खुला रूपमा बिक्री हुने दूधमा समस्या

हेटौँडा, खुलारूपमा दूध बिक्री गर्दै आएका डेरी पसललाई कानुनी दायरामा ल्याउन जटिलता हुने देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले डेरी पसललाई लक्षित गरी बिहीबार हेटौँडामा आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा डेरी पसल सञ्चालकले दूधको स्वच्छता एवं गुणस्तरसम्बन्धी निर्देशिका कार्यान्वयनमा समस्या रहेको बताउनुभयो ।
सरकारले ल्याएको दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ को कार्यान्वयनले डेरी पसल बन्द हुने अवस्था आउने भन्दै डेरी पसल सञ्चालकले रोजगारीका लागि विदेशिनुपर्ने अवस्था आउने बताउनुभयो ।
आगामी चैतबाट कार्यान्वयनमा आउने निर्देशिकामा डेरी पसलले लेबल, विवरण भएका प्रशोधित दूध तथा दुग्ध पदार्थ मात्र खरिद बिक्री गर्नुपर्ने र डेरी पसल सञ्चालकले आफैँ दूध तथा दुग्ध पदार्थ उत्पादन गर्न चाहेमा अनुमति लिनुपर्ने व्यवस्था छ ।
यस्तै आधिकारिक निकायबाट दूध प्रशोधन, भण्डारण र व्यक्तिगत सरसफाइसम्बन्धी तालिम लिनुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ । दुई चारवटा गाईभैँसी पालेर दूध उत्पादन गरी आफैँ डेरी पसल गर्दै आएका कृषकले निर्देशिका पालना गर्न समस्या रहेको भन्दै कार्यक्रममा सहभागी डेरी पसल सञ्चालकहरूले भन्नुभयो, निर्देशिका पालना गर्दा स्वरोजगारमूलक पेसा बनेको गाईभैँसीपालनसँगै डेरी पसल बन्द गर्नुपर्ने अवस्था आउने छ ।
घुमीफिरी अप्रशोधित दूध खुलारूपमा बिक्री गर्न पाउने तर डेरी पसलले खुलारूपमा दूध बिक्री गर्न नपाउने निर्देशिकामा रहेको विभेदकारी व्यवस्था हटाउन माग गर्दै उहाँहरूले लागतअनुसार दूधको मूल्य नपाएकाले खुलारूपमा दूध बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाले खाद्यवस्तुमा मिसावट समस्या बन्दै गएको भन्दै सबैले कानुनको पालना गर्नुपर्ने र स्वस्थ खाद्यवस्तु उपभोग गर्न पाउनुपर्ने बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा प्रमुख सोमकान्त रिजालले डेरी पसल सञ्चालकले अनुमति लिनु र दूधको स्रोत, परिणाम, गुणस्तर, बिक्री वितरणको बारेमा अभिलेख राख्नु अनिवार्य रहेको भन्दै तेल, दूध र पानीमा बढी समस्या रहेको बताउनुभयो ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments