ठूलो परिमाणमा सेतक चिनी अलपत्र

हुम्ला — किसानले संकलन गरेका ठूलो परिणामको सेतक चिनी(खिरौंला) अलपत्र परेको छ । जिल्लाबाट निकासी गर्न छुटपुर्जी नपाउँदा सेतक चिनी बारीमै सड्ने अवस्थामा पुगेको हो ।

डिभिजन वन कार्यालयले यस वर्ष पाँच सय क्विन्टल मात्र सेतक चिनीको छुटपुर्जी दिएको छ ।

संकलन गरेअनुसारको छुटपुर्जी नपाउँदा स्थानीय समस्यामा परेका छन् । जिल्लाभर करिब १० हजार क्विन्टलभन्दा बढी खिरौंला संकलन भएको डिभिजन वनको अनुमान छ । वन डिभिजन कार्यालयका रेन्जर लोकजंग शाहीले वन मन्त्रालयबाट यो वर्षका लागि पाँच सय क्विन्टल मात्र छुटपुर्जी दिने निर्देशन आएको बताए । उनका अनुसार पाँच सयमध्ये तीन सय राष्ट्रिय वन र दुई सय क्विन्टल सामुदायिक वन उपभोक्ता समूहबाट छुटपुर्जी दिने व्यवस्था छ ।

जिल्लामा जडीबुटी निकासी गर्नका लागि दर्ता भएका १ सय ४७ फर्म छन् । राष्ट्रिय वनबाट छुटपुर्जी पाउने परिमाण भाग लगाउँदा एक फर्मले करिब ४७ किलो मात्रै पाउने भएका छन् । छुटपुर्जीका लागि सबै फर्मले १० हजार क्विन्टलभन्दा बढी माग गरेका छन् ।

सामुदायिक वन उपभोक्ता समूहमार्फत छुटपुर्जी दिन पाउने दुई सय क्विन्टल भएकाले जिल्लाका ८३ वनलाई भाग लगाउनुपर्ने अवस्था छ । ८३ समूहलाई भाग लगाउँदा एक वन समूहको भागमा दुई किलो ४० ग्राम पर्न आउँछ । संकलित खिरौंला बिक्रीका लागि सहर लैजान नपाएपछि स्थानीयको लाखौं रकम डुब्ने भएको छ । अहिले दर्तावाला संकलनकर्ताले स्थानीय किसानबाट प्रतिकिलो ४० रुपैयाँमा सेतक चिनी खरिद गरेका छन् ।

खिरौंलाको माग बढेपछि स्थानीयले आफ्नो खेतबारीमा उम्रेको खिरौंला संकलन गरेर दर्तावाला फर्मलाई बिक्री गरेका थिए । खाद्यान्नसँगै खेतबारीमा उम्रने खिरौंला विगतका वर्षमा खेतबारीमै कुहिएर खेर जाने गरेको थियो । केही किसानले माथिल्लो बोटलाई तरकारीका रूपमा उपभोग गर्ने गरेका थिए । सरकारले खिरौंलामा प्रतिकिलो १५ रुपैयाँ राजस्व लिने गरेको
डिभिजन वनले जनाएको छ ।

खिरौंला खेतबारीमा उत्पादन हुने भएकाले घरेलु उत्पादनका रूपमा बाहिर लैजान दिनुपर्ने वन प्राविधिकको भनाइ छ । ‘खिरौंला खेतबारीमा अन्य खाद्यान्नसँगै उत्पादन हुने वस्तु भएकाले अन्य जडीबुटीसरह लिनु अन्याय हो,’ रेन्जर शाहीले भने, ‘हामीले यहाँको अवस्था बताए पनि माथिल्ला निकायले यसबारे बुझेन ।’

गत वर्ष जटामसी पनि सरकारले पाँच सय क्विन्टलको मात्र कोटा तोकेको थियो । तोकेर छुटपुर्जी दिँदा स्थानीयले संकलन गरेको हजारौं क्विन्टल जटामसी सडेर गएको थियो । छुटपुर्जी पाउने आसले दर्तावाल फर्मले संकलन गरेका जटामसी जिल्ला बाहिर लैजान नपाउँदा गोदममै थन्क्याउनुपरेको स्थानीय रामचन्द्र बुढाले बताए । ‘संकलन भइसकेको जडीबुटी थन्क्याउँदा स्थानीय व्यापारीको लाखौं रकम डुबेको छ,’ उनले भने, ‘जडीबुटी व्यापारका लागि चर्को ब्याजमा लिएको ऋण व्यापारीले तिर्न सकेका छैनन् ।’कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?