युवा जति विदेशमा जङ्गल बन्दै खेतबारी

ओखलढुङ्गा (पोकली), ओखलढुङ्गा लिखु गाउँपालिका पोकलीमा अधिकांश खेतबारी जङ्गलमा परिणत भएका छन् । गाउँमा खेती गर्ने युवा विदेशिँदा खेतीयोग्य अधिकांश जमिन बाँझै रहेका हुन् ।

कतिपय मानिस गाउँघर छोडेर सहरमै बसेका र गाउँमै बस्ने पनि घरमा वृद्धवृद्धा मात्र रहेका कारण खेतबारी बाँझै रहेको हो । लिखु गाउँपालिकाको पोकली, टारकेराबारी, वाच्पु, लेतीलगायतका स्थानमा सयौँ रोपनी खेतीयोग्य जग्गा बाँझै छ ।

लिखु गाउँपालिकाकी उपाध्यक्ष शान्ता ढुङ्गेलले गाउँका युवा रोजगारीको सिलसिलामा काठमाडौँ तथा खाडी मुलुकमा जाने गरेकोले गाउँ उजाडिएको बताउनुभयो । आफ्नै पनि एक सय रोपनीभन्दा बढी खेत बाँझै रहेको जानकारी दिँदै उहाँले उब्जनीयोग्य जमिन बिस्तारै जङ्गलमा परिणत हुन थालेको बताउनुभयो ।

उपाध्यक्ष ढुङ्गेलले लिखु गाउँपालिकाले विदेशिएका युवालाई घर फर्काउने लक्ष्यभन्दा पनि बाँझो रहेका जमिनमा उन्नत जातका बिरुवा लगाउने योजना रहेको जानकारी दिनुभयो । भविष्य खोजेर जाने युवालाई रोक्नुभन्दा पनि गाउँको बाँझो जमिनमा उन्नत जातका बिरुवा लगाउन नगरपालिकाले प्रेरित गर्ने भन्दै उहाँले आगामी वर्षबाट उन्नत बिरुवा लगाउन शुरु गर्ने बताउनुभयो । खेती गर्न मान्छे नपाउने, पाइहाले पनि चर्को ज्याला तिर्नुपर्ने, खेतीमा लगानीको प्रतिफल नआउने भएकाले मानिसहरूले खेत बाँझै राख्न थालेको उहाँले बताउनुभयो ।

कृषक बद्री गौतमले खेती गर्दा लागेको रकम नउठ्ने भएपछि कृषि पेसामा आकर्षण नभएको बताउनुभयो । धान खेतीको लागि गोरु, आली, बाउसे, रोपाहार गरेर २५ हजार लाग्ने गरेकोमा धान भने बल्ल–बल्ल पाँचमुरी धान फल्ने जानकारी दिनुभयो । पाँचमुरी धान किन्न १० हजार रुपियाँ लाग्ने गरेको छ ।
कसैले पनि खेती नगर्दा जेनतेन गरी खेतबारीमा लगाएको अन्न बाँदर, मृगजस्ता जनावरले नष्ट गर्न थालेपछि किसानहरूले खेत बाँझो राख्न थालेका हुन् ।
काम गर्ने मानिसलगायत जङ्गली जनावरका कारण खेतबारी बाँझै राख्नुपर्ने अवस्था आउन थालेको छ, स्थानीय केशवहरि ढुङ्गेलले भन्नुभयो, खेती लगाउनुभन्दा बजारमा गएर किनेर खान धेरै सजिलो हुन्छ ।

गाउँपालिका उपाध्यक्ष शान्ता ढुङ्गेलले सित्तैमा खेती गरेर खाने मानिस पनि फेला पर्न मुस्किल परेको जानकारी दिँदै पाखाखेतका जमिन सबै बाँझो रहेको बताउनुभयो । ढुङ्गेलले परम्परागत कृषि प्रणाली, काम गर्ने मानिसको अभाव, लगानीभन्दा प्रतिफल कमलगायतका समस्याले गर्दा गाउँका खेतीयोग्य जमिन बाँझै रहन थालेको बताउनुभयो । लेती निवासी गोपालबहादुर भुजेलले खेती गर्नलाई प्रशस्त खेतबारी मिले पनि लगानी नउठ्ने समस्या र काम गर्ने मानिसको अभावले गाउँलेको खेती साझे लिन छाडेको बताउनुभयो ।गोरखापत्र

Leave a Reply

Your email address will not be published.