चौँरीपालन गर्ने घटे

सल्लेरी,सोलुखुम्बुमा चौँरीपालन गर्नेको सङ्ख्या बर्सेनि घट्न थालेको छ । पछिल्लो समय चरिचरनको अभाव, गोठालो नपाइने समस्या, जङ्गली जनावरको आतङ्क, युवाको चासो नहुनु आदि समस्याले चौँरीपालक पाउनै मुस्किल भएको हो ।

जिल्लाको लिखुपिकेमा रहेका केही चौँरीपालकलाई समस्या नै समस्या रहेको छ । चौँरी पाल्नका लागि घना जङ्गल लेकतिर बस्नुपर्छ । त्यहाँ न छिमेकी न घर, त्यसैले खानपान व्यवस्थापन गर्नै मुस्किल हुने गरेको चौँरीपालन गर्ने व्यवसायीहरू बताउँछन् । सोलुखुम्बुको पिके क्षेत्र आसपासमा चौँरी व्यवसायीलाई एक पाथी पिठो पिस्नका लागि कम्तीमा तीन दिन खर्चनुपर्ने बाध्यता छ । नजिकमा मिल नहुँदा एक पटक पिठो पिस्न उनीहरू तीनदेखि चार दिन खर्चन बाध्य भएका हुन् ।

चौँरी व्यवसायी साम्देन शेर्पा भन्नुहुन्छ ‘बाटो अप्ठ्यारो अनि उकालो ओरालो छ, पिठो पिस्नका लागि पिकेदेखि गोली आउनुपर्छ । मुस्किलले दस बाह्र पाथी मकैको पिठो बोकेर चौँरी गोठमा फर्कंदा तीन दिन बित्छ । ’

साम्देन शेर्पा एक दशकदेखि सोलुखुम्बुको पिके क्षेत्रमा चौँरी व्यवसायमा संलग्न हुनुहुन्छ । भकान्जे, छिरिङखर्कका स्थायी बासिन्दा साम्देन हिउँ परेको बेला दुई÷चार पाथी पिठोका लागि हप्ता दिन भन्दा बढी समय बिताएको बताउनुहुन्छ । ‘हिउँमा हिँड्न सकिन्न, चिप्लो उस्तै त्यसैले गोली आएर पिठो पिसेर फर्कन कम्तीमा एक हप्ता लाग्छ । ’

गोलीमा रहेको मिलले समेत कहिलेकाहीँ सेवा नदिँदा उनीहरूलाई रामेछापको ठाडो खोला पुग्नुको विकल्प छैन । गोलीमा मिल नचल्दा ठाडो खोला पुग्नुपर्छ, त्यतिखेर सामान्य अवस्थामा नै एक हप्ता लाग्ने गरेको साम्देनले बताउनुभयो । उहाँ पटक पटक पिठोकै लागि ठाडो खोला पुग्नुभएको बताउनुभयो ।
३५ वटा चौँरीका मालिक साम्देन शेर्पा पिके क्षेत्रमा निरन्तर मात्रामा घट्दो चौँरीपालन व्यवसायप्रति भने दुःखी देखिनुहुन्छ । ‘पहिले पहिले छ÷सात सय चौँरी पिके क्षेत्रमा हुन्थ्यो अहिले तीन सय चौँरी पुग्न पनि मुस्किल छ । ’ राम्रो कमाई नहुने, सधैँ जङ्गलको बास बस्नुपर्ने साथै चिसोको कारण समस्या हुने भएकाले चौँरीपालन व्यवसाय घटेको हुनसक्ने साम्देनको अनुमान छ । चौँरी व्यवसायीले चौँरीका उत्पादन पिके क्षेत्रको गोठबाट नै बिक्री गर्ने गरेका छन् ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments