४५ वर्षदेखि निभेको छैन जमिनमुनिको आगो, लुभुमा यही ग्यासले धानिरहेको छ स्थानीयको भान्सा

ललितपुर, २२ भदौ : ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु । गोदावरी खोलाबाट देब्रे लागेपछि झण्डै पाँच सय मिटर हिँडेपछि पुगिने एउटा वस्तीमा अलि फरक दृश्य देखिन्छ ।

वरिपरि नयाँ घर बनिरहेका छन् । वस्ती बाक्लो बन्दै गएपनि एउटा जग्गा खाली छ । त्यो खाली जमिनमा असरल्ल ठूला–साना ढुङ्गा छन् । तिनै ढुङ्गामाथि दुई वटा चियादानी र एउटा कुकर राखिएको छ । एउटा चियादानीमा पानी उम्लिरहेको छ भने अर्कोमा चिया पाकिरहेको छ । कुकरमा सिट्ठी लागिरहेको छ ।

बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको बेला यहाँ स्थानीयले निःशुल्करुपमै दैनिक खाना पकाइरहेका छन् । ‘‘यसरी खाना पकाएको धेरै भयो । खुला जमिनमा २४ घण्टा आगो बलिरहन्छ । यसैमा खाना पकाएर घरमा लगेर खान्छौँ,’’ हुम्ला घर भइ लुभु–८ भाडाको घरमा बस्दै आउनुभएकी अनिता जैशीले भन्नुभयो ।

घर नजिकै रहेको खाली जग्गामा खेर गइरहेको ग्यासको सदुपयोग गरेको उहाँ बताउनुहुन्छ । निःशुल्क ग्यास सदुपयोगको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘‘बिहान बेलुका दाल, गेडागुडी पकाउँछु । मैले मात्र होइन साँझ र बिहान वरिपरि घर भएका धेरै परिवारले दाल–भात पकाउनुहुन्छ ।’’

घरमा खाना पकाउन प्रयोग हुने ग्यासजस्तै प्राकृतिक रूपमा निस्किएको ग्यासले स्थानीयको भान्साको काम गरिरहेको छ । भान्सामा मात्र सीमित नभई कतिपयको लागि यो ग्यास आयस्रोतको बाटो पनि बनेको छ । उहाँ भन्नुहुन्छ, ‘‘हामी साँझबिहान मात्रै पकाउँछौं, एक जना दिदीले त दिनभरि मकै पोलेर राम्रो आम्दानी गर्नुहुन्छ ।’’

चार जनाको परिवारलाई बिहान बेलुका दाल, भात र तरकारी पकाउन पुग्ने उहाँको भनाइ छ । राजधानीमै रहेर पनि यो ठाउँमा सरकारको नजर नपुगेको जैशी बताउनुहुन्छ । ‘‘बजारमा ग्यास किन्न पनि पाइँदैन । राजधानी सहरमै यस्तो ग्यास छ । थोरै मान्छेलाई वा एक दुई सय परिवारलाई त पुग्ने थियो तर किन सरकारले सदुपयोग नगरेको हो भन्ने लाग्छ’’, जैशी भन्नुहुन्छ ।

उहाँजस्तै अरू स्थानीय पनि बिहान–बेलुका भाँडाकुँडा बोकेर यही ठाउँमा पुग्छन् । कसैका लागि यो वर्षौदेखिको परिचित ठाउँ हो भने कसैका लागि प्रकृतिले दिएको अनौठो उपहार । ललितपुर सानागाउँका ५६ वर्षीय बाबुकाजी महर्जन यो ग्यासमा खाना पकाउन आउनेहरूको संख्या समयअनुसार बढिरहेको बताउनुहुन्छ । ‘‘घरमा ग्यास किन्नुपर्छ । यहाँ प्रकृतिले दिएको ग्यास छ । यसको राम्रोसँग अध्ययन गरेर प्रयोग गर्न सके स्थानीयलाई ठूलो सुविधा हुन्थ्यो,’’ उहाँ भन्नुहुन्छ ।

महर्जन यो ग्यास ४५ वर्षदेखि खेर गइरहेको सुनाउनुहुन्छ । बाल्यकालदेखि नै आगो उस्तै बलिरहेको उहाँको भनाइ छ । महर्जन थप्नुहुन्छ, ‘‘न घाम न पानी, न हुरी न आँधी यो आगो निरन्तर बलिरहेको छ । पहिले यहाँ पूरै घारी थियो, अहिले घर बन्न थालिसके । यसरी ग्यास निरन्तर बलिरहँदा बस्तीका लागि जोखिम पनि भयो नि !’’

यही आगोले एउटा ठूलो प्रश्न पनि उठाएको छ—जमिनमुनिबाट निरन्तर निस्किरहेको यो ग्यास आखिर के हो ? यसको मात्रा कति छ ? र यसलाई स्थानीय ऊर्जा स्रोतका रूपमा प्रयोग गर्न सकिन्छ कि सकिँदैन ? स्थानीयले वर्षौदेखि प्रयोग गर्दै आए पनि यसको वैज्ञानिक सम्भाव्यताबारे भने पर्याप्त अध्ययन भएको देखिँदैन ।

वडाध्यक्ष विश्वराज श्रेष्ठ यसबारेमा विभिन्न संस्थाले अध्ययन गरिसकेको बताउनुहुन्छ । ‘‘आगो निस्किएको धेरै भयो । अध्ययन पनि धेरै भयो । तर ग्यास निकाल्न मिल्दैन भन्ने निष्कर्ष सार्वजनिक भए । जग्गा धनी पनि यहाँ छैनन् । त्यही भएर अलि अप्ठ्यारो भएको छ । म यसबारेमा एकपल्ट फेरि खानी तथा भूगर्भ विभागमा बुझ्छु’’, उहाँले थप्नुभयो ।

वडाध्यक्ष श्रेष्ठको यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा नै लुभुमा ग्यासको सम्भाव्यता र सदुपयोगको लागि पहल गरे पनि अझै केही हुन नसकेको उहाँको भनाइ छ । ‘‘हामी आउनुभन्दा अगाडि नै एउटा इँटा कारखाना थियो । त्यसको लागि बोरिङ खन्ने क्रममा यो निस्किएको हो । २०७२ सालको भूकम्पमा चिया पकाउने, खाना पकाउनेको भिड हुन्थ्यो । विभिन्न अध्ययनले व्यावसायिक उत्पादन हुँदैन भनेपछि बन्द गर्न खोजेको त्यो पनि हुँदैन । पाइप राखेर मिलाएका थियौँ । तर मान्छेहरु गएर बिगारिदिन्छन्’’, उहाँले गुनासो गर्दै भन्नुभयो ।

खानी तथा भूगर्भ विभागले यहाँको ग्यास स्टोर गर्न नमिल्ने भनेपछि केही नगरेको महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ बताउनुहुन्छ । ‘‘खानी तथा भूगर्भ विभागमा यसबारेमा पहिले नै कुरा भएको थियो । तर यहाँबाट निस्किएको ग्यास भण्डारण गर्न मिल्ने खालको छैन भनेपछि त्यसै छाडेको हो’’, उहाँले भन्नुभयो ।

लुभुको वडा नं ८ मा यो पुरानो आगो भए पनि आसपास बोरिङ खन्दा ग्यास निस्कने गरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘अस्ति पनि डिप बोरिङ गर्दा खोलाको किनारमा ग्यास निस्किएको थियो । यो ठाउँमा किन यस्तो हुन्छ भनेर गहिरो अध्ययन गर्न आवश्यक छ ।’’

खानी तथा भूगर्भ विभाग, पेट्रोलियम परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार जमिनबाट प्राकृतिक रूपमा ज्वलनशील ग्यास निस्कनु भूगर्र्भीय प्रक्रियासँग सम्बन्धित हुन सक्छ । कुनै स्थानमा ग्यास बलिरहेको देखिनु मात्रै त्यसलाई व्यावसायिक रूपमा उत्खनन गर्न सकिने पर्याप्त प्रमाण नभएको उहाँ बताउनुहुन्छ । ‘‘व्यवसायिक उत्पादन र उत्खनन्का लागि विस्तृत भूगर्भीय अध्ययन, ग्यासको रासायनिक परीक्षण, भण्डारको अनुमान र आर्थिक तथा प्राविधिक सम्भाव्यता अध्ययन आवश्यक हुन्छ ।’’

विसं २०७२ मा भूकम्प गएपछि काठमाडौँ उपत्यकाको धेरै ठाउँमा यस्तो ग्यास निस्किएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘बालुवा भएको ठाउँ ठाउँमा पानी सित घुलेर यस्तो ग्यास बसेको हुन्छ । २०७२ सालको भूकम्पमा तलको पानी र बालुवा घुलेर यो ग्यास निस्किएको हो । कुनै ठाउँमा इनार खन्दा यस्तो ग्यास निस्कन्छ । लुभुमा पनि अहिले त्यस्तै ग्यास निस्किएको हुनसक्छ । यो प्राकृतिक भन्दा पनि बायोजेनिक ग्यास हो । दैलेखतिर पाउनेजस्तो थर्मोजेनिक ग्यास चाहिँ होइन ।’’

बायोजेनिक ग्यास वैज्ञानिक रूपमा प्रयोग गर्न नमिल्ने उहाँ बताउनुहुन्छ । पेट्रोलियम परियोजनाका निमित्त प्रमुख खड्का भन्नुहुन्छ, ‘‘काठमाडौँ उपत्यकाको बाक्लो वस्तीमा भेटिएको बायोजेनिक ग्यास व्यावसायिक रूपमा प्रयोग गर्न मिल्दैन । यसको प्रयोगले समस्या ल्याउँछ ।’’ यस्तो ग्यास उपत्यकाका विभिन्न ठाउँमा निस्किरहेको उहाँको भनाइ छ । ‘‘काठमाडौँको टेकुमा पनि निस्किएको थियो । केही समय टेकुमा पनि स्थानीयले उपयोग गरे तर अहिले बन्द छ । कुनै ठाउँमा पहिलेदेखि निस्किएको होला त्यो त हामीलाई भन्दा पनि स्थानीयलाई थाहा हुन्छ ।’’ खड्काका अनुसार उपत्यकामा कालीमाटी भएको ठाउँ ग्यास उत्सर्जन गर्ने स्रोत हो । त्यहाँँबाट निस्किएको ग्यास बालुवाको माथिल्लो तहमा थोरै थोरै बसेको हुन्छ । कुनै ठाउँमा इनार खन्दा, कुनै ठाउँमा नदी किनार र खोँचहरुमा निस्कन्छ ।

अनुसन्धान गर्न स्थानीयको माग

नगरपालिकाले मात्रै होइन, संघीय तहका सम्बन्धित निकायले समेत लुभुको ग्यासको वैज्ञानिक अध्ययन गर्नुपर्ने स्थानीयको माग छ । बाबुकाजी महर्जन भन्नुहुन्छ, ‘‘मैले ४६ वर्षदेखि लगातार ग्यास बलिरहेको देखेको छु । यो ग्यासको अनुसन्धान गरेर उपयोग गर्न सरकारलाई अनुरोध गर्दछु ।’’ लुभुको जमिनमुनि कति ग्यास छ भन्ने कुरा अहिले अनुमान गर्न सकिँदैन । महर्जन भन्नुहुन्छ, ‘‘जमिनबाट निस्किएको ग्यासमा वषौंदेखि स्थानीयको खाना पाकिरहेको छ । यो विषयलाई सरकारले गम्भीर रूपमा लिनुपर्छ ।’’

महालक्ष्मी नगरपालिकाले व्यवसायीक ग्यास उत्पादन गर्न नसके पनि यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा संरक्षण गर्न सक्छ । तर यो विषयमा नगरपालिकाको ध्यान पुगेको देखिँदैन । नगरपालिकाको सानो लापरवाहीले वस्ती बढ्दै जाँदा कहिल्यै ननिभ्ने ग्यासका कारण यो क्षेत्र जोखिममा पर्नसक्ने महर्जनको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments