धान खरिदमा व्यापारीलाई फाइदा पुग्ने निर्णय

कञ्चनपुर — महेन्द्रनगरस्थित खाद्य संस्थानले धान खरिदमा स्थानीय व्यापारीहरूलाई फाइदा पुग्ने गरी निर्णय गरेको पाइएको छ । उक्त निर्णयका कारण संस्थानले यो वर्ष न्यून मात्रामा धान गर्न पाएको छ ।

ढिलो गरी धान खरिद सुरु गरिनु, धान बेच्न आउने कृषकलाई जग्गाधनी पुर्जा अनिवार्य गरिनु, धान बेच्न पाउन सीमासमेत तोकिनु र व्यापारीको भन्दा कम मूल्य निर्धारण गरिनुले खाद्य संस्थानले लक्ष्य भेटाउन सकेन । यस वर्ष १० हजार क्विन्टल धान खरिदको लक्ष्य राखेको शाखाले ४ सय २५ क्विन्टल मात्रै पाएको छ ।

संस्थानले मंसिर १४ देखि धान खरिद सुरु गरेको हो । त्यति बेलासम्म कृषकले व्यापारीलाई धान बेचिसकेका थिए । संस्थानले धान खरिद सुरु गरेपछि व्यापारीहरूले मूल्य बढाइदिए । त्यसपछि संस्थानलाई धान पाउनै गाह्रो भएको शाखा प्रमुख जयराज जोशीले बताए । ‘संस्थानमा धान बेच्न निकै कम किसानमात्र आए,’ उनले भने, ‘व्यापारीले मूल्य बढाएपछि छिटफुट रूपमा आइरहेका किसान पनि बन्द भए ।’

संस्थानले मोटो धान प्रतिक्विन्टल २ हजार ३ सय ३१ रुपैयाँ निर्धारण गरेको छ । व्यापारीले यो भन्दा बढी मूल्यमा धान खरिद गरिरहेका छन् । संस्थानले खरिद गर्नुअघि भने व्यापारीले सस्तोमा खरिद गरिरहेका थिए ।

‘ढिलो गरी धान खरिद सुरु भएकाले संस्थानले धान पाएन,’ जोशीले भने, ‘विगतमा ढिलो धान भित्र्याइन्थ्यो र ढिलो नै खरिद सुरु हुन्थ्यो तर पछिल्लो समय खेतमा कटाइ–चुटाइ हुन थालेको छ र खेतबाटै बिक्री पनि हुन्छ ।’

संस्थानले गत वर्ष पनि ५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो । कृषकहरूले अगाडि नै बेचिसकेकाले १ हजार १ सय ३४ क्विन्टल मात्र खरिद गर्न सकेको थियो । त्यति बेला पनि ढिलो खरिद सुरु भएका कारण संस्थानले धान नपाएको हो ।

‘जहिल्यै कृषकले बेचिसकेपछि मात्रै खरिद सुरु हुन्छ,’ जोशीले भने, ‘त्यही भएर संस्थानले लक्ष्यअनुसार खरिद गर्न सक्दैन ।’ यस वर्ष संस्थानले धान बेच्न आउने कृषकलाई जग्गाधनी पुर्जा पनि अनिवार्य गरेको थियो । प्रतिबिघा २० क्विन्टल मात्रै बेच्न पाउने सीमासमेत निर्धारण गरिएको थियो । जग्गाधनी पुर्जा र २० क्विन्टलको सीमा निर्धारण गरिएकाले व्यापारीले बिक्री गर्न पाउँदैन ।

विगतमा कृषकबाट खरिद गरिएको धान व्यापारीले संस्थानलाई बिक्री गर्ने गरेका थिए । समयमै खरिद गर्न पाए लक्ष्य पूरा गर्न सकिने जोशी बताउँछन् । कात्तिक सुरुदेखि नै खरिद गर्न सके लक्ष्य पूरा हुने जोशी बताउँछन् । कृषकहरूले बीउ, मल र सिँचाइका लागि गाउँमा व्यापारीबाटै धान दिने सर्तमा ऋण लिन्छन् ।

व्यापारीहरूले खेतबाट धान संकलन सुरु गर्छन्। संस्थानले गहँु छर्दासम्म पनि धान खरिद सुरु गर्दैन। कान्तिपुर

Leave a Reply

Your email address will not be published.