बङ्गुरपालनबाट मनग्य आम्दानी

वालिङ, स्याङ्जाको वालिङ–१३ का श्यामबहादुर विक बङ्गुरपालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । मलेसियामा करीब सात वर्ष बिताएका विकले चार वर्षअघि केबिएसबी बङ्गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा दुई रोपनी जग्गा भाडामा लिएर व्यवसाय थाल्नुभएको थियो । “सामान्यरूपमा घरमा पाल्दै आएका माउहरूबाट पाठापाठी उत्पादन गरी बिक्री गर्दै आएको थिएँ” विकले भन्नुभयो, “अब यसलाई मैले व्यावसायिक रूपमै अगाडि बढाउने निर्णय गरेको हूँ ।”

अहिले उदाहरणीय व्यवसायी बन्नुभएका विकले १५ लाख रुपैयाँ लगानीमा खोर निर्माण गरी घरमै उत्पादन भएका माउ तथा पाठापाठीहरूबाट व्यवसाय शुरु गर्नुभएको थियो । “शुरुमा मासु प्रयोजनका लागि बङ्गुर तथा पाठापाठीहरू प्रयोग गर्थें” व्यवसायी विकले भन्नुभयो, “अहिले पाठापाठी उत्पादन गरी बिक्री गर्न थालेको छु वर्षमा ३०० बढी पाठापाठीहरू बिक्री गर्ने गरेको छु ।” बङ्गुर तथा पाठापाठी बिक्रीबाट वार्षिक १३ लाखदेखि १५ लाखसम्म आम्दानी गर्ने गरेको विक बताउनुहुन्छ ।

“सरकारले कृषिमा सहुलियत दरमा ऋण उपलब्ध गराउने भने पनि वास्तविक कृषकसम्म ऋण पुग्न सकेको छैन” व्यावसायी विकले भन्नुभयो, “कृषकलाई अनुदानभन्दा पनि सस्तो ब्याजदरमा सुलभ तरिकाले ऋण पाउने व्यवस्था मिलाइदिए राम्रो हुने थियो ।” (रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?