आयआर्जन बढाउन मौरी घार

प्युठान,परम्परागत कृषिमा संलग्न किसानको आयआर्जनमा वृद्धि ल्याउन सरुमारानी गाउँपालिका ४ का किसानलाई आधुनिक मौरी घार वितरण गरिएको छ । फूलबारी एकीकृत ग्रामीण विकास संस्थाले किसानलाई व्यावसायिक मौरीपालन तालिमसहित ११९ वटा मौरीका घार वितरण गरेको हो ।

च्यान डाँडा सामुदायिक वन उपभोक्ता समूह छतिवनका २० जनाले ५६ वटा र खहरे सामुदायिक वन उपभोक्ता समूह दमारेका २१ जनाले ६३ वटा मौरीका घार प्राप्त गरेका छन् । जीआईजेड र फूलबारी एकीकृत ग्रामीण विकास संस्थाको साझेदारीमा सञ्चालित नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयन कार्यक्रममार्फत घार वितरण गरिएको कार्यकारी निर्देशक विशाल खड्काले जानकारी दिनुभयो ।

चार लाख रुपियाँ बराबरको लागतमा घार वितरण गरिएको खड्काले बताउनुभयो । समूहका किसानलाई एकहप्ते आधारभूत तालिम दिइएको छ, उहाँले भन्नुभयो ।

सरुमारानी गाउँपालिकाको क्षेत्र मौरी पालनका लागि उपयुक्त रहेको छ । त्यस क्षेत्रमा चिउरी प्रशस्त मात्रामा पाइने भएकाले मौरीतर्फ किसान आकर्षित हुँदै गएका छन् । मुढे घारमा मौरी पाल्दै आएका किसानले पछिल्लो समय आधुनिक घारको समेत प्रयोग गर्न थालेका छन् । कार्यक्रमले जिल्लाका प्युठान नगरपालिका, मल्लरानी गाउँपालिका, नौबहिनी गाउँपालिका र सरुमारानी गाउँपालिकाका २२ वटा सामुदायिक वनमा काम गर्दै आएको छ । दसवटा सामुदायिक वनमा तेजपात, दसवटा सामुदायिक वनमा टिमुर र दुईवटा सामुदायिक वनमा चिउरीको उत्पादन, प्रशोधन र प्रवद्र्धनको काम गर्दै आएको कार्यकारी निर्देशक खड्काले जानकारी दिनुभयो ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments