महिलाहरूले फुलाए एक बिघा बाँझो खेतमा ढकमक्क सयपत्री फूल

रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बाँझो जग्गामा व्यवसायिक पुष्प खेती गर्न थालिएको छ। नेपालमा भारतबाट वर्षेनी करोडौंको फूल आयात हुँदै आएकाले त्यसलाई न्यूनिकरण गर्नका लागि ८ जना महिलाहरूले सामूहिक रुपमा पुष्पखेती गर्न थालेका हुन।

तिलोत्तमा सहकदम कृषि समूह गठन गरेर तिलोत्तमा नगरपालिका १६ फूलबारीचोकस्थित १ बिघा जग्गामा पुष्प खेती गरिएको छ। सामाजिक तथा कृषि पेशामा आवद्ध महिलाहरूको सक्रियतामा व्यवसायिक रुपमा फूल लगाइएको हो।

भदौंमा सारिएको सयपत्रीको फूल अहिले ढकमक्क फुलिरहेको छ। अहिले तिहारका लागि फूल तयार भइसकेको छ। समूहले चितवन र काठमाडौंबाट ल्याएका १४ हजार ५ सय सयपत्रीका बिरुवा रोपेको छ। बुटवल र तिलोत्तमा क्षेत्रका महिलाहरू मिलेर जिल्लामै पहिलो पटक सामूहिक रुपमा पुष्पखेती गरिएको हो। देवी वाग्ले, विष्णु मगर, पार्वती गिरी, सृजना आचार्य, माया थापा, सम्झना नेपाल, सिता सापकोटा र मिना सापकोटालले ५ लाख लगानी गरेर पुष्पखेती थालेका हुन्। अहिले नमूनाका रुपमा मात्रै खेती गरिएकाले अब तिहारपछि व्यवस्थित बनाउने योजना रहेको समूहका अध्यक्ष देवी वाग्लेले बताइन।

तिलोत्तमा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दुर्गा प्रसाद पाण्डेले बाँझो जग्गा उपलब्ध गराएका छन्। अहिले नमूनाका रुपमा फूल लगाइएकाले बाँझो जग्गाको तल्काल भाडा नदिइएको वाग्लेले बताइन। उनले फूल खेतीबाट उत्साही भएकाले तिहारपछि थप व्यवस्थित बनाउने योजना रहेको बताइन।

बिहानदेखि साँझसम्म समूहका सदस्यहरू नै खटेर फूल लगाएका हुन। अहिले पनि फूलखेतीको रेखदेख पालैपालो गर्ने गरेका छन्। घरको आँगन, खेतबारीको डिलमा फूल लगाइएपनि यसको व्यवसायिक खेती कम भएकाले महिलाहरूको सक्रियतामा व्यवसायिक पुष्प खेती थालिएको बताइन। पूजाआजा, विवाह तथा तिहारका बेलामा भारतबाटै फूलको आयात गर्नुपरेकाले त्यसलाई रोक्न आवश्यक ठानेर खेती गरिएको अध्यक्ष वाग्लेको भनाई छ। ‘व्यवसायिक रुपमा खेती गर्दा आम्दानी हुने र अर्थतन्त्र पनि बाहिरनबाट रोक्ने भएकाले पुष्पखेती गरिएको हो’ उनले भनिन।

सामूहिक रुपमा लगाइएको फूल अहिले तिहारका लागि विक्री गर्ने तयारी भइरहेको छ। तिहारलाई नै लक्षित गरी फूल लगाइएकाले लक्ष्मी पूजाका दिनदेखि विक्री गर्ने तयारीमा समूहका महिलाहरू जुटेका छन। यो पटक भने आफैंलै फूलको माला बुनेर विक्री गर्न लागिएको वाग्लेले बताइन। बुटवल, भैरहवा क्षेत्रबाट अर्डर समेत भएकाले माला उनेर बजार मूल्य अनुसार विक्री गर्ने तयारी गरिएको हो। नेपालमा भारतीय बजारले ढाकेको बेलामा स्वदेशी फूलका माला लगाएर तिहार मनाउन सचिव पार्वती गिरीको आग्रह छ। उनले आफूहरूले रातदिन नभनी मेहनतपूर्वक सयपत्री फूल फुलाएकाले त्यसको उपयोग गर्ने विश्वास व्यक्त गरिन।

संघसंस्थालाई नेपालकै फूलको प्रयोग गर्नका लागि अनुरोध गरिएको उपाध्यक्ष समेत रहेकी विष्णु मगरले बताइन। बुटवल, भैरहवा र मणिग्राम क्षेत्रका सरकारी कार्यालय, सामाजिक संघसंस्था र व्यक्तिहरूलाई फूलको माला खरिद गर्न आग्रह गरिएको उनले बताइन। ‘रातदिन नभनी मेहनतले हामीले फूल उत्पादन गरेका छौं’ मगरले भनिन, ‘फूल किनेर हौसला थप्ने आश गरेका छौं।’ उनी बिहान उज्यालो हुनासाथ सयपत्री फूल हेर्न पुगेकी हुन्छन्। पुष्प व्यवसाय गर्नका लागि मौसम प्रमुख चुनौतीका रुपमा लिने गरिन्छ।

रुपन्देहीमा केही व्यवसायीहरूले सानो क्षेत्रमा पुष्प खेती गरेका छन। तर एक बिघा क्षेत्रफलमा व्यवसायिक रुपमा खेती थालिएको भने यो पहिलो हो। पहिलो वर्ष भएकाले फूल त्यति धेरै नफूलेपनि लगानी भने उठ्ने सञ्चालकहरूको विश्वास छ। नेपालबाट फूल आयातका लागि अरबौं रकम विदेसिएको अवस्थामा महिला समूहले थालेको प्रयास सरहना छ।नागरिक

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments