उखु किसानको बाध्यता : सरकारले तोकेकोभन्दा कम मूल्यमा बिक्री

मोरङ — उखु खेतमै फूलेर सुक्न थालेपछि यहाँका किसानहरू सरकारले तोकेको न्यूनतम मूल्यभन्दा ३० रुपैयाँ कममा उद्योगीलाई उखु बिक्री गर्न बाध्य भएका छन् ।

सुनसरीको बर्जु–५ स्थित इस्टर्न सुगर मिल्सका सञ्चालकसँग उनीहरूले वार्ता गरी कम मूल्यमा उखु बिक्री गर्न सहमत भएका हुन् । मिल्सले सोमबार कृषकलाई २० हजार क्विन्टल उखु कटानका लागि पुर्जी वितरण गरेको छ । कृषकले काटेको उखु मिल्सले मंगलबारदेखि तौल सुरु गर्नेजनाएको छ ।

विराटनगर ११ का कृषक ध्रुवराज कोइरालाले उखु खेतमा फुलेर हरेक दिन सुक्दै गएकाले जसरी पनि बिक्री गर्नैपर्ने अवस्था आएको बताए । ‘खेतमै उखु सुकाउनुभन्दा कम मूल्यमा भए पनि बिक्री गर्न बाध्य भयौं,’ उनले भने, ‘मिल्स सञ्चालकद्वय हितेश गोल्छा र अनुज अग्रवालसँगै सुनसरी र मोरङका कृषकहरूले उखु खरिद गरेर मिल्स सञ्चालन गर्न आग्रह गर्न बाध्य भयौं ।’

कृषक सत्यजीवन कामतका अनुसार सरकारले तोकेको प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसामा उद्योगीले खरिद गर्न नमानेपछि ३० रुपैयाँ उखु विकासका लागि खर्च गर्न छाडेर ५ सय ६ रुपैयाँ ५६ पैसामा बिक्री गर्ने आइतबार सहमति भयो । सहमतिअनुसार सोमबार मिल्सले २० हजार क्विन्टल उखु कटानका लागि पुर्जी वितरण गरेको उनले बताए । मिल्सले १५/१५ दिनमा उखुको भुक्तानी दिनेसमेत सहमति भएको उनले सुनाए ।

‘हामी कृषकले छुट दिएको३० रुपैयाँबाट मिल्सले आउँदो सिजनमा नयाँ प्रविधि, उन्नत उखुको बीउ र विषादीमा खर्च गर्ने सहमति भएको छ,’ उनले भने, ‘मिल्स सञ्चालकहरूले उखु विकासमा उक्त रकम खर्च गर्ने लिखित प्रतिबद्धतासमेत जनाएको छ ।’

कोसी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले उद्योगीले सरकारले तोकेको मूल्यमा उत्पादन भएको चिनी महँगो हुने भएको भन्दै मिल सञ्चालन नगरेपछि कृषकहरू आफैं वार्ता गरी कम मूल्यमा उखु बिक्री गर्ने सहमति गरेको जनाए । उनले सरकारले तोकेको मूल्यमा उखु खरिद गरी समयमा उखुको मूल्य तिर्न नसक्ने मिल्स सञ्चालकको अडान रहेको बताए ।

इस्टर्न सुगर मिल्सका प्रमुख उखु प्रबन्धक सुरेशप्रसाद मेहताले कृषकले वार्ता गरेपछि सोमबार २० हजार क्विन्टल उखु कटानका लागि पुर्जी वितरण गरेको बताए । ‘कृषकले काटेको उखु मंगलबारदेखि तौल सुरु गर्छौं,’ उनले भने, ‘मिलमा उखु आउनेबित्तिकै चिनी उत्पादन थाल्छौं ।’

मेहताले पश्चिमका महाकाली र भानेश्वरी सुगर मिलले प्रतिक्विन्टल ३ सय ८५ र उन्नत प्रजातिको उखु ४ सय ५ मा र सर्लाहीको महालक्ष्मी सुगर मिलले प्रतिक्विन्टल ४ सय ३४ रुपैयाँमा कृषकसँग सहमति गरी खरिद गरिरहेको बताए । अन्य मिलभन्दा इस्टर्न सुगर मिल्सले कृषकले छुट दिएको रकमबाट उनीहरूकै उत्पादन बढाउनेमा खर्च गर्ने गरी सबभन्दा बढी मूल्यमा उखु खरिद सुरु गरेकोउनले बताए ।

मिल्सले गत वर्ष मिल्स घाटामा गएकाले सरकारले तोकेकोभन्दा ३० रुपैयाँ कम मूल्य ५ सय १ रुपैयाँमा मात्रै मिल्सले उखु खरिद गरेको थियो । मिल्सलाई कम मूल्यमा उखु बिक्री गर्दासमेत समयमा भुक्तानी नदिएपछि सुनसरी प्रहरीले मिल्सका लेखा फाँटका बृजमोहन गुप्तालाई पक्राउ गरेका थिए । पक्राउपछि मिल्सले असारमा उखुको भुक्तानी दिएको थियो । यसअघि सरकारले उखुको मूल्यसँगै चिनीको मूल्य नतोकेको भन्दै चिनी मिल्सले उखु क्रसिङ रोकेका थिए । सरकारले निर्धारण गरेको उखुको न्यूनतम मूल्यका आधारमा चिनीको मूल्य प्रतिकिलो ९० रुपैयाँ तोक्नुपर्ने उद्योगीहरूको अडान थियो ।

सरकारले चिनीको मूल्य नतोकेकाले मिलको गोदाममा गत वर्ष उत्पादन भएको ३ हजार टन चिनी वर्ष दिनदेखि थन्किएर रहेको मेहताले बताए । उनले यस वर्ष उत्पादन भएको चिनी कहाँ राख्ने भन्ने मिलमा तनाव बढेको बताए । ‘मिलले गत वर्ष ११ लाख ७८ हजार क्विन्टल उखु क्रसिङ गरेर १ लाख ७ हजार क्विन्टल चिनी उत्पादन भएको थियो,’ उनले भने, ‘मिलको दैनिक ३० हजार क्विन्टल र एक सिजनमा ३० लाख क्विन्टल उखु क्रसिङको क्षमता रहेको छ ।’

गत वर्ष पाकिस्तानबाट अनावश्यक चिनी आयात भएपछि यहाँका मिल्सहरूले उत्पादन गरेको चिनी बिक्री हुन सकेको छैन । पाकिस्तान सरकारले चिनी ढुवानीमा अनुदान दिएपछि यहाँका व्यापारीहरूले सस्तोमा २ लाख ३६ हजार टन चिनी आयात गरेका थिए । यहाँ किसानहरूले सुनसरीको बर्जु गाउँपालिका ५ स्थित इस्टर्न सुगर मिल्समा उखु बिक्री गर्दै आएको छ ।

‘मोरङ र सुनसरी २ जिल्लाका २ हजार १ सय कृषकले गत वर्ष मिल्सलाई ११ लाख ७८ हजार क्विन्टल उखु बिक्री गरेका थियौं,’ कोसी उखु उत्पादक संघका अध्यक्ष चौधरीले भने, ‘यस वर्ष २ हजार ४ सय कृषकले गरेको उखु खेतीबाट १५ लाख क्विन्टल उत्पादन हुने भएको छ ।’कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments