारसम्म पुर्‍याउने भरपर्दो बाटोसमेत नभएको अवस्था छ ।’

यसमा मेहेनत धेरै भए पनि उत्पादन भएको स्याउ नबेचिँदा लगानीसमेत नउठेको प्रति चिन्ता व्यक्त गरे । बजार र ढुवानी समस्याका कारण बारीमा फलेको स्याउलाई बजारसम्म पुर्‍याउन नसक्दा यो क्षेत्रमा व्यावसायिक खेतीमा ठूलो समस्या भोगिरहेको उनको भनाइ छ ।

गत वर्ष बारीमा फलेको स्याउलाई समयमै बजारमा पुर्‍याउन सकेको भए अढाई लाखसम्म आम्दानी हुने उनले बताए । बजारको समस्याले अधिकांश स्याउ बारीमै कुहिन्छ । राज्यले यहाँको उत्पादित स्याउलाई बजारसम्म सहज रूपमा पुर्‍याउने व्यवस्था गर्न सके वा स्थानीयस्तरमा स्याउको चिस्यान केन्द्र स्थापना गरे यहाँका सबै स्थानीयले व्यावसायिक स्याउ खेतीको सम्भावना धेरै रहेको उनको भनाइ छ ।

कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशको बैतडीमा मकै, अछाममा आलु, कञ्चनपुरमा धान, कैलालीमा गहुँ, टीकापुरमा तेलहन डडेल्धुरामा आलु सुपर जोनका रूपमा कार्यक्रम सञ्चालन भएको छ ।कान्तिपुर

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments