मनाङमा जोगाइँदै रैथाने स्याउ

लमजुङ — चार वर्षअघि हिमाली जिल्ला मनाङमा वर्णसंकर स्याउ भित्रियो । मनाङ ङिस्याङ गाउँपालिका १ भ्राताङमा एग्रो मनाङ प्रालिले ७ सय ३५ रोपनी क्षेत्रफलमा खेती थालेपछि अब मनाङ पनि स्याउ उत्पादनमा मुस्ताङभन्दा कम छैन । तर, भ्राताङमा लगाइएका जात रैथाने होइन ।

पछिल्लो समय कतिपयले वर्णसंकर जातका स्याउ रोपेका छन् । रैथाने जातका स्याउ फलाउँदै आएका किसान पनि उत्तिकै छन् । सरकारी तवरबाट अपेक्षित सहयोग नभए पनि इतिहास बोकेका रैथाने जात जोगाउने उनीहरूको उद्देश्य छ । चामे गाउँपालिका ४ कोतोका ७५ वर्षीय नुर्बु लामाले करीब तीन दशकयता स्थानीय जातका स्याउ फलाउँदै आएका छन् ।

उनीसँग गोल्डेन डेलिसियस, रोयल डेलिसियस र रेड डेलिसियस जातका ५ सय बोट छन् । ‘जस्तोसुकै स्याउ भित्रिए पनि मैले पुरानो स्याउ जोगाइराखेको छु । नयाँ बोट पनि बेलाबेला लगाउँदै आएको छु,’ उनले भने । चामे २ थान्चोककी किसान सुरेशकुमारी गुरुङका अनुसार उनको बगानमा रैथाने जातका ३० बोट छन् । पहिलेदेखि स्याउ खेती गरिँदै आए पनि अहिलेका फलेका बोट ९ वर्ष पुराना रहेको उनले बताइन् ।

‘पहिले नै बाउबाजेले लगाएका बोट मरेपछि हामी आफैंले सारेको बोटमा स्याउ फलेको छ,’ उनले भनिन्, ‘धेरै लगाउनेले त पछि आएको खेती गर्लान् । हाम्रो धेरै पनि छैन । पुरानो जातकै बिरुवा रोप्ने तयारी छ ।’

मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका वडाध्यक्ष भुजुङ गुरुङले यसपटक २० क्विन्टल स्याउ फलाएका छन् । करीब ९ रोपनी क्षेत्रफलको बगानमा अझै ७ देखि ८ क्विन्टलसम्मको स्याउ अझै टिप्न बाँकी छ । ५ क्विन्टल बिक्री गरेको र ५ क्विन्टल टिपेर राखिएको उनले बताए । ‘स्याहार पुगेमा पुरानो जातका बोटले पनि राम्ररी फल दिन्छ । मैले नयाँ जातको स्याउ रोप्ने तयारी गरेको छु,’ उनले भने, ‘स्याउ खेती विस्तार गर्ने योजना छ । पुरानो जात पनि रोप्छु ।’ नयाँको जस्तै पुरानोको पनि महत्त्व रहेको उनले बताए । ‘पुरानोलाई जोगाउनुपर्छ,’ उनले भने ।

उनले आफ्नो बारीमा पाँचमुखे, चारमुखे, चक्लेट, गोल्ेडन डेलिसियस, रोयल डेलिसियस, रेड डेलिसियसजस्ता पुराना जातका स्याउ फलाएका छन् । कीटनाशक औषधिबिना नै स्याउ फलाउँदै आएको उनले बताए । मनाङको मनाङ ङिस्याङ, चामे र नासों गाउँपालिकाका किसानले पुरानो रैथाने जातका स्याउ फलाउँदै आएका छन् । नार्पाभूमि गाउँपालिकामा भने स्याउ खेती गरिएको छैन ।

स्याउ खेती विस्तार तथा स्याउको क्षेत्रमा काम गर्न मनाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (स्याउ जोन) स्थापना गरिएको छ । गत वर्ष कृषि कार्यालयमा उक्त इकाई राखिएको थियो । अहिले कृषि कार्यालय हटेको छ । उक्त कार्यालयका अनुसार मनाङमा करिब १ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । यसमा करिबब १ हजार टन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ । करिब ३० हेक्टर क्षेत्रफलमा वर्णसंकर जातको स्याउको बगैंचा छ ।

यसबाट करिब ६ सय टन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ । रैथाने स्याउ खेती गरिएका बाँकी ७० हेक्टर जमिनमा करीब ४ सय टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । सिँचाइ, मलखाद, उपचारलगायतको व्यवस्थापकीय पक्ष राम्रो हुँदा र ससाना बोट भएर धेरै ठाउँमा फिँजिने भएकाले थोरै जग्गामा पनि वर्णसंकर जातका स्याउको उत्पादन बढी हुने गरेको प्राविधिकहरू बताउँछन् । पुरानो बोट, स्यहारसुसार नपुग्नु लगायतको समस्याले पुरानो रैथाने जातका बोटबाट कम उत्पादन हुँदै आएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (स्याउ जोन) का अधिकृत राजेश्वर सिलवालले नयाँ जातका स्याउसँगै पुराना जातका स्याउ संरक्षण गरिने बताए ।कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments