कृषि पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव हुने

धनकुटा : घ्यु फलको रूपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव हुने भएको छ। धनकुटा नगरपालिकाको आयोजनामा आगामी मंसिर ८ गते एकदिने एभोकाडो महोत्सव हुन लागेको हो। महोत्सवको अवसर पारेर धनकुटा–६ परिचय मोडमा करिब ३० लाख रुपैयाँको लागतमा निर्माण भएको पार्कसहित एभोकाडोको प्रतिमा अनावरण गरिने महोत्सव तयारी समितिका संयोजक तथा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकादत्त राईले बताए।

नगरक्षेत्रमा एभोकाडोको व्यावसायिक खेती हुन्छ। घरपिच्छे एभोकाडोको बिरुवा लगाएका छन्। नगरक्षेत्रमा २६ हजार एभोकाडोको बिरुवा किसानले रोपेका छन्। यीमध्ये १२ हजार एभोकाडोका बिरुवा फल दिने अवस्थामा छन्। चार हजार बिरुवाले उत्पादन दिइरहेका छन्। धनकुटा नगरक्षेत्रमा एभोकाडो खेती गर्ने एक हजार नौ सय ६२ घरधुरी छन्। ती घरधुरीले रोपेको एभोकाडोको बोटले अहिले उत्पादन दिइरहेको छ। नगरक्षेत्रका ३५ सय घरधुरीले अहिले एभोकाडोको बिरुवा लगाएका छन्।

नगरपालिकाले पनि गत आर्थिक वर्षमा मेयर कृषि कार्यक्रममार्फत नगरक्षेत्रलाई एभोकाडोको राजधानी घोषित गरेको थियो। एभोकाडोको व्यावसायिक खेतीतर्फ किसानलाई आकर्षित तथा प्रोत्साहन गर्नु महोत्सवको मूल उद्देश्य रहेको उनले बताए। महोत्सवमा २० स्टल रहनेछन्। किसानले फलाएका विभिन्न प्रजातीका एभोकाडो प्रदर्शनीमा राखिनेछ।

एभोकाडो उत्पादनमा नेपालमै अंग्रपन्तीमा आउने धनकुटामा अहिले वार्षिक दुई लाख किलो एभोकाडो उत्पादन हुन्छ। ३० वर्षअघि एभोकाडो खेती भित्रिएको धनकुटामा मात्रै वार्षिक ८० हजार किलो एभोकाडो उत्पादन हुन्छ। पछिल्लो समय यस खेतीको विस्तार तीव्र रूपमा भइरहेको छ। बजारमा एभोकाडोमो मूल्य प्रतिकिलो डेढ सयदेखि दुई सय रुपैयाँ पर्छ।
अन्नपुर्णपोस्ट

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments