अन्योलमा अलैंची बजार

ताप्लेजुङ — सुक्खा पाखा र खेरगइरहेको जंगललाई हरियाली बनाएको अलैंचीले किसानलाई लहलह धान फल्ने खेत र कोदो फल्ने बारीसम्म डोर्‍यायो ।

खेत र बारी मासेर किसानले अलैंची लगाए तर अहिले यसले निरास बनाउँदै लगेको छ । यसको भविष्यको विषयमा उत्पादकहरू अन्योलमा छन् ।

राष्ट्रिय बजार पाँच प्रतिशत पनि छैन । अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रत्येक दिन घटिरहेको छ । माग आए पनि मूल्य बढेर आउँदैन । प्रतिमन १ लाख २० हजारसम्म पुगेको अलैंची ३० हजारमा झरेको छ । मूल्यको उतारचढावले किसान मात्रै नभएर कतिपय व्यापारी पनि टाट पल्टिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष कृष्ण ओझाले ४ देखि ७० हजारसम्मको कारोबारगरेका थिए ।

प्रतिमन ८ हजार मूल्य रहेका बेला अलैंची व्यापारमा होमिएका ओझाले तीन वर्षपछि प्रतिमन २ हजार घटेर ६ हजारले बिक्री गर्नुपरेको थियो । उनका लागि त्यही घाटा व्यवसाय परिवर्तनको बाध्यकारी बन्यो ।

‘त्यहीँदेखि कारोबारै छोडें,’ उनले थपे, दुई वर्ष त लगातार नघटी बढी पनि रहयो र १ लाख २० हजारसम्म पुग्यो ।’ यो बेला व्यवसायीहरू घाटामा नगएको ओझा बताउँछन् । तत्कालीन कृषि विकास कार्यालयका प्राविधिक प्रकाश काफ्लेका अनुसार ताप्लेजुङले २०६३/०६४ मा २ हजार ३ सय टन उत्पादन गर्दा ७५ करोड भित्रिएको थियो भने २०७२/७३ मा २ हजार ४ सय १० टन उत्पादन हुँदा ६ अर्बसम्म भित्रिएको थियो । त्यो बेलाको मूल्य कम्तीमा ८० हजार थियो ।

सिक्किमसँग जोडिएका जिल्ला भएकाले पूर्वका इलाम, पाँचथर र ताप्लेजुङमै भित्र्याइएकामा दुईमत छैन । सुरुमा ल्याइएको अलैंचीलाई करेसाबारीको रूपमा लगाइएको थियो । यसको फल चिया मसलाका रूपमा प्रयोग गरिन्थ्यो ।

पहाडी जिल्लामा उत्पादित सबै अलैंची झापा बिर्तामोड र सुनसरीको धरानमा जम्मा हुने गरेको छ । पश्चिमबाट पनि पूर्व नै आउँछ । संकलित सबै अलैंची विराटनगरको जोगबनी भन्सार भएर भारत निर्यात हुन्छ । हालसम्मको तथ्यांकअनुसार कम मात्रामा काँकरभिट्टा भएर जाने गरेको छ ।

भारतमा जम्मा हुने ठाउँ मुम्बई हो । बिर्तामोडसम्म जस्ताको तस्तै पुग्ने अलैंचीको त्यहाँ भने झुस झार्ने पुच्छर काट्ने जस्ता काम हुन्छ । भारतबाट भने आकर्षक बोरामा प्याक गरेर बाहिर निर्यात गरिन्छ । प्याक गरिएका बोरा १० देखि ५० किलोसम्मका हुने गर्छ । ठूला, साना दाना पनि छुटयाइन्छ ।

भारतबाट पाकिस्तान र खाडी राष्ट्रका यूएई, दुबई, साउदी अरब, कतार जस्ता देशमा निर्यात हुने यसलाई मसला, आयुर्वेदिक औषधि, मिठाई, बिस्कुटजस्ता खाद्य वस्तुमा प्रयोग गरिन्छ ।कान्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments