केराको थामबाट आम्दानी

बर्दिवास,मिथिला क्षेत्रमा तिहार पर्व केराखेती गर्ने किसानलाई आयआर्जनसँगै गोडमेलको विशेष अवसर बन्ने गरेको छ । लक्ष्मीपूजाका दिन घर÷घरमा केराका थामबाट स्वागतद्वार बनाइने चलन छ । किसानले त्यस अवसरमा केराको थाम बेच्ने गरेका छन् ।

कोथा छाँट्न किसान तिहार पर्खने गरेका छन् । “अन्यबेला केरा गोडमेलका लागि कोथा छाँट्दा छाँटिएका कोथा मिल्काउनसँगै त्यसमा लाग्ने श्रम बराबरको पारिश्रमिक पनि दिनुपर्ने हुन्छ,” भङ्गाहा नगरपालिका–४ रामनगरका सत्यनारायण यादवले भन्नुभयो, “तिहारमा कोथा किन्न आउने आफैँले उखेल्ने गरेकाले मजदूरी दिन पर्ने रकमसहित कोथा बेचेर प्राप्त हुने रकम अतिरिक्त आम्दानी हुने गरेको छ ।” त्यसैले केरा खेती गर्ने किसानले केरा गोडमेल र बढी निस्केका कोथा उखेल्न तिहार पर्खने गरेका छन् ।

करीब १० कट्ठा क्षेत्रफलमा लगाइएको केराबाट पछिल्ला तीन वर्षयता थामबाटै रु १५ देखि रु २० हजार अतिरिक्त आम्दानी हुने गरेको यादवले बताउनुभयो । लक्ष्मीपूजाका दिन बनाइने स्वागतद्वारका लागि उद्यमी, व्यापारीले केराखेती गर्ने किसानसँग अहिलेदेखि नै थामको बोलकवोल पक्का गर्न थालेका छन् । आफ्नो बारीका २०० कोथा अहिले नै बिक्री भइसकेको भङ्गाहा–४ थारूटोल बनराका हेमलालसिंह थारू बताउनुहुन्छ ।

बर्दिवास–९ पशुपतिनगरका सुरजसिंह कुशवाहा केराको गोडमेल र कोथा छाँट्न तिहार पर्खेको बताउनुहुन्छ । तिहार आउन एकसाता बाँकी छँदै शुरु भएको थामको बिक्री लक्ष्मीपूजासम्म चल्छ । धेरै गाँजिएपछि बोट छ्याँस्नै पर्ने ठाउँमा तिहार पर्खेर बसेका किसानले अन्य बेला फाल्नुपर्ने थामबाटै अहिले भने अतिरिक्त आम्दानी गर्दैछन् ।

“केराको झ्याङमा बोट गाँजिएर केही बोट (थाम) उखेल्नु नै परेको थियो,” गौशाला नगरपालिका बटुवा बस्तीका विष्णु लामाले भन्नुभयोे, “अन्य बेलामा गाँजिएका बोट उखेल्न, फ्याँक्न थप खर्च लाग्छ, बिक्री हुने भएकाले गाँजिएका बोट उखेल्न तिहार पर्खने गरेका छौँ ।” आफ्नो बारीका ४०० कोथा बिक्रीको बोलकवोल भइसकेको लामा बताउनुहुन्छ ।

तिहारमा करीब ४० हजार कोथा स्वागतद्वार निर्माणका लागि आवश्यक पर्ने महोत्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद गुप्ता बताउनुहुन्छ । तिहारमा लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन केराको बोट चाहिने मैथली परम्पराअनुसार जिल्लामा केराका थामको माग हुने गरेको छ । केराको थाममात्र तिहारमा रु २० लाखभन्दा बढीको कारोवार हुने गुप्ताले बताउनुभयो ।

व्यापारिक प्रतिष्ठानका सञ्चालक अहिले केराको थाम किन्न गाउँबस्ती पुग्न थालेका छन् । बर्दिवास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा, जलेश्वर नगरसहितका व्यापारिक प्रतिष्ठानका सञ्चालक केराको थाम खोज्न थालेका छन् । एकजोर केराको थाम रु २०० सम्ममा बिक्री हुने गरेको छ । (रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?