किसानले धानको उचित मूल्य पाएनन्

धनगढी — यो वर्ष धानको उत्पादन वृद्धि भए पनि कैलालीमा किसानले धानको मूल्य पाउन सकेका छैनन् । खाद्य संस्थानले धान खरिद सुरु नगर्दा किसानहरूले तोकिएको मूल्य पनि पाउन नसकेका हुन् ।

सरकारले तोकेको धानको समर्थन मूल्यमा खाद्य संस्थानले खरिद सुरु नगर्दा किसानले व्यापारीसँग सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । संस्थानले किसानको धान सकिने बेलामा मात्रै खरिद सुरु गर्ने गरेको किसानहरूको गुनासो छ ।

‘यसबेला चाडवाडको खर्च र गहँु बालीका लागि मलखाद किन्न किसानलाई पैसाको अभाव पर्छ,’ भजनीका किसान गंगा चौधरीले भने, ‘संस्थानलाई बेचौंला भनेर किसानले धान बचाएर राख्न सक्दैनन् ।’ उनले हातमा पैसाको मुठो बोकेर व्यापारी र बिचौलियाहरू किसानका घरघरमा पुगेको बताए ।

उनले व्यापारीलाई सस्तो दरमा धान बेचेर गहँुका लागि मल किन्नुपरेको बताए । उनका अनुसार अहिले किसानले मोटो १९ सय र मध्यम २ हजार ५० प्रति क्विन्टल धान बिक्री गरिरहेका छन् । सरकारले यो वर्ष धानको समर्थन मूल्य मोटो २३ सय ३१ र मध्यमको २४ सय ६० प्रति क्विन्टल ताकेको छ ।

‘खाद्य संस्थानले सरकारले तोकेको मूल्यमा धान खरिद सुरु गरेपछि मात्रै किसानले व्यापारीबाट मूल्य पाउँछन्,’ चौधरीले भने, ‘तर व्यापारीसँग रहने मिलोमतोमा संस्थानले किसानको धान चाँडो उठाउँदैनन् ।’ उनले यो उहिल्यै देखिको समस्या भएको बताए ।

चौधरीका अनुसार गत वर्ष किसानले सुरुमा व्यापारीलाई धान १७/१८ सय प्रतिक्विन्टल धान बेचेका थिए । पछि संस्थानले २४ सय प्रतिक्विन्टलमा खरिद गरेको बताए । तर, धनगढीका खाद्य व्यापारी हरि शंकर ठाकुरले किसानले गत वर्षको तुलनामा २ सयसम्म बढी धानको मूल्य पाइरहेको बताए । ‘यो वर्ष धानको उत्पादन बढेको छ,’ उनले भने, ‘धानको गुणस्तर पनि राम्रो छ । त्यसैले गत वर्षको भन्दा धानको मूल्य बढी पाएका छन् ।’

उनका अनुसार व्यापारीले कैलालीबाट १० लाख क्विन्टल धान खरिद गर्ने गरेका छन् । गाउँघरबाट धान संकलन गर्ने साना ठूला करिब ५ सय व्यापारीहरू रहेका छन् ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?