स्टक चिनीको पनि मूल्यवृद्धि

काठमाडौं – चालु सिजनमा उत्पादित चिनीको मात्र भाउ बढाउने घोषणा गरेका उद्योगीले यही मौका छोप्दै स्टक चिनीको पनि मूल्य वृद्धि गरेका छन्। यो वर्ष चिनीको क्रसिङ सुरु हुनासाथ गत वर्ष उत्पादित स्टक चिनीको पनि मूल्य बढाएका हुन्। उद्योगीको यो कदमसँगै बजारमा चिनी प्रतिकिलो १० रुपैयाँसम्म महँगिएको व्यापारीले बताएका छन्। ६५ देखि ७० रुपैयाँ किलोमा बिक्री भइरहेको चिनीको भाउ अहिले ७५ देखि ८० रुपैयाँ पुगेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए। ‘चिनी किलोमा १० रुपैयाँसम्म महँगिएको छ,’ उनले भने, ‘उद्योगीले स्टक चिनीको भाउ बढाएपछि खुद्रा व्यापारीले बढाएका हुन्।’

विदेशी चिनीसँग प्रतिस्पर्धा गर्न नसकेको बहाना बनाएर लबिङ गरेका चिनी उद्योगीकै आग्रहमा सरकारले चिनी आयातमा लाग्ने भन्सार महसुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्‍याएको थियो। त्यसको फाइदा उठाउँदै चिनी उद्योगीले मनपरी मूल्य बढाएका हुन्। गत वर्ष मूल्य अभिवृद्धि करसहित फ्याक्ट्री मूल्य ७१ रुपैयाँ १९ पैसा तोकेका व्यवसायीले यो वर्ष उत्पादन लागत बढेको भन्दै फ्याक्ट्री मूल्य किलोको ७८ रुपैयाँ १० पैसा तोकेका थिए। यसलाई आधार बनाएर पुरानो चिनीको पनि मूल्य बढाए। चिनी आयात रोकेपछि उद्योगीले भाउ बढाएर उपभोक्तालाई मारमा पारेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ। ‘चिनी उद्योगीले मनोमानी मूल्य बढाएका छन्,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘स्टक चिनीको मूल्य बढाउनु न्यायोचित भएन।’

स्वदेशी उद्योगलाई संरक्षण गर्न चिनी आयातमा कर बढाए पनि उद्योगीले बेवास्ता गरेको विभागले जनाएको छ। ‘पुरानो चिनीको मूल्य यथावत राख्नुपर्ने हो,’ गौचनले भने, ‘उपभोक्ता ठगिने गरी मूल्य बढाउने काम भयो।’ चिनी उद्योगीसँग छलफल गर्दा लागत बढेको तर्क गर्ने गरेको गौचन बताउँछन्। चिनीको मूल्य वृद्धिबारे तालुक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग कुरा गर्ने गौचनले बताए। बजारलाई नियन्त्रण नगर्ने हो भने चिनीको मूल्य ९० रुपैयाँ पुग्ने लक्षण देखिएको गौचनले बताए। विभागले आइतबार चिनी उद्योगीलाई बोलाएर छलफल गरेको थियो। स्टक चिनीको हकमा पुरानै मूल्य कायम गर्नुपर्ने विभागले जनाएको छ। ‘गत वर्षको चिनीको मूल्य यथावत राख्न उद्योगीलाई आग्रह गर्दा टेरेनन्,’ गौचनले भने। चिनीको मूल्य बढेकाले सरकारले हस्तक्षेप गर्नुपर्ने सरोकारवाला बताउँछन्।

उपभोक्ता अधिकारकर्मीले भने सरकार र उद्योगीको मिलेमतोमा चिनीको भाउ बढाउने काम भएको बताए। व्यवसायी र सरकार मिलेर उपभोक्तालाई चेपुवामा पारेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले बताए। ‘चिनीको आयात नियन्त्रण गरेर भाउ बढाउने काम भएको छ,’ उनले भने, ‘चिनीमा भएको कालोबजारी नियन्त्रण गर्नुपर्छ।’ नेपाल चिनी उद्योग संघका पदाधिकारीले भने लागत बढेकाले पुरानो मूल्यमा बिक्री गर्न नसक्ने बताउँदै आएका छन्। सरकारले तोकेको उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्लिन्टल अनुदानसहित जोड्दा प्रतिक्लिन्टल चार सय ७१ रुपैयाँ २८ पैसा हुन आउँछ।

संघले भने लागत अनुसार यो वर्ष मूल्य बढाएको दाबी गर्दै आएको छ। चिनीमा उखुको लागत मूल्य किलोको ५३ रुपैयाँ ४८ पैसा, प्रशोधन खर्च १३ रुपैयाँ ४७ पैसा, मोलासिसको आम्दानी कट्टा दुई रुपैयाँ ६५ पैसा, चिनी उत्पादनको जम्मा लागत खर्च ६४ रुपैयाँ ३० पैसा, चिनी उद्योगको ७.५ प्रतिशत मुनाफा चार रुपैयाँ ८२ पैसा, १३ प्रतिशत मूल्य अभिवृद्धि कर आठ रुपैयाँ ९९ पैसा जोड्दा फ्याक्ट्री मूल्य किलोको ७८ रुपैयाँ १० पर्ने संघको जिकिर छ। चिनी उद्योगीले विभिन्न बहाना बनाएर उखु किन्न आनाकानी गर्दै आएका थिए। अघिल्लो हप्ताबाट मात्र चिनी उद्योग सञ्चालन गरेर उखु खरिद गर्न सुरु गरेका छन्।

राष्ट्रिय उपभोक्ता मञ्चले चिनी उद्योगीले अनुचित लाभ लिएको भन्दै कारबाहीको मागसहित पधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र दर्ता गरेको छ। मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले शुक्रबार कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका हुन्। उद्योगीले करिब ४० हजार मेट्रिक टन चिनी मौज्दात रहेको मौका छोपी फाइदा लिएको मञ्चले जनाएको छ। यो वर्ष उद्योगीले निर्धारण गरेको फ्याक्ट्री मूल्य लागतभन्दा धेरै भएको मञ्चको भनाइ छ।नागरिक

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments