बढ्यो कन्दमूल व्यापार

काठमाडौँ, मङ्गलबार माघे सङ्क्रान्ति अत्यधिक तरुल खपत हुने दिन हो । यसै अवसरमा काठमाडौँका बजारमा विभिन्न प्रकारका तरुल र अन्य कन्दमूल भित्रिएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किनबेच गर्नेको भीड लागेको छ ।
यस वर्ष काठमाडौँलगायत देशका विभिन्न भागमा तरुलको मूल्य सस्तिएको छ । यस वर्ष काठमाडौँ उपत्यकामा भित्रिएको तरुल गत वर्षको तुलनामा १२ देखि २० प्रतिशतसम्म सस्तिएको छ । उपत्यकाको बजारमा मागभन्दा बढी तरुल भित्रिएपछि भाउ सस्तिएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार गत वर्षको प्रतिकेजी ४८ देखि १५० रुपियाँ थोकमा कारोबार भएको तरुल यस वर्ष भने ४२ देखि सय रुपियाँसम्ममा किनबेच भइरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले यो वर्ष तरुलको आयात बढेसँगै बजारमा यसको मूल्य पनि सस्तो भएको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष माघे सङ्क्रान्तिका लागि छ सय टन तरुल भित्रिएकोमा यस पटक भने झण्डै एक हजार टनको हारहारीमा तरुल भित्रिएको छ ।
आयो भारतीय तरुल
चितवनबाट प्राप्त समाचार अनुसार भारतबाट ठूलो परिमाणमा तरुल आयात भएको छ । फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घका अध्यक्ष थिरप्रसाद धितालका अनुसार होलसेलमा तरुल २५ देखि ३० रुपियाँ प्रतिकिलोमा बिक्री भएको छ । भारतबाट आयात नहुँदा प्रतिकिलो थोक मूल्य ५० भन्दा माथि जाने गरेको थियो । भारतीय आयात बढ्नाले यस वर्ष तरुलको मूल्य सस्तिएको व्यवसायीले बताए ।
मूल्यमा स्वतन्त्रता
गाईघाट समाचारदाताका अनुसार त्रियुगा नगरपालिकाको गाईघाट बजार मात्रै नभएर मोतिगडा, बगहा, देउरी, जलजले, चुहाडेलगायतका स्थानीय बजारमा सिमल तरुल प्रतिकिलो ८० रुपियाँ, घर तरुल ६० रुपियाँ, पिँडालु ५० रुपियाँ र सखरखण्ड ८० रुपियाँमा किनबेच भएको छ । सगरमाथा कृषि बजार व्यवस्थापन समिति गाईघाटका अध्यक्ष दुर्गानन्द चौधरीले माघे सङ्क्रान्तिमा कन्दमूलको खरिद बिक्री बढे पनि बजार समितिले त्यसको कुनै मूल्य निर्धारण नगरेको बताउनुभयो ।
भण्डार गर्न समस्या
स्टक रहने डरले यस वर्ष तरुल सस्तोमा बिक्री गर्नुपरेको व्यापारी बताउँछन् । कालीमाटी तरकारी बजारका तरुल व्यापारी विजय राउतले माघे सङ्क्रान्तिमा बिक्री नभएको तरुलपछि बिक्री गर्दा मूल्य नआउने भएकाले अहिले नै मूल्य घटाएर बिक्री गरेको बताउनुभयो ।
समितिका अनुसार तरुलको भाउ ४२ देखि सय रुपियाँ प्रतिकेजी थोकमा किनबेच भइरहको छ । सामान्य तरुल ४२ रुपियाँ, वन तरुल ७० रुपियाँ हात्तीपाइले तरुल ८० रुपियाँ र सिमल तरुल प्रतिकेजी सय रुपियाँ थोकमा कारोबार भइरहेको छ ।
समितिका अनुसार काठमाडौँ उपत्यकामा सर्लाही, सुनसरी, धरान, चितवन र धादिङबाट तरुल भित्रिएको छ । यस वर्षको माघे सङ्क्रान्तिलाई लक्षित गरेर पिँडालु १३० टन, सखरखण्ड १५० टन भित्रिएको छ ।गोरखापत्र

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments