भारतबाट ३० लाख किलो ‘टोम्याटो पाउडर’ आयात

विराटनगर, मेची भन्सार भएर यो वर्षदेखि गोलभेँडा भारततर्फ निर्यात हुन थालेको छ । अघिल्लो आर्थिक वर्षमा एक हजार चार सय किलोग्राम गोलभेँडा भारत निर्यात गरेको मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा तीन लाख चार हजार किलोग्राम गोलभेँडा भारत निर्यात भएको जनाएको छ ।

नेपालमा व्यावसायिक खेतीको प्रचलन बढेसँगै उत्पादन वृद्धि भएका कारण पूर्वी नेपालबाट चालु आर्थिक वर्षको तीन महिनामा झण्डै ३० लाख रुपियाँ मूल्य बराबरको गोलभेँडा भारत निर्यात भएको हो । नेपालबाट भारततर्फ गोलभेँडा निर्यात हुन थालेपछि भदौ अन्तिमतिर निर्यातजन्य सूचीमा सूचीकृत नभएको भन्दै रोकसमेत लगाएको थियो । प्रदेश सरकारको प्रयत्नबाट तत्कालका लागि गोलभेँडा निकासी खुले पनि दीर्घकालीन रूपमा भने समस्या समाधान भइसकेको छैन ।
नेपालमा उत्पादन भएको गोलभेँडा पहिलोपटक मेची भन्सार भएर भारत निर्यात भए पनि उत्साहित हुनुपर्ने अवस्था भने छैन । काँचो गोलभेँडा उत्पादन र उपभोगमा प्रदेश १ आत्मनिर्भर भए पनि गोलभेँडाजन्य अन्य खाद्यवस्तुमा भने आत्मनिर्भर हुन सकेको छैन । अहिले पनि भारतलगायत अन्य तेस्रो मुलुकबाट ठूलो परिमाणमा ‘टोम्याटो पेस्ट र टोम्याटो सस्’ को आयात भइरहेको छ ।

नेपालमा गोलभेँडाबाट सस् बनाउने उद्योग स्थापना भए पनि उनीहरूले अर्धप्रशोधित टोम्याटो डस्ट, पेस्ट र सस् नै आयात गरेर बजारमा बिक्री वितरण गरिरहेका छन् । यसले गर्दा किसानले उत्पादन गरेको गोलभेँडाले बजार नपाएका कारण भारतमा निकासी गर्ने विकल्प तयार भएको हो ।

कृषि उत्पादनमा भारत निकै शक्तिशाली रहेका कारण नेपालबाट निर्यात गर्ने विकल्प दीर्घकालीन समाधान भने नभएको बताइएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विदेशबाट आयात हुने सस्को परिमाण घटाउन आन्तरिक उद्योग स्थापना र उत्पादनमा जोड दिएर गोलभेँडा नेपाली बजारमा नै खपत गर्ने तर्फ सरकारको ध्यान रहेको बताउनुभएको छ ।

अघिल्लो वर्ष वीरगञ्ज भन्सार नाकाबाट २३ करोड रुपियाँ बराबरको गोलभेँडा पाउडर आयात भएको वीरगञ्ज भन्सारका सूचना अधिकृत सन्तोष यादवले जानकारी दिनुभयो । यस्तै, मेची भन्सार कार्यालय भएर अघिल्लो आर्थिक वर्ष छ करोड ४५ लाख रुपियाँ बराबरको १० लाख ३२ हजार किलो टोम्याटो पाउडर आयात भएको थियो । तयारी सस् चार हजार पाँच सय किलो आयात भएको भन्सार कार्यालयका अधिकृत किरण अर्यालले जानकारी दिनुभयो ।
यस्तै, विराटनगर भन्सार कार्यालय भएर अघिल्लो आर्थिक वर्षमा चार करोड ७२ लाख रुपियाँ बराबरको चार लाख ९८ हजार ३२७ किलो टोम्याटो पाउडर आयात भएको थियो ।

पछिल्लो तीन महिनामा मेची भन्सारबाट चार करोड ९३ लाख रुपियाँ बराबरको १९ लाख ५४ हजार किलोग्राम टोम्याटो पाउडर आयात भएको छ भने विराटनगर भन्सार भएर ६८ लाख ५७ हजार रुपियाँ बराबरको ६३ हजार ८४८ किलोग्राम पाउडर आयात भएको सूचना अधिकृत मणिराम पौडेलले जानकारी दिनुभयो । ठूलो परिमाणमा गोलभेँडाको पाउडर र तयारी सस् भारत, भुटान र अन्य तेस्रो मुलुकबाट आयात गर्ने कार्यमा सस् उत्पादनका लागि भनेर खोलिएका उद्योग नै छन् । स्थानीय कृषि उत्पादनमा आधारित भनेर खोलिएका त्यस्ता उद्योगले स्थानीय उत्पादन खरिद नगरेपछि किसानले उचित बजार पाउन सकेका छैनन् ।

अचार र सस् उत्पादनमा नेपालमै नाम चलेको उद्योग रिजाल टासीका व्यवस्थापक खेलनारायण पराजुलीले मूल्य अन्तरका कारण भारतबाट गोलभेँडाको पाउडर तथा अर्ध प्रशोधित सस् आयात गर्नुपरेको बताउनुभयो । रिजाल टासीले वार्षिक ७० हजार किलो टमाटरको सस् बजारमा खपत गर्दै आएको छ ।
नेपाली किसानले उत्पादन गरेको गोलभेँडा पनि खरिद गर्ने गरेको दाबी गर्नुहुँदै पराजुलीले भन्नुभयो ‘पहिले यहाँका किसानलाई प्रोत्साहन गर्न ५० पैसादेखि ७५ पैसा प्रतिकिलो महँगोमा हामीले गोलभेँडा किन्यौँ तर अहिले भारत र नेपालमा मूल्यान्तर धेरै भयो, त्यसैले सबैले उतैबाट ल्याउन थाले । ’ उहाँले भारतबाट गोलभेँडा नल्याई अर्ध प्रशोधित सामग्री ल्याउने गरेको जानकारी दिनुभयो ।
]
नेपालका प्रमुख तीन भन्सार नाकाबाट एक वर्षमा झण्डै ३० लाख किलो टमाटरको पाउडर र सस् आयात भइसकेको हुँदा पाउडर उत्पादन उद्योगको राम्रो सम्भावना रहेको बताइएको छ । सस् तथा पाउडर उत्पादन गर्ने उद्योग स्थापना गर्न सके गोलभेँडाको व्यावसायिक खेती प्रवद्र्धन गरी किसानको जीवनस्तर उकास्न सहयोग पुग्ने प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो । उहाँले यहाँका सस् उद्योगले आफ्नै कच्चापदार्थ प्रयोग गर्ने वातावरण तयार पार्न सरकारले गृहकार्य गरिरहेको पनि बताउनुभयो ।गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments