किसानले सडकमा फाले तरकारी

काभ्रे — इँटाभट्टाले निकालेको धूलोको कारण तरकारी बालीमा असर परेको भन्दै पाँचखाल नगरपालिकाका किसानहरूले तरकारी सडकमा फालेर विरोध गरेका छन् ।

कालिमाटी कृषि बजारमा बिक्रीका लागि लगिएको काउली कालो भएको भन्दै फिर्ता गरिएपछि किसानले धुलिखेलस्थित अरनिको राजमार्गमा फालेका हुन् ।

पाँचखाल ७ का किसान केशवप्रसाद ढकालले भने, ‘बिक्रीका लागि लगिएको तरकारी फिर्ता आउन थाल्यो, आम्दानीको एउटै बाटो रोकिदा पनि इँटाभट्टाको ज्यादती रोकिएन ।’ स्थानीय कृषक ढकनारायण पराजुलीले इँटाभट्टाका कारण खेतीमा असर परिसक्दा पनि सरोकारवालाको ध्यान नजानु दुर्भाग्य भएको बताए । नगरपालिकाले दिएको समयसिमामापनि कुनै प्रगति नभएको भन्दै उनले आक्रोश पोखे ।

पाँचखालबाट तरकारी लिएर कालिमाटीमा बिक्री गर्दै आएका व्यापारी रामहरि न्यौपानेले आफूले लगेको काउली बिक्री नभएकाले किसानलाई पैसा दिन नसक्ने जानकारी गराएको बताए ।

पाँचखाल नगरस्थित ७ इँटाभट्टा र एक प्लाई उद्योगबाट निस्कने धूलो–धूवाँका कारण तरकारी नबिकेको भन्दै स्थानीय कृषकहरू आन्दोलित भएका हुन् । स्थानीयले जिल्ल्ला प्रशासन कार्यलय काभ्रेमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

नगरपालिकाले हालै गरेको सर्जिमिन यहाँ सञ्चालित ७ वटै इँटाभट्टा मापदण्डविपरीत रहेको पाइएको प्रमुख महेश खरेले बताए । नगरसभाले हालै वातावरण ऐन पास गरेको जानकारी दिंदै उनले कार्यविधि बनाएर व्यवस्थित गरिने बताए । ‘कार्यविधि बनाएपछि फेरि सर्जिमिन गर्छौं, सुधारिनु भएन र मापदण्डमा आउनुभएन भने कानुनबमोजिम हटाउँछौं,’ नगरप्रमुख खरेलले भने ।कान्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments