खुर्सानीको उत्पादनमा वृद्धि

नेपालगञ्ज, पश्चिम नेपालका पहाडी जिल्लामा खुर्सानीको उत्पादन बढेसँगै भारतीय खुर्सानी विस्थापित हुन थालेको छ । केही समय पहिलेसम्म भारतीय खुसार्नीको एकाधिकार रहेको नेपालगञ्ज र कोहलपुरको बजारमा अहिले पर्याप्त मात्रामा नेपालका पहाडी जिल्लाबाट खुर्सानी आउन थालेको छ ।
खुर्सानीका लागि भारतीय उत्पादनमा भर पर्दै आएका बाँकेका खुद्रा तथा फुटकर तरकारी व्यापारीले अहिले मध्य र सुदूरका पहाडी जिल्लामा उत्पादन भएको खुर्सानी ल्याएर बिक्री गर्न थालेका छन् ।

नेपालगञ्जका तरकारी व्यवसायी सलिम कबडियाका अनुसार भारतीय खुर्सानीमा कीरा लाग्ने, कुहिने, ठेला र टुपा कुहिने, कालो दाग लाग्ने समस्या धेरै रहेको थियो । जसका कारण व्यवसायीलाई धेरै घाटा हुने गरेको थियो । तर नेपालमा उत्पादन भएको खुर्सानी स्थानीय बजारमा आउन थालेपछि सो समस्या हटेको उहाँले बताउनुभयो । कोहलपुर र नेपालगञ्जमा अहिले बैतडी, सुर्खेत, सल्यान, रोल्पा, दैलेखबाट ठूलो परिमाणमा खुर्सानी आउने गरेको छ । अहिले भारतीय खुर्सानी आउने र ल्याउने क्रम न्यून भएको कोहलपुरका फुटकर तरकारी व्यापारी जगदीशप्रसाद गुप्ताले बताउनुभयो । भारतीय खुसार्नी विस्थापित हुँदै गएको बताउँदै उहाँले ११० देखि १२० रुपियाँ प्रतिकिलो हरियो खुर्सानी पहाडी जिल्लाबाट आयात हुने गरेको जनाउनुभयो ।

अहिले बजारमा सुकेको खुर्सानी किलोको २५० रुपियाँ छ । बजारमा पहाडी जिल्लाबाट ल्याएको खुर्सानी प्रशस्त आउने गरेको छ । पहाडी जिल्लाबाट हरियो, ताजा, अर्गानिक खुर्सानी आउने गरेको छ ।
जिल्लाका अधिकांश तरकारी व्यवसायीका अनुसार भारतीय खुर्सानीमा कीरा लाग्ने, कुहिने, ठेला र टुपा कुहिने, कालो दाग लाग्ने समस्या धेरै छ तर स्वदेशी खुर्सानीमा त्यस्तो समस्या खासै देखिँदैन । असोजदेखि जेठसम्म बजारमा स्वदेशी बजारको खुर्सानी अत्यधिक हुने गरेको कोहलपुर तरकारी तथा फलफूल थोक बजारका अध्यक्ष छविलाल भट्टराईले बताउनुभयो । हरेक वर्ष कोहलपुरमा मात्र पहाडी जिल्लाबाट करोड मूल्यको खुर्सानी आउने गरेको उहाँले बताउनुभयो । बाँकेमा खासै खुर्सानी उत्पादन हुँदैन, उहाँले भन्नुभयोे, पहाडी जिल्लाबाटै दैनिक व्यवसायीले ल्याउँछन् ।
भारतीय खुर्सानीभन्दा नेपाली खुर्सानीको स्वाद फरक हुने व्यवसायी र उपभोक्ता दुवैको भनाइ छ । अहिले उपभोक्ताले स्वदेशी खुर्सानी खोज्ने गरेको नेपालगञ्जका अर्का व्यवसायी मुमताज कबडियाले बताउनुभयो ।गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments