भारतमा नेपाली चिया अायात रोक्न माग

नयाँदिल्ली — नेपाली चियाले भारतमा आफ्नो बजार विस्तार गर्दै लगेपछि दार्जिलिङका उत्पादकहरूले नेपाली चिया आयातमा रोक लगाउन माग गरेका छन् ।

उनीहरूले भारतीयको तुलनामा नेपालको सस्तो भएको, गुणस्तरमा सम्झौता गरिएको दाबी गर्दै भारतको खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरण (एफएसएसआई) लाई नेपाली चिया आयातमा रोक लगाउन माग गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय चिया उत्पादकहरूले नेपाली चियाको गुणस्तर नभएको र त्यसले भारतीय उपभोक्ताको स्वास्थ्य जोखिममा परेको समेत तर्क गरेका छन् ।

उनीहरूको मागअनुरूप एफएसएसआईले भारतीय भन्सार कार्यालयहरूलाई नेपालबाट आयात हुने चियाले तोकिएको गुणस्तर मापदण्ड पूरा गरेको वा नगरेको सूक्ष्म निगरानी गर्नसमेत निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

‘भारतभरि नै सस्तो नेपाली चियाले दार्जिलिङ चियालाई विस्थापित गर्दै लगेको छ, यसले वर्षौं लगाएर देशभित्र चियाको बजार निर्माण गरेका दार्जिलिङका उत्पादकहरूलाई हतोत्साही पारेको छ, त्यसैले हामीलाई आशा छ एफएसएसआईको कडाइपछि सस्तो नेपाली चियाको भारतीय बजार प्रवेशमा कमी आउनेछ,’ दार्जिलिङ चिया संघका अध्यक्ष विनोद मोहनलाई उद्धृत गर्दै भारतीय अंग्रेजी दैनिक द इकोनोमिक्स टाइम्सले जनाएको छ ।

भारतको कोलकातास्थित केन्द्रीय प्रयोगशालाबाट परीक्षण भएको नेपाली चियाको गुणस्तरमाथि प्रश्न उठाउनु गलत भएको नेपाली चिया नेपाली उत्पादकहरू बताउँछन् । ‘केन्द्रीय प्रयोगशाला र एफएसएसआईका मापदण्ड एउटै छन् र अहिलेसम्म नेपाली चियाको कुनै पनि नमुना परीक्षणमा असफल भएको छैन, अनि कसरी गुणस्तरको मापदण्ड पूरा गरेन भन्न मिल्छ, नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले भने ।

कोलकाताको केन्द्रीय प्रयोगशालामा नेपाली चियामा मानव स्वास्थ्यका लागि हानिकारक पदार्थ छ कि छैन भनेर परीक्षण हुने गरेको र अहिलेसम्म कुनै त्यस्तो नकारात्मक नतिजा नआएको मित्तलको दाबी छ ।
भारत निर्यात हुनुअघि नेपाली चियाको नमुना परीक्षणका लागि कोलकाताको केन्द्रीय खाद्य प्रयोगशालाबाट पठाइन्छ । त्यो नमुना भारत निर्यात गर्न लागिएका चियाले भरिएका ट्रकबाट लिइएको हुन्छ । प्रयोगशालाका परीक्षणका लागि लाग्ने शुल्क भने नेपाली निर्यातकर्ताले व्यहोर्नुपर्ने व्यवस्था छ ।

नमुना परीक्षणको प्रतिवेदन आउन करिब १२ देखि १५ दिन लाग्ने गर्छ । त्यतिन्जेल नेपाली चिया लोड गरिएका ट्रकहरू भन्सार परिसरमै रहन्छन् । परीक्षणका लागि धेरै समय लाग्ने गरेकाले नेपाली पक्षले विगत लामो समयदेखि सीमावर्ती सहरमै प्रयोगशाला खोल्न माग गर्दै आएको छ । वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजु भने एफएसएसआईको निर्देशनबारे आफूहरूलाई कुनै जानकारी नभएको बताउँछन् ।

यदि हो भने गुणस्तरमा सम्झौता गर भनेर भन्न नसकिने बताउँछन् । यदि गुणस्तर मापदण्ड पूरा गरेको अवस्थामा पनि नेपाली चियालाई रोकियो भने त्यो गम्भीर घटना हुने सैंजुले बताए । ‘गुणस्तर परीक्षण उत्तीर्ण भएका कुनै पनि वस्तु रोक्न मिल्दैन,’ सैंजुले भने ।

गत वर्ष नेपालबाट करिब सवा ३ अर्ब रुपैयाँ बराबरको चिया निकासी भएकामा भारततर्फ मात्र करिब साढे ३ अर्ब रुपैयाँ बराबरको निकासी भएको थियो । हाल नेपालभर करिब २८ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको छ । चिया उद्योगले मात्र करिब ६० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । भारत र अन्य मुलुकमा नेपाली अर्थोडक्स चियाको बढदो मागका कारण नेपाली चियाको निर्यात बर्सेनि बढ्दो क्रममा छ ।

भारतीय चिया उत्पादकहरूले गुणस्तरको विषय उठाए पनि उनीहरूको नियत भने नेपाली चियाको यही बढ्दो बजारलाई अकुंश लगाउनु रहेको नेपाली व्यवसायीहरू दाबी गर्छन् ।

गत वर्ष दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनका कारण जुनदेखि सेप्टेम्बरसम्म स्थानीय चिया कारखानाहरू बन्द भएपछि नेपाली चियाले बजार विस्तार गर्ने राम्रो अवसर पाएको थियो । त्यसपछि नेपाली चियाको बजार भारतसँग अन्य मुलुकमा पनि क्रमश: विस्तार हुँदै गएको छ ।

पछिल्लो समय नेपाली चियाले भारतको दार्जिलिङ चियाले एकलौटी बजार लिएका यूएई, रुस, ईयू, मलेसिया र चीनमा पनि आफ्नो बजार विस्तार गर्दै लगेको छ । आन्दोलन र गुणस्तरलगायतका कारण नेपाली चियाले भारतको प्रमुख चिया ब्रान्ड दार्जिलिङ चियाको बजारलाई नराम्रो धक्का दिएका कारण भारतीय चिया उत्पादकहरूले अनावश्यक आरोप लगाएको अर्का एक नेपाली चिया उत्पादकले दाबी गरे ।

नेपाली चियाले दार्जिलिङ चियालाई विस्थापित गर्दै लगेपछि विगत केही महिनादेखि भारतीय चिया उत्पादकहरूले कहिले भन्सार वृद्धि तथा कहिले गुणस्तरको प्रश्न उठाएर नेपाली चियामा रोक लगाउन दबाब दिँदै आएका छन् । जबकि नेपाल र भारतबीच भएको खुला व्यापार सम्झौताले नेपाली चियालाई भारतमा भन्साररहित सुविधा दिएको छ । त्यसो तनेपाली चियाको भारत निर्यातमा अवरोध हुनु कुनै नौलो घटना भने होइन ।

विगतमा नेपाली चियाले भारतमा बजार लिएको संकेत पाउनासाथ भारतका भन्सारलगायतका निकायबाट नेपाली चियाको निर्यात निरुत्साहित गर्ने गरी विभिन्न बखेडा झिकिँदै आएको छ ।

गत वैशाखमा पनि नमुना परीक्षणको अत्तो थापेर करिब दुई सातासम्म भारतीय भन्सारले नेपाली चियाको तेस्रो मुलुक निर्यातमा रोकेको थियो ।कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments