बर्खे आलु उत्पादन र भाउ दुवै राम्रो

बनेपा – काभ्रे जिल्लामा परम्परागत रुपमा हुँदै आएको आलुखेतीमा पछिल्लो समय खेती प्रविधिको प्रसार तथा यान्त्रिकरण प्रवद्र्धनले आलुको उत्पादन तथा उत्पादकत्व बढेको छ। उत्पादन बढेसँगै किसानले भाउ पनि राम्रो पाउन थालेका छन्।

‘यो सिजनमा आलु राम्रो फलेकोमात्रै नभई भाउ पनि राम्रो बसेको छ। यस्तो अवस्था आउँदा खुसी नहुने कुरै भएन,’ बनेपा–३, काँक्रेका किसान रामेश्वर बजगाईंले भने। हिउँदे र बर्खे गरी दुई सिजनमा आलु खेती गर्दै आएका उनले यस सिजनमा २२ रोपनी क्षेत्रफलमा आलु लगाएका छन्।

आलुबाली तयार भएको खबर पाएलगत्तै कालीमाटीबाट व्यापारी बजगाईंको घरमै आइपुगेका छन् भने काँक्रे गाउँभरिका बारीमा व्यापारीको ताँती लाग्न थालेको छ। यी व्यापारीले काठमाडौंसहित पोखरा, भैरहवा, नारायणगढलगायत व्यापारिक केन्द्रमा नालाको आलु पठाउँदै आएका छन्।

‘अघिल्लो वर्ष एक धार्नी (करिब अढाइ किलो) आलुको मुस्किलले एक सयदेखि एक सय २० रुपैयाँसम्ममा बेचेको थिएँ। यतिखेर मभन्दा केही समय अघि खन्ने किसानले दुई सय १२ रुपैयाँसम्म लिएका छन्,’ बजगाईंले भने, ‘सुरुमा यो भाउ रहे पनि अन्तिमसम्ममा एक सय ५० देखि एक सय ७० सम्म भाउ रह्यो भने पनि यो सिजनमा कम्तीमा १२ लाख रुपैयाँको आलु बेच्न सक्छु,’ उनले हौसिँदै भने।

आलु र आलुको बीउ उत्पादनमा प्रसिद्धि कमाएको साविकका नाला(उग्रचण्डी र टुकुचा) मा पछिल्ला वर्षमा बर्खे र हिउँदे आलुको व्यापक खेती हुन थालेको छ। ‘बीउ, मल, सिँचाइ, खेती प्रविधिका साथै काठमाडौं र तराईका बजारमा समेत सहज पहुँच भएकाले नालाक्षेत्रमा आलुखेती फस्टाइरहेको हो । छोटो अवधिमै भए पनि हामीले आलु खेतीमा उल्लेख्य सफलता हासिल गरेका छौं,’ आलु सुपरजोन एकाइका सञ्चालक सदस्यसमेत रहेका किसान गोकुल बजगाईंले भने, ‘अझै पनि सोचेजस्तै धेरै र बजारको मागअनुसारका आलु फलाउन सकिएको छैन। किनकी हाम्रो माटो अस्वस्थ भएको छ भने आलुको उन्नत बीउ पाउनमा अझै समस्या छ,’ उनले थपे।

आलु खेतीका लागि काभ्रे जिल्ला विगतदेखि नै कहलिँदै आएको हो। यहाँको विद्यमान खेती प्रणालीलाई आधुनिकीकरण गर्दै आलुको उत्पादनदेखि प्रशोधनसम्म कृषकको दक्षता बढाउने लक्ष्यले २०७३ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु सुपरजोन एकाइ कार्यक्रम लागू भएको छ।

‘कृषक समूह र कृषि सहकारीलाई कार्यक्रमले मुख्य लक्षित वर्गमा राखेको छ। हाल भईरहेको निर्वाहमुखी आलुखेतीबाट समूह र सहकारीमा आवद्ध कृषकलाई व्यवसायमुखी खेतीमा रुपान्तरण गर्दै लैजाने कार्यक्रमको मुख्य उद्देश्य हो,’ सुपरजोन एकाइ प्रमुख दीपक पौडेलले भने।

सुपरजोनले स्थापनाकालदेखि नै आलु खेती प्रविधिको प्रसार, यान्त्रिकीकरण प्रवद्र्धन, आलु उत्पादन तथा उत्पादकत्व बढाउने र उत्पादन लागत मूल्य घटाउने क्रियाकलापमा समूह र सहकारीलाई संलग्न गराइरहेको उनको भनाइ छ। ‘उत्पादनसँगसँगै रोजगारीका अवसर प्रदान गर्ने, आलुमा आधारित उद्योग स्थापनाबाट आलुजन्य उत्पादनको विविधीकरण गर्ने लक्ष अनुरुप प्रशोधन उद्योग स्थापनामा समेत सहयोग गरिसकेका छौं,’ पौडेलले थपे।

सुपरजोन एकाइको कार्यक्षेत्र रहेका बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डन देउपुर, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकामा हिउँद र वर्षामा गरी दुई सिजनको आलु खेती हुने गरेको छ। बर्खे आलु भण्डार गर्नु नपर्ने, खेतबारीबाटै बिक्ने र भाउसमेत हिउँदेभन्दा बढी पाइने भएकाले सुपरजोनले बर्खे आलुखेतीलाई समेत प्राथमिकतामा राखेर सहयोग गर्दै आएको उनको भनाइ छ। ‘सुपरजोनको कार्यक्षेत्र तीन हजार हेक्टर क्षेत्रफलमा ५१ हजार टन बर्खे आलु उत्पादन हुने प्रक्षेपण गरेका छौं । यतिखेर किसानले ८८ रुपैयाँसम्म प्रतिकिलोमा बिक्री गरिरहेका छन् । यो आलु निख्रने बेलासम्म कायम हुने भाउलाई आधार मानेर प्रतिकेजी औसत ४० रुपैयाँमात्रै अनुमान गर्दा पनि दुई अर्ब चार करोड रुपैयाँ यहाँका किसानले बर्खे आलुबाटै भित्र्याउन सक्नुहुन्छ,’ पौडेलले भने।

हिउँदको तुलनामा बर्खे आलुको पोस्ट–हार्भेस्ट (उत्पादनपछिको) क्षति किसान तहमा ज्यादै कम हुने भएकाले बढी फाइदा पाउन सम्भव भएको उनको भनाइ छ । ‘उन्नत जातको बीउ र प्रविधिले खेती गर्न सकेको खण्डमा ६० दिनमै बजारमा पु-याउन सकिने नगदे बालीका रुपमा आलु रहेको छ । यसैकारण पनि किसानले प्रमुख कृषि कर्मका रुपमा आलु खेतीलाई अंगालेका हुन्,’ पौडेलले भने। काभ्रेमा बर्खे आलुको औसत उत्पादकत्व १७ टन प्रतिहेक्टर रहेको उनको भनाइ छ।

काभ्रेमा आलुखेतीका लागि उर्वर मानिएका क्षेत्रहरुमा समेत पछिल्लो समय माटोको अवस्था खस्किएको, स्वस्थ आलु बीउको अभाव र हिउँदे आलु भण्डारणका क्रममा हुने पोस्ट हार्भेस्ट क्षतिको अवस्थालाई मुख्य चुनौतीका रुपमा सुपरजोन एकाइले चित्रण गरेको छ।

‘आलु उत्पादनमा कूल लागतको ५० प्रतिशतभन्दा बढी लागत बीउ आलुले ओगट्छ । स्वस्थ बीउ आलु चयनमात्रले पनि कम्तीमा १५ प्रतिशत आलुको उत्पादन बढेको अनुसन्धानले देखाएको छ । यस्तै माटोको अवस्था सुधार हुँदा उत्पादन बढ्छ । यी कुराहरुलाई केन्द्रमा राखेर हामीले कार्य सञ्चालन गरिरहेका छौं,’ पौडेलले थपे।

नेपालमा हालसम्म उन्मोचन तथा दर्ता प्रक्रियाबाट सूचिकृत भएका आलुबालीको जात १२ वटा रहेको छ । यीनमा कुफ्री ज्योति, कुफ्री सिन्दुरी, डेजिरे, जनकदेव, खुमल सेतो–१, खुमल रातो–२, खुमल लक्ष्मी, आइपीवाई–८, खुमल उज्वल, खुमल उपहार तथा टिपिएस–१ र २ रहेको छ । काभ्रे जिल्लामा डेजिरे, जनकदेव, खुमल रातो–२, खुमल लक्ष्मी जातका आलु किसानको रोजाइमा पर्ने गरेको छ।

राष्ट्रिय आलुबाली विकास कार्यक्रमका अनुसार नेपालमा आलुको बीउ प्रतिस्थापन दर (सिड रिप्लेसमेन्ट रेट–एसआरआर) वार्षिक १८ प्रतिशतको हाराहारीमा रहेको छ । आलु बीउको कम्तीमा एसआरआर ६० प्रतिशत नपुग्दासम्म गुणस्तरीय उत्पादन लिन र बीउमा आत्मनिर्भर हुन नसकिने विज्ञहरुको भनाइ छ।

आर्थिक वर्ष ०७३/७४ मा काभ्रे जिल्लामा करिब नौ हजार आठ सय हेक्टरमा लगाइएको आलु खेतीबाट करिब १ लाख ८५ हजार टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । यो हिसाबले जिल्लाभरको औसत उत्पादकत्व १८.८ टन रहेको छ भने सुपरजोन एकाइले ओगटेको तीन हजार हेक्टर क्षेत्रफलको उत्पादकत्व १९.३ टन प्रतिहेक्टर रहेबाट समेत सुपरजोनको प्रभावकारिता बढी देखिएको पौडेलको भनाइ छ । ‘काभ्रेका किसानको मेहनत र कार्यक्रमको सहयोगले जिल्लास्तर र राष्ट्रियस्तरको उत्पादकत्व दरलाई समेत उछिन्न सफल भएका छौं । काभ्रेको आलुबालीलाई अझै राम्रो गर्नका लागि धेरै काम गर्न जरुरी रहेको छ,’ उनले थपे।

राष्ट्रिय आलुबाली विकास कार्यक्रमका अनुसार आर्थिक वर्ष ०७३/७४ मा मुलुकभर करिब दुई लाख हेक्टर क्षेत्रफलमा आलु खेती भएको थियो। जसबाट २८ लाख ५ हजार टन आलु उत्पादन हुँदा उत्पादकत्व प्रति हेक्टर १४.१ टन रहेको थियो।

खाद्य बालीमध्ये आलुबालीले नेपालमा क्षेत्रफलको दृष्टिले पाँचौं, उत्पादनको दृष्टिले दोस्रो र उत्पादकत्वको हिसाबले पहिलो स्थान ओगटेको छ । तराई र मध्य पहाडमा आलुलाई प्रमुख तरकारी बालीको रुपमा लिइन्छ भने उच्च पहाडी क्षेत्रमा यसको उपभोग मुख्य खाद्यवस्तुको रुपमा रहेको कार्यक्रमले जनाएको छ।

आलुमा विषादीको अवशेष न्यून
कुनै समय काभ्रेका किसान आलुबालीलाई रोग र कीराबाट जोगाउन कडाभन्दा कडा विषादी प्रयोग गर्न बाध्य थिए । तर, यतिखेर अवस्था ठीक विपरित रहेको छ । उनीहरु सकेसम्म विषादी नै प्रयोग गर्दैनन् । गर्नै परे पनि सुरक्षित विषादी रोज्छन् । यस्तै, विषादी प्रयोगपछि पर्खनु पर्ने अवधि (वेटिङ पिरियड) कम भएको प्रयोग गर्न थालेका छन्।

‘आलुमा विशेष गरी ढुसीनाशक सुरक्षित विषादीको प्रयोग हुने गरेको छ। यहाँका खेतबारीबाटै संकलन गरिएको र भण्डारणमा रहेकोे दुवै खालको आलुलाई कालीमाटीस्थित द्रूत विषादी अवशेष विश्लेषण (आरबिपिआर) प्रयोगशालामा गरिएको परीक्षणले विषादीको अवशेषको मात्रा न्यून रहेको देखाएको छ,’ सुपरजोन प्रमुख पौडेलले भने।

आरबिपिआर प्रयोगशालामा काभ्रेका आलु पकेट क्षेत्र मानिएका पाँचखाल, बनेपा, नाला, पनौती, खोपासी, कुशादेवी, ढुंखर्कलगायत क्षेत्रबाट खेतबारीमै संकलन गरिएको र भण्डारणमा रहेकोे आलुको नमूना लगिएको थियो । परीक्षणका क्रममा ती नमूनामा विषादीको अवशेष ३५ प्रतिशतभन्दा निक्कै तल रहेबाट खानयोग्य प्रमाणित भएको मानिएको छ।

‘एक त आलुको दाना वयस्क हुने बेलाभन्दा धेरै समय अगाडिबाटै किसानले रोगकीराका लागि विषादी हाल्नै छाड्छन् । प्रयोग गर्नै पर्ने अवस्था आएमा मानव स्वास्थ्यलाई हानी नहुने र छिट्टै नष्ट भएर जाने पछिल्लो पुस्ताका विषादी प्रयोग गर्न थालेका छन् । अब काभ्रेको आलुलाई उपभोक्ताले ढुक्कसँग सुरक्षित खाद्यको रुपमा उपभोग गर्न सक्छन्,’ पौडेलले दाबी गरे।नागरिक

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments