दूधको लागत मूल्य पाउँदैनन् किसान

काठमाडौँ — किसानले परल लागत बराबर पनि दूधको मूल्य नपाएका गुनासो गरेका छन् । सहकारी संस्था, डेरी उद्योगीले उचित मूल्य दिएको दाबी गरे पनि किसानले भने मूल्य पाएका छैनन् ।

दूधको मूल्य दुग्ध विकास बोर्डको सिफारिसमा दुग्ध विकास संस्थानले निर्धारण गर्छ । किसानबाट दूध खरिद गर्दा एसएनएफ (बाक्लो पदार्थ) र फ्याट (चिल्लो पदार्थ) को हिसाबले मूल्य निर्धाण गरिएको छ । संस्थानका महानिर्देशक ईश्वरी न्यौपानेका अनुसार गाईको दूधको कुरा गर्दा फ्याट र ८ एसएनएफको न्यूनतम मूल्य ४९ देखि ५० रुपैयाँ निर्धारण गरिएको छ । सहकारी संस्था/डेरी उद्योगहरूले दिंदै आएको मूल्य कम भएको किसानको गुनासो छ ।

‘गाईभैंसीका लागि दानादेखि परालसम्म किन्नुपर्छ । दाना उस्तै महँगो,’ हेटौंडास्थित मक्रान्चुली ३ का कृषक यज्ञ सापकोटाले भने, ‘दु:ख गरेर पशुपालन गरे पनि लिटरको जम्मा ४० देखि ४८ रुपैयाँ पाएका छौं ।’ उनले दूध बिक्री गरेर मासिक करिब १४ हजार आम्दानी भए पनि दाना, चोक्कर र पराल किन्दै ठिक्क हुने गुनासो गरे ।

‘दु:ख गरेअनुसार मूल्य पुगेकै छैन । न्यूनतम मूल्य ५५ देखि ६० रुपैयाँ हुँदा केही सहज हुन्थ्यो,’ उनले भने । हेटौंडास्थित गढी–३ की किसान सावित्री दुलालले पनि दैनिक ६ लिटर दूध बिक्री गर्दा पनि सबै चोक्करमा खर्च हुने गरेको सुनाइन् । ‘प्रतिलिटर ४५ देखि ५० रुपैयाँसम्म पाएका छौं, दु:ख गरेअनुसार छैन,’ उनले भनिन्, ‘कुरा उठाउँदा पाइरहेको मूल्य पनि गुम्ने खतरा छ ।’

सापकोटा र दुलाल प्रतिनिधि पात्र मात्रै हुन् । चितवनका कृषक डोलप्रसाद धमलाको भनाइ पनि उस्तै छ । ‘दैनिक ३ लिटर दूध बिक्री हुन्छ । दूध बिक्री गरेबापत लिटरको ४० देखि ४५ रुपैयाँ पाउँछौं,’ उनले भने, ‘तलदेखि माथि हाकिमसम्मलाई पालेका छौं । मूल्य पानीभन्दा सस्तो भयो ।’ चितवनमै रहेका गोरखकाली गाई फर्मका सञ्चालक किसोर बगालेको भनाइ पनि उस्तै छ । दैनिक डेढ सय लिटर उत्पादन भए पनि बजारमा समस्या भएको बताए ।

‘जेनतेन बजार पाए पनि मूल्य पाइँदैन । दूधको बजार नै पाइएको छैन,’ उनले भने । सरकारी तथ्यांकअनुसार माग अपुग भए पनि किसानको दूध बिक्री हुन नसकेको उनीहरूको भनाइ छ । ‘सरकारले विदेशबाट आएर कृषि गर भन्छ । यही दूध बिक्री हुँदैन । सरकारले सामान्य परीक्षण पनि दिएको छैन,’ बगालेले भने, ‘किसानले डेरीमा दूध लग्यो । भगवान्लाई दूध चढाएझैं कति मूल्य आउने यकिन छैन ।’ सरकारले मूल्य निधारण गर्दा किसानसँगै उपभोक्तालाई पनि असर नपर्ने गरी तोक्नुपर्ने उनले बताए । सरकारले अध्ययन नगरी मनोमानी ढंगले कामगर्दा सबै पक्ष मर्कामा परेको किसान बताउँछन् ।

मध्यवर्ती दूध सहकारीको अध्यक्ष राजन अर्यालले चोक्कर र दानाका कारण किसान पूरै घाटामा गएको बताए । ‘प्रतिलिटर न्यूनतम ४६ रुपैयाँसम्म पाएका छन् । २५ किलो दानाको मूल्य ९ सय ४५ पर्छ । ४० किलो चोक्करलाई १२ सय ५० रुपैयाँ,’ उनले भने, ‘सरकारले चोक्कर र दानाको भाउ घटाउने कामै गर्दैन । दूधको उत्पादन र मूल्य समायोजन हेर्दा दूध बिक्री नगरे पनि हुन्छ ।’
उपभोक्ताले दूध एक लिटरमा ७० देखि ७५ रुपैयाँ तिर्छन् । दूग्ध सहकारी संस्थाहरूले भने सहकारी सञ्चालन खर्च भाडा, कर्मचारी पाल्नुपरेकाले दुई/तीन रुपैयाँ सहकारीले लिएको बताउँछन् । ‘किसानले फ्याट र एनएसएफको आधारमा मूल्य पाउँछन् । व्यवसायी र किसानलााई पठाउने मूल्यमा खासै फरक छैन,’ पिढुवा दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष बद्री अर्यालले भने, ‘कर्मचारी चलाउनुपर्ने भएकाले किसानको दुई–तीन रुपैयाँ सहकारीले लिन्छन् ।’

संस्थानका महानिर्देशक ईश्वरी न्यौपाने भने सहकारी तथा फर्म (१ सय लिटरभन्दा बढी) उत्पादन गर्नेलाई प्रतिलिटर ३ रुपैयाँ कमिसन दिएको बताए । उक्त मूल्य किसानले सिधै पाउने उनले दाबी गरे । किसानको लागत नै बढी हुँदा समस्या भएको बताए । ‘भारतको दूधको तुलनामा यहाँ प्रतिलिटर ९/१० रुपैयाँ महँगो छ,’ उनले भने, ‘लागत खर्च नै घटाउनुपर्छ ।’

उपभोक्ता मूल्यको हकमा सहकारीबाट खरिद गरिएको दूध प्याकेजिङ, ढुवानी, चिस्यानलगायत सबै जोड्दा केही महँगो परेको बताए । डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारी किसान, उपभोक्ता र प्रशोधनकर्तालाई पनि घाटामै रहेको बताए । दानामा आधारित पशुपालनलाई घाँसेबालीतर्फ रूपान्तरण गर्नुपर्ने बताए । चोक्कर र दानामा आधारित हुँदा खर्च ६० प्रतिशत बढ्ने उनको दाबी छ ।

‘किसानको मागअनुसार उद्योगीले बढाउँछन्, त्यसको असर सिधै उपभोक्तालाई पर्छ,’ उनले भने, ‘मूल्य घटाउन दूधको लागत कम नै हो । सरकारले घासको बीउ किनेर उपलब्ध गराउनुपर्ने उनले बताए । कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदी सहकारी संस्थामार्फत सकलन गरी प्रतिलिटर १ रुपैयाँ दिएका अनुदान दिएको बताए । दानाको खर्च घटाउन घाँसमा आधारित पशुपालन गर्न प्रोत्साहन गरिरहेको दाबी गरे । ‘दानाको प्रयोग घटाउन घासको बीउ वितरण चलाएको छौं,’ उनले भने ।

मापदण्डविपरीत प्लास्टिकको क्यान
सरकारले प्लास्टिकको क्यान बन्देज लगाए पनि सोही क्यानबाट ढुवानी भइरहेको छ । दूधमा स्वच्छता ल्याउन सरकारले गत असोज ४ गते ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५’ स्वीकृत गरेको छ ।

निर्देशिकाअनुसार किसानले प्लास्टिक क्यानमा दूध ढुवानी गर्न रोक लगाइएको छ । प्लास्टिकको क्यानमा धर्का बस्छ । त्यसमा ब्याक्टेरिया हुन सक्छ । कच्चा दूधको गुणस्तरमा कमी आउन आउँछ । क्यान सफा गर्न सजिलो र शुद्धताका लागि निर्देशिका जारी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले बताए ।

‘निर्देशिकाअनुुसार प्लास्टिक क्यान रोक लगाएका छाैं । किसानले आल्मुनियम वा स्टेनलेसस्टिलको भाँडा/क्यानमार्फत मात्रै प्रयोग गर्नुपर्छ,’ उनले भने । कार्यान्वयन भने हुन सकेको छैन । जानकारका अनुसार सरकारकै नीति/नियमका कारण कार्यान्वयन हुन नसकेको हो ।

‘प्लास्टिकको क्यान विस्थापित गर्ने भनिए पनि सरकारले जागरण अभियान सञ्चालन गरेन,’ चितवनस्थित गोरखकाली गाई फर्मका किशोर बगालेले भने, ‘सरकारले जनता/किसानलाई बुझाउनुपर्छ । शुद्ध दूध उत्पादन किन सिकाइएन ? सरकारले अभियान नै लिएर आउनुपर्छ ।’ अन्य क्यानको तुलनामा केही सस्तो भएकाले पनि प्लास्टिक क्यान प्रयोग गरिएको उनीहरू बताउँछन् ।

विभागका अनुसार निर्देशिकाको बारेमा विभिन्न जिल्लामा परीक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । डेरी उद्योग, संकलन केन्द्र, सहकारी संस्थालाई पनि जानकारी गराएको कर्णले बताए । ‘गलत प्रयोग हटाउँदै लैजान्छौं,’ उनले भने, ‘त्यही भएर किसानलाई ६ महिनाको समय दिएका छाैं ।’ निर्देशिका असोज ४ मास्वीकृत भएको थियो । किसानलई सुधार गर्न ६ महिनाको समय दिइएको छ ।

लालीगुराँसले गोदावरीमा डेरी उद्योग खोल्ने
करिब ३० करोड रुपैयाँमा सञ्चालित लालीगुराँस बहुउद्देश्य सहकारी संस्था लिमिटेडले ललितपुरको गोदावरीमा छिट्टै डेरी उद्योग सञ्चालन गर्ने भएको छ ।

लालीगुरास डेरी फर्म तथा रिसर्च सेन्टरका प्रशासन अधिकृत कृष्ण भण्डारीका अनुसार फर्मबाट उत्पादित दूध प्रशोधन गर्न डेरी सञ्चालन गर्न लागेको हो । ‘दूध बेचेर मासिक ४० लाख आम्दानी गर्दै आएका छौं,’ भण्डारीले भने, ‘डेरी सञ्चालन भएपछि दूध प्रशोधन गरी क्रिम, पनीर, बटर, पाउडरलगायत दुग्ध पदार्थ उत्पादन गर्छौं ।’ चितवनस्थित खैरहनी १२ मा रहेको उक्तफर्म साढे १९ बिघा जग्गामा सञ्चालित छ ।

हाल फर्ममा ५ सय गाई छन् । भण्डारीका अनुसार उक्त गाईको संख्या छिट्टै ८ सय पुर्‍याइनेछ । सहकारीले त्यसका लागि थप २८ बिघा जग्गा लिजमा लिइसकेको छ । लालीगुराँसले भारतको हरियाणा र स्थानीय किसानबाट गाई खरिद गरी दूध उत्पादन गर्दै आएको छ ।

फस्टाउँदै चितवन मिल्क
भूकम्पपश्चात् बन्द भएको चितवन मिल्क लिमिटेड पुन: सञ्चालनमा आएको छ । गैरकानुनी रूपमा आयात हुने विदेशी पाउडर दूध, भन्सार र विद्युत्लगायतका कारण उद्योग धराशायी बन्दै गएको थियो ।

‘घाटामा थियाैं, भूकम्पमा थप क्षति भयो,’ चितवन मिल्कका अध्यक्ष राजुबाबु श्रेष्ठले भने, ‘नाफा नोक्सानभन्दा किसानसँग प्रत्यक्ष जोडिएकाले अब बन्द नहुने गरी सञ्चालन गरेका छौं ।’ कम्पनीका अनुसार चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ । हाल बटर र एसएमपी (डेरी, आईसक्रिम उद्योगमा प्रयोग हुने पाउडर दूध) उत्पादन हुन्छ ।

मुलुकमै सबैभन्दा धेरै पाउडर दूध यही उत्पादन हुन्छ । अब डेरी हाइटर्न पनि उत्पादन गर्ने योजना बनाएको छ । श्रेष्ठका अनुसार १ लाख लिटर दूधबाट १० टन पाउडर बन्छ । उद्योगबाट ७ देखि ८ टन उत्पादन भइरहेको छ । पाउडर मिल्कको ४ सयदेखि ५ पाँच सय रुपैयाँ पर्छ । एक किलो पाउडरले ११ लिटर दूध बन्छ । सार्वजनिक निजी साझेदारीमा स्थापना भएको कारखानाले ०६६ चैत २७ गतेबाट उत्पादन थालेको हो ।कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments