जहाजबाट तरकारी

डोल्पा, दुनै — हिमाली जिल्ला डोल्पामा बाह्रै महिना नेपालगन्जबाट हवाईजहाजमा भारतीय तरकारी ढुवानी गरी बिक्रीवितरण हुने गर्छ । प्रदेश सरकारले भने कर्णालीलाई अर्गानिक प्रदेश बनाउने घोषणा गरेको छ ।

भारतको रुपैडिहाबाट नेपालगन्ज भित्र्याइएको तरकारी महँगो भाडा तिरेर हवाईजहाजमार्फत व्यापारीहरूले डोल्पा ल्याई बिक्री वितरण गर्ने गरेका हुन् ।

जहाजबाट टमाटर, खुर्सानी, तितेकरेला, भिन्डी, काउली, प्याज, पर्वललगायत तरकारीहरू डोल्पा ल्याई बाह्रै महिना बिक्री वितरण गरिएको व्यापारी जीवन पौडेलले बताए ।

उनका अनुसार जिल्ला बाहिरबाट ल्याएका तरकारी धेरैजसो कर्मचारीहरूले खाने गरेका छन् । त्यसपछि जिल्ला बाहिरबाट आएका उद्योगी/व्यापारीहरूले प्रयोग गर्छन् । दुनै बजारमा आइतबार पिन्टु गुप्ताको पसलमा टमाटर र खुर्सानी भेटियो । उनका अनुसार टमाटर प्रतिकिलो ३ सय र खुर्सानी प्रतिपाउ १ सय रुपैयाँमा बिक्री गरिन्छ ।

उनले नेपालगन्जबाट जहाजमा आउने तरकारी मंसिरदेखि चैतसम्म बढी बिक्ने गरेको बताए । यो मौसममा स्थानीय तरकारीहरू नपाइने भएकाले पनि धेरै बिक्री हुने गरेको हो । जिल्ला बाहिरबाट नआउने तरकारी भने बन्दा र सागपात मात्र हुन् । यी तरकारी जिल्लाभित्रै उब्जनी हुने गरेका छन् ।

जिल्लाभित्र पनि अर्गानिक हो भन्न कठिन छ । कृषि ज्ञान केन्द्र डोल्पाका प्रमुख भीमबहादुर धरालाले भने, ‘कर्णाली प्रदेश सरकारले यस प्रदेशलाई अर्गानिक घोषणा गरेकाले यो वर्षबाट रासायनिक मल र कीटनाशक विषादीहरू ल्याइने छैन । कसैले अटेर गरी ल्याए विभिन्न सुविधाहरू कटौती गरिनेछ ।’

अर्गानिक प्रदेश घोषणा भएकाले डोल्पाका सम्पूर्ण उत्पादनहरू अर्गानिक बनाउनेतर्फ कृषि ज्ञान केन्द्र केन्द्रित भएको जनाइएको छ ।कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments