जै घाँसको उत्पादन घट्दो

Pic:Shirish Dhan

बागलुङ — तीन दशकअघि जै घाँसको व्यावसायिक खेती सुरु गरेका यहाँका गोविन्द पौडेल अहिले निराश छन्  । घाँस उत्पादन गरेर पोखरा, भैरहवा र धौलागिरिका सबै क्षेत्रमा पठाएका उनलाई अहिले काम गर्न साथ नपाएको अनुभव छ  ।

बागलुङ नगरपालिका ४ कुँडुलेमा पौडेलसहित नरहरि सापकोटा, डिल्ली सापकोटा र शशिधर आचार्यले व्यावसायिक घाँस उत्पादन थालेका थिए । २०४७ देखि बर्सेनि १० टनसम्म घाँस बिक्री हुने गरेको थियो । दुइ वर्षयता जिल्लामा प्रविधि, मल र उपचारका लागि साथ दिने कोही नपाएको उनले गुनासो गरे ।

जिल्ला पशु सेवा कार्यालयमा बजेट र कार्यक्रम आउन छाडेपछि उनीहरूले प्राविधिक सहयोग पाएका छैनन्् । ‘काम त गरिरहेका छौं तर पहिला प्राविधिक सहयोग पाइन्थ्यो । अहिले वास्तै हुँदैन,’ पौडेलले भने, ‘नगरपालिकाले कृषि क्षेत्रलाई वास्तै गरेको छैन ।’ अघिल्लो वर्ष बजेट शून्य हुँदा किसानले पशुहरूको कृत्रिम गर्भाधानसमेत गराउन पाएका थिएनन् । चालु वर्ष पनि कृषि क्षेत्र हेर्ने गरी बजेट र कार्यक्रम नभएको उनीहरूले गुनासो गरे ।

तत्कालीन पशुसेवा कार्यालयमा हाल भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्थापना भएको छ । चालु वर्षको चार महिना सकिँदासम्म कार्यक्रम र बजेट नआएपछि काम के गर्ने भन्ने अन्योल भएको पशुस्वास्थ्य प्राविधिक केशव पौडेलले बताए । ‘किसानले राम्रो गरेका छन्, प्राविधिक सहयोग गर्न सकिएको छैन,’ उनले भने, ‘उत्पादन खस्केकाले निराश किसानलाई स्थानीय तहले सहयोग गर्नुपर्छ ।’ समन्वय अभावमा घाँसको बीउसमेत बिचौलियाले खरिद गरेर किसानलाई ठगेको उनले आरोप लगाए ।

कार्यालयले घाँस व्यवस्थित रूपमा बिक्री र बजारीकरणको व्यवस्थापन गरिदिएको थियो । अहिले किसानको घर घरबाट बिक्री हुन्छ । घर घरबाट बिक्री गर्दा लागत अनुपातमा मूल्य पाउन नसकेको किसानले गुनासो गरेका छन् । यहाँ जै र भेज घाँस उत्पादन हुन्छ । भेज घाँसको मूल्य राम्रो पाउने भए पनि उत्पादन घटेको छ । जै घाँसको बीउ प्रतिकेजी ६० र भेजको प्रतिकेजी २ सय रुपैयाँ पर्छ । भेज घाँसमा प्रोटिनको मात्रा बढी पाइने भएकाले दूध उत्पादन पनि बढी हुन्छ । व्यावसायिक गाई र भैंसी पालेका किसानले घाँसको खोजी गर्छन् ।

यसअघि बाग्लुङको अमलाचौर घाँस विकास केन्द्र र मुक्तिनाथ घाँस विकास समितिमार्फत जिल्लालाई पुर्‍याएर लाखौं रुपैयाँको बाहिर पठाउने गर्थे । युवा पलायनले कामदार अभाव भएपछि उत्पादन घटेको शशिधर आचार्यले बताए । ‘काम गर्ने कोही छैन, बुढाबुढीले कति गर्न सकिन्छ र ?’ उनले भने, ‘युवाहरूले काम सिकेनन् भने केही वर्षमा पहिचान बनेको घाँस उत्पादन घटेर हामी नै किनेर ल्याउनेमा पुग्छौं ।’ घाँसको माग घटेको छ ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?