बढ्दैछ चल्ला तस्करी

बुटवल – सशस्त्र प्रहरी बल राजस्व भन्सारको ३८ नम्बर गुल्म डन्डाले गएको आइतबार ३५ सयभन्दा बढी अवैध कुुखुराका चल्ला बरामद ग-यो। भारतबाट चल्ला तस्करी भइरहेको सूचनाका आधारमा गस्ती टोलीले मध्यराति साढे १२ बजे रोहीणी गाँउपालिका–७, टिकरबाट अवैध चल्ला बरामद गरेको हो।

तस्करले रातको समयमा रोहीणी नदी किनारको धानखेतबाट अवैध चल्ला नेपाल भिœयाएका थिए। चल्ला बरामद भए पनि तस्करीमा संलग्न व्यक्ति भागेको सशस्त्र प्रहरी गुल्म डन्डाका प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर खातीले बताए।

एक साताअघि पनि सशस्त्रले रातकै समयमा लुम्बिनीस्थित मसिना भन्ने स्थानबाट ठूलो परिमाणमा अवैध चल्ला बरामद गरेको थियो। सुराकीको आधारमा खटीएको गस्ती टोलीले रातभर मसिना गाँउ कुरेर बस्यो। बिहान करिब साढे तीन बजेतिर चल्ला लोड गरिएका आठ–नौवटा साइकल नेपाल आए। साढे पाँच हजार चल्ला सशस्त्रको गस्ती टोलीले बरामद ग-यो । तस्करीमा संलग्न फरार भए।

रुपन्देहीमा पछिल्लो सयम रातारात कुखुराका चल्ला, तयारी मासु र अण्डा तस्करी हुने गरेको छ। मुख्य तथा सहायक नाकामा सुरक्षा निगरानी बढेपछि तस्करले खुला सीमाको फाइदा उठाउँदै बाटोघाटो नभएको धानखेत र खोला किनार प्रयोग गर्न थालेका छन्।

नेपाल सरकारले बर्डफ्लू तथा पिभिन्न खालका पक्षीजन्य संक्रमण रोक्न भारतबाट कुखुराको चल्ला तथा तयारी मासु आयातमा प्रतिबन्ध लगाएको छ। तर चाडपर्वको मौका छोपेर रुपन्देहीका सहायक नाका तथा सुनसान ठाउँ र धानखेतबाटै ठूलो परिमाणमा कुखुरा, चल्ला र तयारी मासु तस्करी भइरहेको छ। तस्करी बढेसँगै सशस्त्र प्रहरीले जिल्लाको सहायक नाका तथा भित्री क्षेत्रमा निगरानी बढाएको जनाएको छ।

सशस्त्रको राजस्व गस्ती गुल्म डन्डाले मात्रै पछिल्लो दुई महिनामा १० हजार कुखुराका चल्ला बरामद गरी क्वारेन्टाइन कार्यालयको रोहबरमा नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देही अन्तर्गतका युनिटहरुले साउनयता जिल्लाका विभिन्न स्थानबाट झन्डै १३ लाख मूल्यका अवैध चल्ला बरामद गरेका छन्। सशस्त्रले तस्कर नै पक्राउ गरेका घटना नगन्य छन्।

गत साउनमा मोटरसाइकलको लेगगार्डमा कोइलर कुखुरा झुण्डाएर ल्याउँदै गरेका सात जनालाइ पक्राउ गरेको थियो। त्यसयता चल्ला ओसारपसारमा संलग्न पक्राउ परेका छैनन्। दर्जनौंपटक विभिन्न स्थानबाट अवैध चल्ला बरामद गरिए पनि तस्करीमा संलग्नहरु प्रहरीलाई देखेपपछि भागेकाले पक्राउ गर्न नसकिएको गस्ती टोलीले बताउने गरेका छन्।

तस्करीका सामान बरामद गरे पनि त्यसमा संलग्नलाई पक्राउ र कारबाही गर्न नसक्दा कुखुरा, चल्ला तथा तयारी मासुको अवैध आयात नरोकिएको हो। ओसारपसार तथा तस्करीमा संलग्नलाई पक्राउ गरी कारबाही नगरेसम्म अवैध आयात नरोकिने बताउँछन् भैरहवाका ह्याचरी व्यवसायी बासु बडाल।

सीमापारि कुखुराको मासु, चल्ला र अण्डा तुलनात्मक रुपमा सस्तो पर्छ । भारतीय सीमा क्षेत्रका केही गाउँमा नेपाली बजारलाई नै लक्ष्य गरेर ह्याचरीहरु सञ्चालन गरिएको सीमा क्षेत्रका स्थानीय बताउँछन् । गाउँलेका अनुसार सीमानजिक खोलिएका ती ह्याचरीबाट साइकल, टोकरी तथा बाँसको घारामा झुन्डाएर रातको समयमा सुनसान ठाउँ, धान खेत तथा खोला किनारबाट चल्ला र कुखुरा नेपाल ल्याइन्छ।

नेपालको भन्दा प्रतिगोटा २५–३० रुपैयाँसम्म सस्तोमा बिक्री हुने भारतीय चल्ला नेपालका केही ह्याचरीले नै अन्य जिल्लामा पठाउने बताइन्छ । अवैध रुपमा भिœयाइएका चल्ला र कुखुरा रुपन्देही, नवलपरासी र कपिलजस्तुका ग्रामीण भेगका साथै चितवनसम्म पु-याइने स्रोतको दाबी छ।

क्वारेन्टाइन कार्यालयका अनुसार भारतलाई विश्व स्वास्थ्य संगठनले बर्डफ्लूको उच्च जोखिममा राखेको छ । यस्तो देशले पक्षी निर्यात गर्न पाउँदैन । क्वारेन्टाइन नगरी अवैध रुपमा भित्र्याइएका कुखुरा तथा पक्षीबाट बर्डफ्लू, साल्मोनेला, रानीखेत जस्ता रोग भित्रने खतरा रहन्छ। पक्षी र पक्षीजन्य वस्तु आयातका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्वस्थताको प्रमाणपत्र तथा पशुसेवा विभागले तोकेको मापदण्ड पूरा गर्नुपर्छ नेपालमा फिलिपिन्स, डेनमार्क, श्रीलंका, न्युजिल्यान्ड, थाइल्यान्ड, मलेसिया लगायत देशबाट चल्ला आयात हुन्छ।नागरिक

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments