‘लटरम्म स्याउ बोटैमा’

मुस्ताङ– भौगोलिक विकटताका कारण मुस्ताङका कतिपय किसानले आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्‌याउन सकेका छैनन् ।बजार पुर्‌याउन नसक्दा किसानले बर्सेनि घाटा सहनुपरेको छ। बजारमा माग भए पनि ढुवानी सहज नहुँदा उत्पादन नै खेर जाने अवस्था छ।

घरपझोङ गाँउपालिका–१ चिमाङ गाउँका जनतालाई यतिबेला मोटरेबल पुलको आवश्यकता छ । कालीगण्डकी नदीमाथि झोलुंगे पुल भए पनि पक्की पुल नभएकै कारण चिमाङका किसानको उत्पादन बजार पुग्न सकेको छैन।

यहाँ कतिपय यस्ता ठाउँ छन् जहाँ किसानले आफूले चाहेअनुसार बाली उत्पादन गर्छन्। तर मुस्ताङबाट पोखरा पुर्‌याउन लाग्नेजति ढुवानी खर्च गाउँको आधा घण्टाको बाटो पार गराउँदै तिर्नुपर्दा किसान मर्कामा परेका छन्।

चिमाङ गाउँदेखी करिब तीन किलोमिटर दूरीमा मोटर बाटो भेटिन्छ। हिँडेर जाँदा करिब आधा घण्टामा गाउँले मोटर चल्ने ठाउँसम्म पुग्छन्। बीचमा कालीगण्डकी नदी तर्नुपर्छ।

कालीगण्डकीमाथिको झोलुंगे पुलले गाउँलेलाई वारपार गराउन त सघाएको छ, तर कृषिजन्य वस्तु वारपार गराउन निकै नै कठिन छ। त्यसले गर्दा उत्पादनलाई मोटर बाटोसम्म पुर्याउन निकै नै बढी ढुवानी भाडा तिर्नुपर्छ।

स्थानीय वासिन्दा झोलुंगे पुलबाट वारपार गरे पनि उत्पादन बोकेर आउजाउ गर्न निकै सकस रहेकाले ढुवानी बढी पर्ने गरेको किसानको गुनासो छ। पक्की पुल नहुँदा मोटर जान नसकेपछि किसानले उत्पादन गरेको कृषिजन्यवस्तु सिजनमा पनि बारीमै अलपत्र पर्दा स्थानीय किसान मर्कामा परेका छन्।

यतिबेला मुस्ताङको सबैजसो ठाउँमा स्याउ, आलु, गाजरजस्ता फलफूल तथा तरकारी ढुवानीका लागि तयारी छ। तर, चिमाङवासी भने कहिले कालीगण्डकी नदीको बहाव घट्ला र र ट्याक्टरमा सामान ढुवानी गरौंला भनेर कुरिरहेका छन् ।

स्थानीय युवा रन्जित थकालीले भौगोलिक विकटताकै कारण उत्पादन गरेको फलफूलले बजार नपाएको उनले दुखेसो पोखे। ‘समयमा स्याउ ढुवानी गर्न सकिएन। अनि बारीमा कुहियो, बर्सेनि यही हालत हुन्छ,’ उनले भने।

घरपझोङ गाउँपालिका–१ का अध्यक्ष आइतप्रसाद थकालीले ३० घर रहेको चिमाङ गाउँका करिब २७–२८ घरधुरीकोे स्याउ बगैंचा रहेको बताए। तर, पक्की पुल नहुँदा ती किसानका बारीको स्याउ भुइँभरि झरेको उनले बताए।
‘कहिले कालीगण्डकीको बहाव घट्ला र व्यापारी आएर स्याउ लैजालान भनेर बस्नुपरेको छ,’ उनले भने, ‘अरूतिर ढुवानी भइसक्यो । तर, चिमाङका स्याउ बोट र भुइँमै छन्।’

उत्पादन बिक्री नभएपछि स्थानीय चिन्तित भएको उनले बताए। १० वर्षअघि नै पक्की पुलका लागि जिल्लामा निवेदन दिएको तर अहिलेसम्म बेवास्ता गरिएको उनले बताए। छैरो चिमाङ समिति बनाएर पक्की पुलको माग गरेको पनि वर्षौं बितिसकेको छ, तर उक्त समितिले पनि हालसम्म केही गर्न नसकेको उनले बताए।

अहिलेसम्म स्थानीयले नदीको बहाव घटेपछि ट्रयाक्टर, खच्चर र घोडामार्फत आलु, गाजर, बन्दा र स्याउ ओसारपसार गर्ने गरेको वडाअध्यक्ष थकालीले बताए। बेलैमा बजार पुर्‌याउन नसकेपछि भुइँमा झरेको स्याउमध्ये केही डिस्टिलरी उद्योगमा र गोल्डेन स्याउलाइ सुकुटी बनाउन लागिपरेको पनि उनले बताए। यही महिनामा मात्र स्थानीय चिमाङवासीले आपूmले लगाएको आलु, बन्दा र गाजरलाई छोटो दूरीको बाटोमा पनि किलोको पाँच रुपैयाँसम्म ढुवानी खर्च तिरेका छन्। यो निकै नै महँगो खर्च भएको उनले बताए। छैरो, चिमाङमा चाँडै पक्की मोटरेबल पुल निर्माण गर्न पहल गर्ने उनले बताए।

यसैगरी, थासाङ गाउँपालिकाअन्तर्गतको ताक्लुङ गाउँमा पनि यस्तै समस्या छ। यो मुस्ताङको नमुना गाउँको रुपमा पनि परिचित छ। तर यहाँ उत्पादन हुने आलु, मकै, सिमीजस्ता नगदेबाली बजारसम्म पु¥याउन स्थानीय किसानलाई बर्सेनि सकस पर्ने गरेको छ।

ताक्लुङ आलुको भण्डारको रूपमा पनि परिचित गाउँ हो। त्यही आलु बजारसम्म पुर्याउन दोब्बरले ढुवानी भाडा तिर्नु पर्दा वर्षभरिको कमाइ बालुवामा पानी हालेजस्तो हुने गरेको स्थानीय भीमप्रसाद गर्बुजाले बताए ।

बेलैमा बजार नपाउनाले बजारसम्म पुगेको आलु पनि फर्काएर गाउँमै ल्याउनुपरेको समस्या उनले सुनाए। उनले धेरै वर्ष अघिबाट आलु व्यापार गर्दै आएको तर गाउँसम्म आवतजावत गर्न पक्की मोटरेबल पुल नहुँदा सामान ओसारपसार र ढुवानीमा एकदमै समस्या भएको बताए।

यसैगरी, थासाङ–२ सौरुवासी पनि यही समस्याबाट आजित छन्। बर्खा लागेपछि कालीगण्डकीमा भेल आउने हुँदा स्थानीयलाई उही समस्याले सताउने गरेको छ। स्थानीयवासीलाई सानोतिनो काम पर्यो भने कि त कालीखोलै तरेर आउनुपर्ने, नत्र घण्टौं लगाएर हिँड्नुपर्ने समस्याले सताउने गरेको स्थानीय युवा सोजन गौचन बताउँछन्। ‘बलिया युवा खोलाको घाट हेरेर बर्खाको भेल तर्छन्। महिला तथा बालबालिका घन्टौं लगाएर पैदल हिँड्नुपर्ने अवस्था छ,’ गौचनले भने।

थासाङ गाउपालिकाका प्रमुख बुद्धिप्रसाद शेरचनले नदीमाथि पुल बनाएर आउजाउमा सहज बनाउने बताए। निर्माणाधीन पक्की पुलको काम तीव्र गतिमा भइरहेकाले गाउँको समस्या टर्ने उनले बताए।

थासाङ गाँउपलिकाको लेते र छयोनजिक बन्न लागेको पुलको काम पूरा भएमा स्थानीयलाई सहज हुने र उनीहरूले उब्जाएको कृषिजन्य उपजले सहजै बजार पाउने अध्यक्ष शेरचनले बताए।नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?