ओखर खेतीमा आकर्षण

सिमकोट, ओखरबाट पनि कमाइ हुन थालेपछि किसान यसको खेतीप्रति आकर्षित हुन थालेका छन् । कुनै दिन घरका केटाकेटीलाई रमाउनकै लागि वितरण हुने ओखर पछिल्लो समय बिक्रीबाट पनि राम्रो कमाइ हुन थालेपछि ओखर खेती प्रति किसानमा आकर्षण बढ्न थालेको हो ।

पाँचवटा बोटबाट फलेको ओखर बिक्री गरेर ९० हजार कमाइसकेको र अझै २० देखि २५ हजारका ओखर बिक्री गर्न बाँकी रहेको खार्पुनाथ गाउँपालिका–१ की जयपुरा जैसीले बताउनुुभयो । ओखर गाउँ, विद्यालय, प्रहरी चौकी र सदरमुकाम सिमकोटमा लिएर बिक्री गरेको जैसीले बताउनुुभयो । प्रतिदाना ओखर सात रुपियाँमा बिक्री भइरहेको उहाँले बताउनुुभयो । १० बोट नयाँ लगाएको समेत उहाँले बताउनुुभयो ।

यता एक बोटबाट २० हजारसम्म कमाइ गरिसक्नुभएकी सिमकोट–५ की बाँचु रावतले पनि ओखरबाट राम्रो कमाइ हुन थालेको बताउनुुभयो । फागुन चैतमा ओखर फुल्ने बेला असिना पानी नपर्नु र हावा नलाग्नुले यसपाली किसानले ओखरबाट राम्रै कमाइ गरेको उहाँले बताउनुुभयो । अहिलेसम्म दानामा बिक्री गर्ने गरेको भए पनि अब भने यसलाई मापदण्डमा ल्याएर बिक्री वितरणको व्यवस्था गर्नुपर्ने देखिएको छ ।

जैसी र रावत हुम्लाका ओखर खेतीबाट कमाइ गर्ने नमुना किसान हुन यस्ता किसान एक सय जनाभन्दा बढी भएको सिमकोट गाउँपालिका, कृषि शाखाका प्रहुख बलबहादुर फडेराले बताउनुुभयो । साविकको जिल्ला कृषि विकास कार्यालयले जिल्ला भरिमा १० हजार भन्दा बढी दाते ओखरका बिरुवा वितरण गरिसकेको र त्यसको फल आउन भने बाँकी रहेको उहाँले बताउनुुभयो ।

खासै मिहिनेत गर्नु नपर्ने ओखर खेतीबाट पनि किसानले कमाउन थालेपछि अहिले सिमकोट गाउँपालिकामा पनि यसको बिरुवाको माग आउने गरेको उहाँले बताउनुुभयो । मानिसको स्मरण शक्ति ओखरबाट पाइने भएपछि जिल्लामै पनि यसको माग बढेको किसानले बताउन थालेका छन् ।

दुई वर्ष अगाडिसम्म ओखर फाट्टफुट्ट रूपमा बिक्री हुने गरेको भए पनि पछिल्लो समय यसको माग बढे पनि हाल जिल्लाको उत्पादनले माग धान्न नसकेकोले अब यसको खेतीमा विस्तार गर्ने लक्ष्य गाउँपालिकाले लिएको प्रमुख फडेराले बताउनुुभयो ।गोरखापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?