शुरू भयो सुन्तलाको मौसम दैनिक दस टनको कारोबार

भैरहवा, चिसो विस्तारै बढ्दै गर्दा पछिल्लो समयमा रूपन्देही र आसपासका जिल्लामा सुन्तलाको कारोबार सुरु भएको छ । रूपन्देही र आसपासका जिल्लामा छिमेकी पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, स्याङ्जा जिल्लाबाट सुन्तला आउने क्रम बढेको छ । चिसो मौसमी फलका रूपमा रहेको सुन्तला अहिले पूर्ण रूपमा पाकी नसके पनि व्यापारीले यसको व्यापार बढाएका छन् ।

काठमाडौँको कालीमाटी थोक बजार केन्द्र पछिको मुलुककै दोस्रो ठूलो थोक बजार केन्द्र लुम्बिनी फलफूल तथा तरकारी थोक बजार केन्द्रमा यसको कारोबार पछिल्लो समयमा विस्तारै बढ्दै गएको छ ।

थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष कलाधर पन्थीका अनुसार यस वर्षको सुन्तलाको कारोबार लक्ष्मी पूजाको दिनबाट दैनिक पाँचदेखि दस क्विन्टलसम्म भएकोे छ । अझै सुन्तलाको माहोल शुरू भयो भन्ने छैन तर पनि सुन्तलाको कारोबार दिन–प्रतिदिन दस क्विन्टल बराबरको भइरहेको छ, अध्यक्ष पन्थीले भन्नुभयो ।

व्यवसायीहरूबीच लक्ष्मी पूजाको दिन पछि मात्रै औपचारिक रूपमा सुन्तलाको कारोबार गर्ने सहमति भएको छ । अहिले हरियो रङमा नै सुन्तला रहेको छ । पहिलो चरणमा नेपाली सुन्तलाको बिक्री हुने गरेको कारण अहिले छिमेकी मुलुकबाट आयात हुने सुन्तलाको कारोबार भएको छैन ।

नेपालका सबै जिल्लाहरूमा फलफूल तथा तरकारीको कारोबार हुने गर्दछ । अहिले सुन्तला थोक बजारबाट प्रतिकिलो थोक मूल्य रु. ५० मा थोक व्यवसायीहरूले बिक्री गर्दै आएका छन् ।

गत वर्ष प्रतिकिलो ४० रुपियाँमा शुरूमा कारोबार भएको सुन्तला अहिले केही महँगो भएको हो । गत वर्षको तुलनामा अहिले दस रुपियाँ बढेर ५० मा पुगेको छ । गत वर्ष लुम्बिनी फलफूल तथा थोक बजार केन्द्रबाट करिब २७ करोड रुपियाँ बराबरको सुन्तालको कारोबार भएको थियो ।

अहिले गुल्मी, पाल्पा र स्याङ्जा जिल्लामा सुन्तलाको उत्पादन राम्रो रहेको छ । यद्यपि स्याङ्जा जिल्लाको पश्चिम क्षेत्रमा दशैँभन्दा पहिले आएको असिनाको कारण केही क्षति पुगे पनि पाल्पा र गुल्मी जिल्लामा सुन्तला राम्रो उत्पादन भएको छ । जसका कारण गत वर्ष पूरै सिजनमा २७ करोडको कारोबार गरेका थोक बजार केन्द्रका व्यवसायीले यस वर्ष ३५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएका छन् ।

सुन्तलाको कारोबार बढेको मौकामा खुद्रा व्यवसायीहरूले दोब्बर बढी मूल्य लिएर सुन्तला बिक्री गरिरहेका छन् । थोक बजार केन्द्रमा प्रतिकिलो ५० रुपियाँ थोक मूल्य रहेको सुन्तला बाहिर खुद्रा बजारमा आउँदा प्रतिकिलो एक सय रुपियाँमा बिक्री भइरहेको छ । जसको कारण बिचौलिया खुद्रा व्यवसायीहरूले दोब्बर नाफा कमाइरहेका छन् ।गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments