उखुले बजार नपाउने चिन्ता

रुकुम (पश्चिम),मुसिकोट नगरपालिका ४, ट्यावखोलाका उखु किसान ४९ वर्षीय दलबहादुर बोहराले आफूले लगाएको उखुले बजार नपाएको गुनासो गर्नुभयो । दुई वर्षदेखि करिब १६ रोपनी जग्गामा लगाएको उखुले बजार नपाउँदा आफू मर्कामा परेको उहाँले बताउनुभयो ।

बोहराले उखु बिक्री नभएपछि गत वर्ष पनि आफैँले जुस बनाएर बिक्री गर्नुभएको थियो । अहिले पनि उखु छिप्पिइसकेकाले बिक्री नभएको भन्दै आफैँ जुस बनाएर बिक्री गर्ने सोच बनाएको उहाँले बताउनुभयो । उखुको रस जण्डिसलगायत विभिन्न रोगका लागि औषधिसमेत हुने गर्दछ ।

उहाँले भन्नुभयो, बरु मान्छेले महँगोमा कोक, फ्यान्टा, रेडबुल खान्छन्, सस्तोमा पाइने यसको जुस खाँदैनन् । मानिसहरूलाई यसको महŒवसमेत थाहा नहुँदा आफ्नो व्यवसाय ओझेल परेको बोहराले बताउनुभयो । यसको महŒव बुझेका कतिपयले अहिले पनि चिसोको घाम ताप्दै आफूले उत्पादन गरेको उखुको जुस खोज्दै आउने गरेको उहाँको भनाइ छ । उखुको सिजन अहिले शुरु भए पनि गर्मी मौसममा मात्र बढी बिक्री हुने गरेको उहाँको भनाइ छ ।

गत वर्षको उखुसमेत बिक्री नभएर बारीमै रहेको अवस्थामा अहिले पनि थुप्रै नयाँ उखु उत्पादन भइसकेको उहाँले बारीमा देखाउनुभयो । गत वर्ष धेरैजसो उखुबाट आफैँले जुस बनाएर बिक्री गरेको दलबहादुरले जानकारी दिनुभयो । घर छेउमै सडक पुगे पनि बाहिर निर्यात गर्ने बजार नभएकोले आफैँले जुस बनाएर बिक्री गर्नुपर्ने बाध्यता भएको बोहराले सुनाउनुभयो ।

उहाँले मुसिकोट नगरपालिका १, खलङ्गामा मिलन उखु तथा फलफूल जुस सेन्टरमार्फत आफ्नो व्यवसायलाई सञ्चालन गरिरहनुभएको छ । उखु, पुदिना, कागतीसहितको जुस प्रतिगिलास ३० रुपियाँका दरले बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

घरमा छोराछोरीले समेत काममा सघाउने र आंशिक रूपमा काम गर्ने दुई जना काम गर्ने मजदुरसमेत राखेको उहाँले बताउनुभयो । उत्पादित उखुले राम्रो बजार नपाएपछि खर्च मात्रै बढ्ने र आम्दानी कम हुने समस्या रहेको छ ।

गत वर्षको जुस बिक्रीबाट करिब दुई लाख जति आम्दानी भएकोमा छोराछोरीको पठनपाठनमा मद्दत पुगेको उखु किसान दलबहादुरको भनाइ छ । यसअघि ग्रिल उद्योग सञ्चालन गरिरहनुभएका बोहराले उक्त काम जोखिमपूर्ण भएको भन्दै यस क्षेत्रमा हात हालेको बताउनुभयो । उहाँले आफ्नो यस व्यवसाय सञ्चालनका लागि सरकार र कुनै पनि सङ्घ–संस्थाले केही सहयोग नगरेको समेत गुनासो गर्नुभयो । उखु खेतीको साथमा बोहराले व्यावसायिक मेवाखेती पनि गर्नुभएको छ । मेवाको बोटहरू सानै भएकाले धेरै उत्पादन दिन शुरु नभए पनि गत वर्ष ३० हजार जतिको मेवा बिक्री गरिसकेको उहाँले बताउनुभयो । बोट ठूलो हुँदै गएपछि उत्पादन पनि बढ्ने र राम्रो आम्दानी हुने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments