सुन्तला राख्न ३० हजारमै शीतभण्डार

नवलपुर — यहाँका एक किसानले ३० हजार रुपैयाँ खर्चेर बनाएको शीतभण्डारमा सुन्तला सुरक्षित राखेका छन् । उक्त शीतभण्डार शून्य ऊर्जामा सञ्चालित छ ।

स्थानीय रेमलाल सुनारी मगरलाई पाकेको सुन्तला तत्काल नटिपे बोटमै बिग्रने डर थियो । उनले सुन्तला टिपे तर तीमध्ये आधा मात्रै बेचे । बाँकी सुन्तला सातापछि बेचे । पछि बेच्दा किलोमा तीन रुपैयाँ बढी मूल्य आयो । सुन्तलाको चमक, रङ र स्वादमा केही फरक आएन । आफैंले बनाएको शीतभण्डारमा राखेका कारण बोटबाट टिपेको सातापछि पनि सुन्तलाताजै थिए ।

नवलपुर जिल्लाको बौदिकाली गाउँपालिका ५ मा पर्ने बबक गाउँको चापाभन्ज्याङमा रेमलालको घर र सुन्तला बगैंचा । पूर्व–पश्चिम राजमार्गबाट उत्तरमा पर्ने यो पहाडी गाउँमा कच्ची बाटोसम्म पुगेको छ । दलदलेबाट लगभग तीन घण्टामा पुगिने बबकमा राष्ट्रिय प्रसारण लाइनको बिजुली छैन । सौर्य ऊर्जाले शीतभण्डार चलाउन पुग्दैन ।

बिजुली र सौर्य ऊर्जाबिनाको शीतभण्डारले पाकेको सुन्तला जोगाउन सकेको छ ।

इँटा, बालुवा र पानीबाट बनेको छ शीतभण्डार । लगभग आठ सय गोटा इँटा, नौ बोरा बालुवा, साढे सात मिटर सानो खालको कालो पाइप र ५० लिटरको पानी राख्ने टयांकीले यो शीतभण्डार सञ्चालनमा आएको हो । गाउँ घरमा हुने सानो छाप्रो तल यो संरचना छ । अघिल्लो वर्ष यस्तो शीतभण्डार तयार गर्दा ३० हजार रुपैयाँ खर्च भएको रेमलालले बताए ।

इँटाको दुई घेराको गाह्रो लगाएर दुई घेराबीच खाली रहेको लगभग चार इन्च खुला ठाउँमा बालुवा भरेको छ । बालुवा भरेको ठाउँमा पानी पठाएर चिस्यान कायम गरिएको हुन्छ । ५० लिटरको टयांकी र साढे सात मिटर पाइप बालुवामा पानी पठाउनका लागि राखेको हो । यसरी बनाएको ठाउँमा ६ क्रेट सुन्तला अटाउँछ । एक क्रेटमा २० किलो सुन्तला हुन्छ ।

बबक र त्यस वरपरको गाउँमा सुन्तला खेती राम्रो हुन्छ । पहिला बाटो नहुँदा फले पनि बेच्न गाह्रो थियो । १० वर्षयता बाटो पुगेपछि बेचेर आम्दानी गर्ने चलन सुरु भएको हो । रेमलालको बगैंचामा पहिला ६/७ बोट सुन्तला थिए । अहिले राम्रै फल दिने ६० वटा बोट छन् । धान खेती नहुने त्यो ठाउँमा सुन्तलाका कारणले नै चामल आउने गरेको उनले बताए ।

‘हामीले सुन्तला धानसँग पनि साट्छौं । अघिल्लो वर्ष १८ क्विन्टल धान त्यसरी आयो । त्योबाहेक नगदमै बेचेर अर्को १ लाख २० हजार थप आम्दानी भएको थियो,’ रेमलालले भने । शीतभण्डार बनेपछि पाकेको सुन्तला टिपेर सुरक्षित राख्न र मूल्य आएका बेलामा बेच्न सजिलो हुने उनले बताए । पहिलो लटमा ६ क्रेट सुन्तला आठ दिन राखेर बेचेपछिथप ६ क्रेट सुन्तला शीतभण्डारमा राखेका छन् ।

‘यो सुन्तला यहाँ कति दिनसम्म राख्दा बिग्रँदैन भनेर परीक्षण गरेको छु । हेरौं ८–१० दिन हुँदासम्म त केही फरक परेको छैन । यसरी नै कति समयसम्म जान्छ,’ उनले भने । सुन्तलाका साथै उनले तरकारी खेती पनि गर्दछन् । यस्तो शीतभण्डारमा साग टिपेर १२ दिन राख्दा पनि ताजा नै भएको उनले बताए । त्यसैले उनलाई यो शीतभण्डार उपयोगी लागेको छ । कान्तिपुर

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments