सय थरी धान स्याहार्दै

चितवन — यो बेला जताततै पाकेको धान काट्ने चटारो छ  । भरतपुर महानगरपालिका १५ फूलबारी श्रीपुरका चन्द्रप्रसाद अधिकारीको घरमा पनि नयाँ धान भित्रिदै छ  ।

तर उनी एक दुई थरी हैन अनेक जातका धान स्याहार्ने गर्छन् । यो वर्ष उनको खेतमा १ सय १२ जातका धान पाकेको छ । तीमध्ये केही स्याहारिसके, केही बाँकी छ ।

चन्द्रप्रसादले घरमा खान वा बेच्नैका लागि मात्रै यति धेरै जातका धान रोपेका भने हैनन् । लोप हुने अवस्थामा पुगेका र प्रचलनमा आउन नसकेका स्थानीय जातका धानको बीउ जोगाउन उनी यो काममा जुटेका हुन् । नेपालमा उखानै छ ‘हूलमुलमा जीउ र अनिकालमा बीउ जोगाउ ।’ विकासे हाइब्रिड जातका आयातित धानको बीउ छयाप्छयाप्ती हुन थालेपछि उनी यो अभियानमा लागेका हुन् ।

‘जसरी भारतबाट बीउ आएको छ सधै यही तरिकाले आउन थाले हाम्रा धान सबै मासिएर बीउको अनिकाल लाग्ने खतरा छ,’ चन्द्रप्रसादले भने । त्यसैले ०६५ सालदेखि उनी धानको बीउ जोगाउने काममा जुटेका हुन् । त्यो वर्ष सात थरी धान रोपे । यो वर्ष १ सय १२ पुग्यो । चन्द्रप्रसाद चितवनका अगुवा प्रांगारिक कृषक हुन् । उनी बेला बेलामा देश विदेश घुम्ने पनि गर्छन् ।

घुम्न जाँदा अरूले धेरै थोक खोज्छन् । तर, चन्द्रप्रसाद त्यहाँ लगाउने स्थानीय धानको जात के के हो भनेर सोध्छन् । नौलो रहेछ भने एक पसर/मुट्ठी नै किन नहोस् पोको पारेर खल्तीमा हाल्छन् । एक /दुई बाला धान पनि बोकेर आउँछन् । यसरी ठाउँ ठाउँबाट उनले धानका जातहरू जुटाएका हुन् । बंगलादेश र भारतको कोलकाताबाट पनि धान ल्याएका छन् ।

सुरुमा उनले रोपेका सात जात थिए आछामी मसिनो, आँपझोत्ते, मनसरा, मनसुली, चोबे, साबित्री र ओआर । ओआर अर्थात् उडिसा राइसले अहिले नेपाली नाम पाएको छ राम धान । गत वर्ष उनको टोली घुम्न लमजुङ घले गाउँ पुग्यो । त्यहाँको सामाजिक परिवेश र प्राकृतिक दृश्य देखेर मन्त्रमुग्ध नहुने को हुन्छ र ? तर चन्द्रप्रसादले धानको सोधी खोजी गर्न त्यहाँ पनि छुटाएनन् ।

आफूले नरोपेको पोमाली, मञ्जु, आँगा, भोला धान भेटाए । एउटा धानको नाम घलेगाउँका बासिन्दाले पनि भन्न सकेनन् । धानको गेडाको बनोटको आधारमा उनी आफैंले नाम राखे ‘रातो चुच्चे ।’ घले गाउँबाट उनले पाँच थरी धानका एक एक पसर बीउ ल्याएर यो वर्ष लगाए । पाँच वर्षअघि बंगलादेश जाँदा घ्युपुरी नामको दुई बाला धान ल्याए । तीन वर्षअघि कोलकाताबाट मिठाई नामको धान ल्याए ।

यसरी जोगाड गरेको धान रोप्न उनले १० कट्ठा जग्गा छुटयाएका छन् । आफैंलाई खान र धेरै भए बेच्न अरू एक बिघा पाँच कट्ठा जग्गामा धान रोप्छन् । ‘बीउका लागि बाहिरबाट बटुलेर ल्याएको धान धेरै रोपिँदैन । त्यस्तै दुईदेखि आठ किलोसम्म फल्ने गरेर रोपेको हुन्छ । एक दुई थरी धान दुई चार मुरी पनि फलेको छ । त्यो भने बेच्ने गरेको छु । तर, यसैबाट पर्याप्त आम्दानी लिएको छैन,’ उनले भने ।

नेपाली रैथाने धान अनदी अचेल धेरै ठाउँ पाइन छाडयो । उनले पाँचथरी अनदी रोप्छन् । टाइचिनदेखि मार्सी, बाँसपाते, काठे झिनुवा, रातो जुँगे, राजभोग, मनभोग, पोखरेली जेठो बुढो जस्ता दशकौं पहिले रोप्ने गरेका स्थानीय जात उनको घरमा छन् । एक पटक हाइब्रिड धानको बीउ किनेर रोपेका थिए । पछि कुनै पाकेर पहेलैं भयो, कुनैमा दानासमेत देखिएन ।

‘यस्तो बिकार देखेपछि बजारको बीउमा भर पर्नु हुँदैन भनेर आफैंले बीउ संरक्षण गर्ने सोच पलायो । अनि बिस्तारै अरू जात पनि जोगाऊँ न भन्ने रहर जागेको हो,’ चन्द्रप्रसादले भने । उनले रोपेदेखि स्यार्ने बेलासम्मका धानको हरेक गुण लेखेर राख्छन् ।कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments