लटरम्म फलेको अकबरे खुर्सानी देखेर किसान खुसी, बजारमा मूल्य घटेपछि भने बेच्ने चिन्ताले सतायो

म्याग्दी, ७ असोज : बारीमा लटरम्म फलेर पाक्न थालेको अकवरे खुर्सानी देखेर बेनी नगरपालिका–३ भकिम्लीका गोविन्द किसान जती खुसी र उत्साही हुनुहुन्छ त्यो भन्दा बढी खुर्सानी कहाँ लगेर कसरी बेच्ने भन्ने पिडाले सताएको छ ।

“गाउँका अन्य किसानको सफलताबाट प्रभावित भएर दुई रोपनीमा लगाएको खुर्सानी पाकेर राताम्मे हुन लागेको छ,” उहाँले भन्नुभयो “खुर्सानी देखेर खुसी हुनुपर्ने मलाई कहाँ लगेर बेच्ने भन्ने चिन्ताले सताएको छ ।”

गोविन्दले घर नजिकैको बारीमा कोदो र मकैको विकल्पमा यसपालि पहिलो पटक अकवरे खुर्सानी खेती गर्नुभएको हो । गत वर्ष प्रतिकिलो रु २०० का दरले बिक्री भएको अकवरे खुर्सानी यसपालि प्रतिकिलो रु १७० पार्न पनि मुस्किल भएको किसानले गुनासो गरेका छन् ।

गत वर्ष खुर्सानी बेचेर रु चार लाख आम्दानी गरेका सोचिन्द्रा कृषि तथा पशुपक्षी फार्मका सञ्चालक लालबहादुर पुनले चिनाखेतस्थित पुख्र्यौली जग्गामा यसपालि नौ रोपनीमा अकवरे खुर्सानी खेती गर्नुभएको छ ।

“राम्रो मूल्य पाउने हो भने यसपालि भकिम्लीबाट रु २० लाखभन्दा बढीको खुर्सानी बिक्री हुन्छ,” उहाँले भन्नुभयो, “दुई वर्षअघि प्रतिकिलो रु ३५० सम्ममा बिक्री भएको खुर्सानी गत वर्ष प्रतिकिलोग्राम १९० सम्म प्राप्त भएको थियो, यसपालि १३० पाउन पनि मुस्किल भएको छ ।”

भकिम्लीमा गोविन्द नेपाली, लालबहादुर पुन, राम रुचाल, खिम आले, कुल पुन, जगदेवी घर्ती, मनी रोकालगायत १० जना किसानले व्यावसायिक अकबरे खेती गरेका छन् । सस्तो मूल्यमा खुर्सानी खरिद गर्ने केही व्यापारीले किसानलाई भुक्तानी नदिएर दुःख दिएको लालबहादुरले बताउनुभयो ।

भकिम्लीका किसानले तीन वर्षयता व्यावसायिक रुपमा अकबरे खेती गर्न थालेका हुन् । यसअघि अकबरेको व्यावसायिक खेती भएको थिएन । बेलढुङ्गा कृषक समूहका सचिव भीमबहादुर रोकाले ताप्लेजुङबाट बीउ ल्याएर परीक्षणका रुपमा गरेको खेती सफल भएपछि व्यवसाय थालेका हुन् । भकिम्लीमा पहिलो पटक व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती भएको हो । कृषि विकास कार्यालयले तरकारी खेती प्रवद्र्धन कार्यक्रममार्फत अनुदान उपलब्ध गराएको थियो ।

उच्च पहाडी भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीमा अकबरे खुर्सानी खेतीका लागि उपयुक्त रहेका कृषि विकास कार्यालयका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ ।

बेनी, दरवाङ, तातोपानी, गलेश्वर, मुस्ताङ, बाबियाचौर, दरवाङ, कुश्मा र बागलुङ अकबरे खुर्सानीको स्थानीय बजार हो । कोदो, मकैलगायत परम्परागत खाद्यबालीको विकल्पमा अकवरे खुर्सानी खेती गरेका कुलबहादुर पुनले फुल खेल्न थालेपछि बोट सुक्ने समस्याका कारण आम्दानी लिन नपाएको गुनासो गर्नुभयो ।

खुर्सानीको बजारीकरणका लागि व्यापारी र किसानलाई सम्पर्क गराउन समन्वय गर्नाका साथै रोग किराको समस्या देखिएको ठाउँमा कृषि प्राविधिकलाई खटाएको बेनी नगरपालिका–३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताउनुभयो ।

ताजा अवस्थामा बिक्री नभएको खुर्सानीलाई सुकाएर प्रशोधन गर्ने तथा सुरक्षित रुपमा ‘प्याकिङ’ गरेर राख्ने ज्ञान र सीपको विकासका लागि तालिम आवश्यक छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?