घरबाटै बिक्यो साढे तीन लाखको सयपत्री

भद्रपुर, झापा मेचीनगरकी एक किसानले तिहारमा रु साढे तीन लाखको सयपत्री फूलको माला घरबाटै बिक्री गर्नुभएको छ । मेचीनगर–९ की दीक्षा उप्रेतीले १० कट्ठा जग्गामा उत्पादन गरेको फूल बेचेर उक्त आम्दानी गर्नुभएको हो । उहाँले डिएन्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत चार वर्षदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएको छ ।

उहाँले लक्ष्मीपूजाको दिन फूलको माला पाँच हजार ५०० थान, ६६ हजार थुँगा र ५०० गुच्छा घरबाटै बिक्री भएको बताउनुभयो । माला प्रतिथान रु ५०, थुँगा प्रतिवटा रु एक र गुच्छा रु १५ का दरले बिक्री भएको थियो ।

तिहारलाई लक्षित गर्दै उहाँले सयपत्री फूलको खेती गर्नुभएको थियो । बिक्रीबाट रु तीन लाख ४८ हजार ५०० आम्दानी भएको उहाँको भनाइ छ । जसमा रु तीन लाख खुद नाफा भएको उप्रेतीले बताउनुभयो ।

तिहार लागेपछि सयपत्री फूल खरिद गर्न सर्वसाधारण र व्यवसायी दुवै घरमा आएको हुँदा फूल बेच्न बजार खोज्न जान नपरेको उहाँले बताउनुभयो । उहाँको फूलखेतीमा कलकते भेराइटिज जातको सयपत्रीको फूल फुलेको थियो । अझै ५० हजार फूल फूल्न बाँकी रहेको उहाँको भनाइ छ ।

उप्रेतीको बारीमा फूलेको फूल भारतबाट आयातीत फूलभन्दा राम्रो र ताजा भएका कारण सर्वसाधारणले उहाँकै बारीमा पुगेर तिहारमा फूल किनेको स्थानीय रेणुका डाँगी बताउनुहुन्छ । (रासस)

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments