महँगो चिनीको मारमा उपभोक्ता

काठमाडौँ,सरकारले दशैँ तिहारलाई लक्षित गरी सञ्चालन गरेका सहुलियत पसलबाट चिनी बिक्री गर्नसकेको छैन । सरकारले चिनीको मूल्य तोक्न नसक्दा सहुलियत पसलबाट चिनी बिक्री गर्न नसकेको हो । चाडपर्वका बेला सर्वसाधारणलाई राहत दिन भनेर सञ्चालनमा ल्याइएका सहुलियत पसलमा चिनी नै नपाएपछि तिहारमा पनि उपभोक्ताले महँगोमा चिनी खरिद गर्न बाध्य भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पहलमा साल्ट ट्रेडिङ कर्पाेरेसन, नेपाल खाद्य संस्थान र दुग्ध विकास संस्थानले सरकारबाट अनुदान लिएर सञ्चालनमा ल्याइएका सहुलियत मूल्य पसलमा चिनी नपाएपछि उपभोक्ताले महँगोमा खरिद गर्न बाध्य भएका हुन् ।
दशैँ, तिहार, छठलगायतका पर्वमा बढी खपत हुने चिनी, तेल, घिउ, चामल, दाललगायतका अत्यावश्यक वस्तुमा विशेष छुट दिने उद्देश्यले सरकारले गएको असोज १२ गतेदेखि उपत्यकामा आठ स्थानसहित देशभर गरेर ४७ स्थानमा सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।

सरकारसँग अनुदान लिएर बजारमा पाइनेभन्दा प्रतिकेजी पाँच रुपियाँ सस्तोमा चिनी उपलब्ध गराउने भनेको साल्ट टे«डिङले शुरू दुई दिनसम्म प्रतिकेजी ७० रुपियाँसम्म बिक्री गरेको थियो । साल्ट टे«डिङले सहुलियत पसलबाट बिक्री गरेको चिनी निजी व्यापारी भाटभटेनीले भन्दा केजीमै ११ रुपियाँ महँगो भएको भन्ने व्यापक जनगुनासो आएपछि आपूर्ति मन्त्रीको निर्देशनमा चिनी बिक्रीमा रोक लगाइएको हो ।

भाटभटेनीले आफ्ना पसलहरूबाट प्रतिव्यक्ति दुई केजीका दरले प्रतिकेजी ५९ रुपियाँमा चिनी उपलब्ध गराउँदै आएको छ । दशैँमा उपभोक्ताले सरकारका सहुलियत मूल्यका पसलबाट चिनी किन्न पाएनन् र तिहारमा पनि चिनी किन्न पाउने अवस्था अहिलेसम्म देखिँदैनन ।

साल्ट ट्रेडिङले भने आफूहरूसँग १७ हजार पाँच सय मेट्रिक टन चिनी मौज्दात रहेको र सरकारको निर्देशन आउने बित्तिकै चिनी बिक्री गर्ने बताउँदै आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका प्रवक्ता बज्रेशकुमार झाले भन्नुभयो ‘मन्त्रालयको निर्देशनको पखाइमा छौँ, निर्देशन आएपछि मात्रै साल्ट ट्रेडिङले चिनी बेच्छ, मन्त्रालयकै निर्देशनमा चिनी बिक्री गर्न रोकेका हौँ । ’ उहाँका अनुसार साल्ट ट्रेडिङको चिनीको लागत नै बढी भएकाले योभन्दा सस्तोमा बिक्री गर्नसकिँदैन । हाम्रो चिनी प्रतिकेजी ७५ लागत परेको छ र सरकारकै आग्रहमा प्रतिकेजीमा पाँच रुपियाँ घटाएर ७० रुपियाँसम्म बेच्न सकिने भए पनि त्योभन्दा घटाउन सकिँदैन उहाँले थप्नुभयो ।

प्रवक्ता झाले भन्नुभयो ‘साल्ट टे«डिङ प्रतिकेजी ७० रुपियाँमा बिक्री गर्ने चिनी उच्च गुणस्तरको सल्फररहित चिनी हो, यो चिनी बजारमा प्रतिकेजीको १०० रुपियाँ छ, कमसल चिनी हामीसँग छैन । ’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक एवं सहुलियत मूल्य पसलका संयोजक योगेन्द्र गौचनले चिनीको मूल्य छिटो तोक्न आपूर्ति मन्त्री र सचिवलाई आफ्नो तहबाट दबाब दिँदै आएको जानकारी दिनुभयो । यसअघि सङ्घीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रतिकेजी ६३ रुपियाँमा चिनी बेच्न सरकारलाई निर्देशन दिएपछि झन् अप्ठ्यारोमा परेको छ ।गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments