धराशायी बन्दै चिज उद्योग

इलाम — कुनै बेला दूध बोकेर आउने कृषक र प्रशोधनमा व्यस्त कर्मचारीका कारण भीडम्भाड हुने पशुपतिनगरस्थित चिज कारखाना हिजो आज सुनसान छ । फिक्कल–फाटक सडकसँगै जोडिएको कारखानामा केही कर्मचारी मात्र भेटिन्छन् । दूधका टयामी र प्रशोधन उपकरणले भरिभराउ कारखाना रित्तो छ ।

स्थानीयस्तरमा उत्पादित दूधको प्रशोधन गरेर राजधानीलगायत होटलमा चिज बिक्री गर्ने सरकारीस्तरका कारखानामा मात्र हैन निजी उद्योगको हालत पनि उस्तै भेटिन्छ । चिजको बिक्री हुन छाडेपछि सरकारी र निजी क्षेत्रबाट सञ्चालित उद्योगहरू नराम्ररी थलिएका छन् । ‘उद्योग खोलेको १० वर्षयता कहिले यस्तोभोग्नुपरेको थिएन,’ उद्योगी गोविन्दखड्काले भने, ‘भूकम्पको बेला केही समय व्यवसाय सुस्ताए पनि छिट्टै पुरानै अवस्थामा आएको थियो ।’

दुग्ध उत्पादनमा अग्रणी यो जिल्लामा खुलेका चिज उत्पादन उद्योगहरू धमाधम बन्द हुन थालेपछि करोडौं लगानी गरेका उद्यमी संकटमा छन् । दैनिक ४५ हजार लिटरभन्दा धेरै दूध प्रशोधन गर्ने क्षमताका उद्योग धराशायी बन्दा कृषकलाई बजारको संकट छ भने चिज उद्योगमा काम गर्ने धेरैले रोजगारीबाट हात धुनुपरेको छ ।

जिल्लामा निजी क्षेत्रमा रहेका २८ चिज कारखानामध्ये १० वटा बन्द भइसकेका छन् । सञ्चालनमा रहेका उद्योग पनि धराशायी बन्दै गएकाले न्यून मात्र दूध प्रशोधन गर्छन् । चिजको बजार नै नभएका कारण यो अवस्था आएको उद्यमीको भनाइ छ । ‘पर्यटक धेरै आउने क्षेत्रमा चिजको माग हुने गरेको थियो,’ खड्काले भने, ‘अहिले पर्यटक झन् थपिएका छन् तर बिक्री न्यून मात्र छ ।’

ठूलो मात्रामा चिज स्टक भएकाले कृषकलाई नियमित दूधको भुक्तान गर्न पनि नसकेको व्यवसायीको भनाइ छ । २०५३ सालदेखि सञ्चालनमा आएको पशुपतिनगरस्थित चिज कारखाना करिब बन्द हुने अवस्थमा पुगेको छ । दैनिक तीन हजार लिटर दूध प्रशोधन गर्ने क्षमता भएका यो कारखानामा नाम मात्रैमा सीमिति हुन थालेको हो ।

यो कारखानामा अहिले डेढ सय लिटर जति दूध मात्र प्रशोधन हुन्छ । ‘पहिले २२ जनासम्म कर्मचारीले काम पाएको कारखानामा अहिले चार जना मात्र छौं,’ सहायक टी मेकर सन्तोष तामाङले भने, ‘चिजको माग नै नभएर यो अवस्था आएको हो । माग हुने हो भने संस्थानअन्तर्गतको चिस्यान केन्द्रबाट दूध खरिद गरेर क्षमताअनुसार नै उत्पादन गर्न सकिन्छ ।’

संस्थानअन्तर्गत रहेका अन्य कारखानाको पनि अवस्था उस्तै छ । इलाममा नयाँबजार, माइपातल र रक्सेमा संस्थानअन्तगर्तका चिज उद्योग छन् । अहिले दैनिक सबै उद्योगबाट तीन सय किलो चिज उत्पादन हुने गरेको पशुपतिनरस्थित कारखानाका प्रमुख मनीष थापाले जानकारी दिए ।

पाँचथरको राँके, चरीभन्ज्याङ र गोपेटारमा रहेका चिज उद्योगको पनि अवस्था उस्तै छ । संस्थानअन्तर्गत दूध बेच्दा कम मूल्य पाएको भन्दै पछिल्लो दशकमा इलाममा निजी क्षेत्रबाट चिज कारखाना खोल्ने लहर नै चलेको थियो । तर पछिल्लो अवस्थाले उद्योग सञ्चालन गर्न नसकेका कृषकले राज्यले नै बजार निश्चित गर्न पहल गर्नुपर्ने माग गरेका छन् ।

जिल्लाको पशुपतिनगर, अन्तु, देउराली, राँकेलगायत क्षेत्रमा निजी चिज कारखाना सञ्चालित छन् । निजी क्षेत्रबाट खुलेका कारखानामा प्रतिउद्योग २५ लाखदेखि ५० लाखसम्म लगानी छ । सरकारीस्तरबाट पनि करोडौं लगानी भएका कारखाना दयनीय अवस्थामा पुगेका छन् ।

पछिल्लो सयम प्रदेश सरकारले मिल्क होलिडे अन्त्य गर्ने भन्दै दुग्धजन्य उद्योगमा लगानी गर्ने भनेर प्रस्ताव आहवान गरेको छ । त्यस्तै यसअघि उन्नति समावेशी परियोजनाले पनि जिल्लाका थुप्रै उद्योगलाई सहयोग गर्‍यो । बजारको अवस्था खस्कँदो रहेकाले यी लगानी पनि कृषकको हितमा हुन नसक्ने आशंका चिज उत्पादन संघका अध्यक्ष रिन्जी शेर्पाको छ ।

‘चिज उद्यागले खपत गरे बराबरको दूध अन्य उद्योगले खर्चन मुस्किल छ,’ उनले भने, ‘दुग्ध उत्पादनमा कृषकको उत्साह नघटाउन चिजको बजार खोज्नुको विकल्प छैन ।’ दूधको मूल्य बढे पनि चिजको मूल्य नबढेका कारण पनि उद्योगले समस्या खेप्नुपर्ने उनको तर्क छ । ३ दशमलव ५ फयाट र आठ एसएनएफ भएको १० लिटर दूधबाट एक किलो चिज तयार हुन्छ । काठमाडौंमा प्रतिकिलो सात सय रुपैयाँ चिजको मूल्य छ । त्यसमा प्रयोग हुने इन्धन, श्रमिकलगायत जोड्दा नोक्सानी हुने उनी बताउँछन् ।कान्तिपुर

Leave a Reply

Your email address will not be published.