भकारीमा अन्न, आँगनमा संस्कृति र माटोमै भविष्य : गाभर भ्यालीमा कृष्ण चौधरीले देखेको थारू गाउँको सपना
नेपालगञ्ज–कोहलपुर सडकबाट केही पर पुगेपछि शहरको कोलाहल बिस्तारै हराउँदै जान्छ। बाटो मोडिँदै जाँदा अगाडि देखिन्छ – माटोले लिपिएका घर, परम्परागत भकारी, आँगनमा खेलिरहेका पशुपन्छी, पोखरीमा पौडिरहेका माछा र आफ्नै लयमा बाँचेको एउटा गाउँ। पहिलो नजरमा यो सामान्य गाउँजस्तो लाग्न सक्छ। तर केही बेर त्यहाँ बिताएपछि थाहा हुन्छ – यो केवल गाउँ होइन, प्रकृति, संस्कृति र कृषिलाई एउटै धागोमा बाँधेर भविष्य खोजिरहेको एउटा जीवित प्रयोगशाला हो।
यही ठाउँ हो गाभर भ्याली सामुदायिक होमस्टे। र यही सपनालाई व्यवहारमा उतार्ने यात्राको अगुवाइ गरिरहेका छन् गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरी। कुनै ठूलो शहरमा बसेर गाउँ विकासको योजना बनाउनेभन्दा गाउँमै फर्किएर आफ्नै माटो, आफ्नै संस्कृति र आफ्नै स्रोतबाट सम्भावना खोज्न सकिन्छ भन्ने सोचका साथ उनले सुरु गरेको अभियान अहिले एउटा घरबाट बढेर २६ वटा होमस्टेसम्म पुगेको छ।
कृष्ण चौधरीका लागि समृद्धिको अर्थ घरमा पैसा मात्र जम्मा हुनु होइन। उनको बुझाइमा घरभित्र अन्न छ भने त्यो परिवार बलियो छ, गाउँमा आफ्नै उत्पादन छ भने त्यो गाउँ आत्मनिर्भर छ। यही सोच गाभर भ्यालीका घरघरमा देखिन्छ। यहाँका परम्परागत भकारीहरू केवल धान राख्ने भाँडा होइनन्, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको खाद्य सुरक्षाको ज्ञानका जीवित प्रमाण हुन्।
थारू समुदायमा अन्नको भण्डारणलाई समृद्धिसँग जोडेर हेर्ने पुरानो संस्कार अझै जीवित छ। नयाँ अन्न भण्डारण गरेर पुरानो अन्न उपभोग गर्ने चलनदेखि वर्षौँसम्म सुरक्षित राखिने धानसम्म, यहाँको जीवनशैलीले खाद्य संकटसँग जुध्ने आफ्नै तरिका विकास गरेको देखिन्छ। माटो, धानको भुस र परालको प्रयोगबाट बनाइएका भकारीमा धान सुरक्षित राखिन्छ। कतिपय भकारीमा निमका पात राखेर किराको क्षति घटाउने परम्परागत ज्ञानसमेत प्रयोग हुँदै आएको छ। आधुनिक गोदाम र प्रविधिको चर्चा भइरहेका बेला गाभरका यी भकारीले एउटा पुरानो प्रश्न फेरि उठाउँछन् – हामीले विकासको दौडमा हाम्रा आफ्नै उपयोगी ज्ञान कति बिर्सिसकेका छौँ ?
यहाँ अन्न राख्ने भकारीले कोठा छुट्याउने कामसमेत गर्छन्। घरको संरचनामै अन्न भण्डारण जोडिएको छ। अर्थात्, थारू जीवनशैलीमा कृषि घरबाहिरको काम मात्र होइन, घरकै संरचनासँग जोडिएको जीवनपद्धति हो। यही कारण कृष्ण चौधरीका लागि कृषि संरक्षण भनेको खेतमा बाली लगाउनु मात्र होइन, बीउदेखि भकारीसम्म र खानादेखि संस्कृतिसम्मको एउटा पूरा चक्र जोगाउनु हो।
गाभर भ्यालीमा यही सोचले रैथाने बाख्रा, हाँस, कुकुर, माछा, घोंगी, फलफूलका बिरुवा र विभिन्न स्थानीय प्रजातिलाई पनि ठाउँ दिएको छ। स्थानीय खरी बाख्रादेखि परम्परागत खानाका सामग्रीसम्म यहाँ संरक्षणसँगै प्रयोगमा जोडिएका छन्। बाहिरबाट ल्याइएका प्रजाति मात्रै विकासका प्रतीक होइनन्, आफ्नै हावापानीमा पुस्तौँदेखि टिक्दै आएका रैथाने प्रजाति पनि ठूलो सम्पत्ति हुन् भन्ने सन्देश यहाँको अभ्यासले दिन्छ।
गाभरको अर्को विशेषता हो – यहाँ प्रकृति केवल हेर्नका लागि राखिएको छैन, प्रकृतिलाई नै गाउँको अर्थतन्त्रको हिस्सा बनाउने प्रयास गरिएको छ। घरको वरिपरि विभिन्न प्रजातिका मौरी तथा अन्य परागसेचक किराका लागि बनाइएका साना–साना बासस्थान देखिन्छन्। पर्खाल र काठका संरचनामा किराहरू बस्न सक्ने ठाउँ बनाइएको छ। फूलमा मौरीको आवतजावतलाई यहाँ वातावरण स्वस्थ भएको संकेतका रूपमा बुझ्ने प्रयास गरिएको छ।
कृष्ण चौधरीको सोचमा यो सानो कुरा होइन। आज कृषि उत्पादन बढाउने नाममा रासायनिक विषादीको प्रयोग बढ्दै जाँदा खेतबारीमा देखिने साना जीव हराउँदै गएका छन्। त्यसैले गाभरमा प्रश्न फरक छ – किरा कसरी मार्ने होइन, उपयोगी किरा कसरी बचाउने ? किसानले विषादी छर्कनुअघि आफूले उत्पादन गरेको खाना आफ्नै परिवारले खाने कुरा सम्झियो भने पनि सोच बदलिन सक्छ भन्ने उनको विश्वास छ। यही सोचबाट रासायनिक विषादीको प्रयोग घटाउने र स्थानीय बीउ तथा जैविक विविधता जोगाउने अभियानलाई अघि बढाइएको छ।
गाभर भ्यालीको सबैभन्दा ठूलो सम्पत्ति भने यसको संस्कृति हो। माटोले लिपिएका घरका भित्तामा देखिने थारू लोकचित्र, परम्परागत सामग्री, देवस्थल, काठका संरचना र घरभित्रका भकारीहरूले यहाँको इतिहास सुनाइरहेका हुन्छन्। कतिपय मूर्ति तथा सांस्कृतिक संरचना बनाउन रुखै ढाल्ने होइन, आवश्यक पर्ने सानो टुक्रा मात्र लिने परम्पराको कथा पनि यहाँ सुनिन्छ। यसमा प्रकृतिप्रतिको सम्मान मात्र होइन, ‘जति लिन्छौँ, त्यति नै प्रकृतिलाई फर्काउनुपर्छ’ भन्ने पुस्तौँ पुरानो चेतना लुकेको छ।
गाभरमा संस्कृति प्रदर्शनका लागि मात्रै राखिएको छैन। पाहुना आउँछन्, स्थानीय खाना खान्छन्, परम्परागत सामग्री हेर्छन्, गाउँ घुम्छन् र सकेसम्म स्थानीय जीवनमै सहभागी हुन्छन्। ढिक्रीजस्ता परम्परागत परिकार यहाँ खानाको सूचीमा मात्र होइन, थारू संस्कृतिको परिचयका रूपमा प्रस्तुत हुन्छन्। पुराना डोकनी, सिलौटा, काठका सामग्री र घरायसी उपकरणहरू पनि अहिले फेरि नयाँ पुस्ताका लागि आकर्षण बनेका छन्। हिजो पुराना भनेर पन्छाइएका सामग्री आज पहिचान र सम्भावनाका उत्पादन बन्न थालेका छन्।
कृष्ण चौधरीको अर्को ठूलो सपना यहीँबाट जोडिन्छ – पुर्खाले छाडेको ज्ञानलाई केवल सम्झनामा होइन, आम्दानीमा जोड्ने। परम्परागत सीपबाट बनेका सामग्री बजारमा पुग्न थाले भने त्यसको उत्पादन पनि निरन्तर हुन्छ र सीप पनि मर्दैन भन्ने उनको बुझाइ छ। त्यसैले गाभरमा स्थानीय उत्पादनका लागि सानो पसलसमेत सञ्चालन गरिएको छ, जहाँ पाहुनाले स्थानीय सामग्री हेर्न, खान र किनेर लैजान सक्छन्।
यो अभियानले अहिले एउटा होमस्टे मात्र जन्माएको छैन। गाउँका साना–साना उद्यमलाई जोड्ने एउटा ठूलो आधार तयार भएको छ। कसैले दूध दिन्छन्, कसैले घिउ, कसैले अन्न, कसैले तरकारी, कसैले सिन्की, कसैले हस्तकलाका सामग्री। एउटै किसानले थोरै उत्पादन गरे पनि गाउँमै बजार भेटियो भने त्यसको मूल्य बढ्छ। कृष्ण चौधरी यसलाई होमस्टेलाई ‘माउ उद्यम’ बनाएर गाउँका साना उद्यमलाई जोड्ने अवधारणाका रूपमा अघि बढाइरहेका छन्।
अहिले गाभर भ्यालीमा २६ वटा घर होमस्टेका रूपमा जोडिएका छन्। प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सयौँ मानिस यससँग जोडिएका छन्। गाउँका करिब ६ सय घरधुरीसम्म यसको प्रभाव पुर्याउने प्रयास भइरहेको छ। कुनै किसानले थोरै मात्र सिन्की उत्पादन गरे पनि बाहिरको बजारसम्म पुर्याउन लाग्ने खर्चभन्दा गाउँमै आएका पाहुनालाई बेच्न सजिलो हुन्छ। यही सानो बजारले स्थानीय उत्पादनलाई टिकाइरहेको छ।
तर कृष्ण चौधरीको यात्राको कथा यहाँबाट सुरु भएको होइन। उनले पढाइका क्रममा नेपालगञ्जमा बसे, विभिन्न काम गरे, पत्रकारिता पनि गरे। तर अन्ततः प्रश्न एउटै थियो – आफ्नै गाउँमा बसेर केही गर्न सकिँदैन ? यही प्रश्नको उत्तर खोज्दै उनी गाउँ फर्किए। करिब २०७० सालतिर सुरु भएको प्रयास आज एउटा फराकिलो अभियान बनेको छ।
त्यतिबेला उनले आजको जस्तो ठूलो संरचना देखेका थिएनन्। एउटा विचार थियो – गाभर क्षेत्रलाई प्रकृति, संस्कृति र कृषिसँग जोडिएको गन्तव्यका रूपमा विकास गर्ने। त्यसपछि एकपछि अर्को अभ्यास थपिँदै गए। होमस्टे आयो, स्थानीय उत्पादन जोडियो, कृषि जैविक विविधता संरक्षणको अभियान आयो, मौरी र अन्य उपयोगी किराका लागि बासस्थान बनाइयो, परम्परागत सामग्रीलाई व्यवसायसँग जोडियो र गाउँलाई सिकाइ केन्द्रका रूपमा विकास गर्ने प्रयास सुरु भयो।
आज गाभर भ्यालीमा आउने पाहुनाका लागि बस्ने र खाने मात्र छैन। उनीहरू गाउँ घुम्न सक्छन्, कृषि गतिविधि हेर्न सक्छन्, स्थानीय खाना चाख्न सक्छन्, जंगल सफारी गर्न सक्छन्, स्थानीय संस्कृति बुझ्न सक्छन् र रैथाने बीउ तथा जैविक विविधताका विषयमा सिक्न सक्छन्। त्यसैले कृष्ण चौधरी गाभरलाई केवल होमस्टे होइन, ‘नेचर, कल्चर र एग्रिकल्चर’ जोडिएको सिकाइ केन्द्र बनाउन चाहन्छन्।
यो सोच विशेष गरी नयाँ पुस्ताका लागि महत्वपूर्ण छ। गाउँमा अवसर छैन भन्दै विदेशिने युवाका अगाडि कृष्ण चौधरी आफ्नै कामबाट एउटा प्रश्न राखिरहेका छन् – अवसर खोज्न सधैँ गाउँ छोड्नैपर्छ त ?
उनको उत्तर भाषणमा होइन, गाभरको परिवर्तनमा देखिन्छ। एउटै ठाउँमा कृषि छ, पशुपालन छ, होमस्टे छ, हस्तकला छ, स्थानीय खाना छ, पर्यटन छ र संरक्षणसँग जोडिएको काम छ। एउटा कामबाट अर्को काम जन्मिरहेको छ। एउटा परिवारको उत्पादन अर्को परिवारको आम्दानीसँग जोडिएको छ। यही जोडाइले गाउँको अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ।
गाभरको कथा अझ रोचक त त्यतिबेला हुन्छ, जब यहाँका परम्परागत ज्ञानलाई भविष्यसँग जोडेर हेर्न थालिन्छ। पुस्तौँदेखि सुरक्षित राखिएका बीउ, रैथाने पशुपन्छी, परम्परागत भकारी, माटोका घर, लोकचित्र, खानाका परिकार र वनस्पतिसँग जोडिएका विश्वासहरू अहिले केवल विगतका चिनो होइनन्। सही तरिकाले संरक्षण र बजारीकरण गर्न सके यी सबै गाउँको अर्थतन्त्रका आधार बन्न सक्छन्।
कृष्ण चौधरी आफैँ पनि यो अभियानलाई पूर्ण भइसकेको ठान्दैनन्। उनका लागि गाउँ विकास कुनै एकपटक बनाएर सकिने परियोजना होइन। आज एउटा नयाँ चुनौती आउँछ, भोलि अर्को अवसर देखिन्छ। त्यसैले उनी भन्छन् – यात्रा निरन्तर चलिरहन्छ।
सायद यही कारण गाभर भ्यालीलाई केवल घुम्न जाने ठाउँका रूपमा हेर्नु अपुरो हुन्छ। यहाँ पुग्दा भकारीमा राखिएको धानले खाद्य सुरक्षाको कथा सुनाउँछ। रैथाने बाख्राले स्थानीय प्रजातिको महत्व सम्झाउँछ। मौरी र अन्य किराका घरले प्रकृतिसँग सहअस्तित्वको पाठ पढाउँछन्। माटोले लिपिएको घरले पुर्खाको सीप देखाउँछ। ढिक्रीले संस्कृतिको स्वाद दिन्छ। अनि यी सबैलाई एउटै यात्रामा जोडेर अघि बढाइरहेका कृष्ण चौधरीले एउटा ठूलो सम्भावना देखाइरहेका छन् – गाउँलाई जोगाएरै गाउँबाट भविष्य बनाउन सकिन्छ।
नेपालगञ्जबाट कोहलपुर हुँदै सुर्खेत रोडतर्फ करिब केही किलोमिटर अघि बढेपछि पुगिने गाभर भ्यालीमा प्रवेश गर्दा बाटोले मात्र गाउँतिर लैजाँदैन, एउटा फरक सोचतिर पनि लैजान्छ। जहाँ समृद्धि बैंकको खातामा मात्र होइन, भकारीमा सुरक्षित अन्नमा पनि नापिन्छ; विकास सिमेन्टका भवनमा मात्र होइन, जोगाइएको प्रकृति र संस्कृतिमा पनि देखिन्छ; र भविष्य विदेशको बाटोमा मात्र होइन, आफ्नै माटोमा पनि खोज्न सकिन्छ।
गाभर भ्यालीको कथा यहीँ सकिँदैन। यो त एउटा गाउँले आफ्नो माटो, आफ्नो अन्न, आफ्नो संस्कृति र आफ्नै सम्भावनामा फेरि विश्वास गर्न थालेको कथा हो।
– जनार्दन पाण्डे
खेतबारीका कथा खोज्दै, लेख्दै र देखाउँदै
