माछाको बिमा नगर्दा लगानी डुब्यो

बारा — माछापालनले मनग्य कमाइ हुने देखेर नजिकैको माछा गाउँको देखासिकीबाट करैयामाई गाउँपालिका १ का दीपक पासवानले गत वैशाखमा डेढ बिघा खेतमा पोखरी खनाए ।

जेठदेखि ऋण गरेर माछापालन सुरु गरे । माछा स्यारहार गर्न दाना, पिनालगायततमा हजारौं रकम खर्च गरे । मंसिर १५ देखि माछा मारेर बेच्ने सपना थियो थियो । तर, उनको सपना पूरा हुन पाएन ।

गत शुक्रबार राति अज्ञात व्यक्तिले पोखरीमा विष हालेपछि विषले झन्डै २५ लाख बराबरका माछा सखाप भए । माछापालन उत्साही दीपक निराश भएका छन् ।

‘पोखरी खन्नेदेखि पोखरीमा पानी हाल्ने र हालिएको माछाको भुरा तयारी गर्न लागेको खर्च नै डुब्यो । अब ऋण कसरी तिर्ने ? चिन्ता भयो,’ उनले भने, ‘मिहिनेतले तयारी गरिएको माछा रातारात एकैछिनमा स्वाहा बनाइदियो ।’ छानबिनका लागि प्रहरीमा उजुरी दिएको उनले बताए । प्रहरीले विष जाँचका लागि नमुना संकलन गरेको छ । पोखरीबाट १ लिटरको विषादीको सिसीसमेत बरामद भएको छ । ‘विभिन्न जातका ठूला माछालाई दाना पिना खुवाएर डेढ केजी साइज बनाएको थिएँ,’ उनले भने, ‘बिमा पनि गरेको थिइनँ ।’

मत्स्य व्यवसायी संघका जिल्ला कोषाध्यक्षसमेत रहेका दीपकको माछा नोक्सानी उदाहरण मात्र हुन् । ‘अन्य अन्नबालीको खेती छाडेर माछापालन सुरु गरे । तर एक वर्ष नबित्दै आम्दानी हात पार्ने धोको चकनाचुर भयो,’ उनले भने । माछाको ‘हब’ बन्दै गएको यस जिल्लामा थुप्रै माछा किसानलाई विष हालेर यस्तै क्षति पुर्‍याउने प्रवृत्ति बढेको छ ।

पछिल्लो केही वर्षदेखि फस्टाएको माछापालन व्यवसाय असुरक्षित बन्दै गएपछि माछा किसान चिन्तित छन् । माछापालन असुरक्षित भएपछि यहाँका माछापालन गर्ने किसानले बर्सेनि ठूलो क्षति बेहोर्नुपरिरहेको छ । नोक्सानीको क्रम बढ्न थालेपछि उनीहरूको लगानी जोखिममा परेको छ । रिसइबीले माछा पोखरीमा विष हालेर किसानलाई नोक्सानी पुर्‍याउन थालेपछि चिन्तित भएका हुन् ।

तरकारी बालीमा प्रयोग गरिने ‘इन्डोसल्फान’ नामक विष हालेर नोक्सानी पुर्‍याउने गरिएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिकहरू बताउँछन् । मत्स्य व्यवसायी संघका जिल्ला अध्यक्ष जंगबहादुर साहका अनुसार जिल्लामा ३ हजार ६ सय हेक्टरमा ६ हजार ५ सय पोखरी छन् ।कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments