सरकार भन्छ : दूध पुगेन, किसान भन्छन् : बजार पाइएन

काठमाडौँ — सरकारले दूध उत्पादन पुगेन भनिरहँदा किसानले भने त्यसैका लागि बजार नपाएको गुनासो गरेका छन् । सरकारले चौधौं योजनामा २२ लाख ९६ हजार टन दूध उत्पादन गर्ने लक्ष्य राखेको थियो । त्रिवर्षीय योजनाको अन्तिम वर्षमा आइपुग्दा २० लाख ८५ हजार टन मात्रै उत्पदान भइरहेको छ ।

कृषि मन्त्रालयले चालु आर्थिक वर्षका लागि २५ लाख ९४ हजार टन उत्पादन गर्ने लक्ष्य राखेको छ । सरकारले दूध उत्पादन अपुग भएको तथ्यांक देखाए पनि किसानले भने बजार पाउन सकेका छैनन् । उत्पादित दूध बिक्री नभएपछि उनीहरूले ‘मिल्क होलिडे’ समेत मनाउँदै आएका छन् ।

‘दूध उत्पादन भए पनि बजारकै समस्या हुन्छ । बजार पाए मूल्य पाइँदैन,’ गोरखकाली गाई फार्मका सञ्चालक किशोर बगालेले भने, ‘दूधको बजार पाइएको छैन । सरकारले सुनिश्चत गर्नुपर्छ ।’ अर्का किसान बद्री अर्यालको भनाइ पनि उस्तै छ । बजार अभाव र आयातित सस्तो पाउडर दूधले किसानको सपना चकनाचुर भएको अर्यालले बताए ।

किसानले बजार नपाएको गुनासो गरिरहँदा दुग्धजन्य पदार्थको आयात भने बढदो छ । सरकारी तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै साढे २ अर्ब रुपैयाँँको आयात भएको थियो । चालु आर्थिक वर्षको अघिल्लो तीन महिनामा मात्रै ४१ करोड १४ लाख रुपैयाँको आयात भएको कृषि विभागले जनाएको छ ।

ती दुग्धजन्य पदार्थ भारत, चीन, टर्की, यूएई, जर्मनी, डेनमार्क, थाइल्यान्डलगायत मुलुकबाट आयात भएको छ । ‘किसानको उत्पादन स्वाभाविक रूपमा बढेको छ,’ विभागका एक कर्मचारीले भने, ‘सरकारी नीति तथा डेरीहरूको दादागिरीका कारण बिकेन ।’

किसानले उत्पादन बढाए पनि आपूर्ति र वितरणको अवस्थाले पुग्न नसकेको मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । किसानको दूध बिक्री नहुनुमा बजारसम्म लिंक नभएको उनले स्विकारे । ‘औपचारिक रूपमा ठूला कम्पनीको पहुँच बाहिर भए । ढुवानी खर्च/लागत बढी हुने हुँदा डेरीहरू १ हजार लिटर घटी दूध लिन जाँदैनन्,’ उनले भने, ‘लक्ष्यअनुसार बढी उत्पादन भए पनि संकलन र आपूर्ति प्रणाली मिलेन । माग हुँदा हुँदै आपूर्ति व्यवस्थापन नहुँदा समस्या भयो ।’ उनका अनुसार १० वर्षयता उत्पादन औसतमा ४ प्रतिशतले बढेको छ ।

संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) को आधारमा प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर उपभोग हुनुपर्ने हुन्छ । हाल नेपालमा प्रतिव्यवक्ति ७२ लिटर मात्र खपत भइरहेको छ । सुवेदीका अनुसार मापदण्ड पूरा गर्न थप ५ लाख टन उत्पादन बढाउनुपर्ने बताए । ‘अहिले व्यावसायिक उत्पादन २२ लाख टन छ । अब २७ लाख पुर्‍याउने योजना छ,’ उनले भने, ‘१५ औं योजनासम्ममा लक्ष्य पूरा गर्छौं ।’

डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले मुलुक दूधमा आत्मनिर्भर उन्मुख भएको बताए । उनले दूध सहरी क्षेत्रमा बढी खपत भएको बताए । आयातित दूध सस्तो हुँदा स्वदेशी किसानको दूध बिक्री नभएको बताए । ‘करिब ५ वर्षयता विभिन्न ब्रान्डका आयात हुन्छन् । बिहार र नेपालको तुलनामा ८ रुपैयाँ फरक छ । प्रतिस्पर्धा गर्न सकेन,’ उनले भने, ‘सरकारले गत ५ महिनायता पाउडर आयात रोकेकाले दूधको खपत केही बढेको छ ।’

नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालको भनाइ पनि उस्तै छ । उनले मुलुकको आँकाडाअनुसार करिब ८० प्रतिशत आत्मनिर्भर भएको बताए । ‘बढी उत्पादन हुने ठाउँमा बिक्री भएको छैन । उत्पादन नहुने ठाउँमा पुर्‍याउन सकिएको छैन,’ उनले भने, ‘समग्रमा जिल्लाको हकमा काभ्रे, चितवन, ललितपुर, धादिङ, सिन्धुपाल्चोकलगायत आत्मनिर्भर छन् ।’

किसानले उत्पादन गरेको दूधले बजार पाएको छैन । आन्तरिक उत्पादनले बजार नपाउँदा किसानहरू सधै मर्कामा परेका छन् । ‘अहिलेको अवस्थामा साना किसानमैत्री कार्यक्रम हुनु आवश्यक छ । सरकार साना किसानसम्म पुग्न चाहँदैन । उत्पादन साना किसानबाट हुन्छ तर सरकार पुगेन,’ राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले भने, ‘सरकारको साटो बिचौलिया पुगे । यसले गर्दा बजार र मूल्य पाइएन ।’

जानकारका अनुसार दुग्ध विकास संस्थान, केही निजीले डेरीहरूले धूलो दूध खरिद गर्छन् । किसानबाट कम उत्पादनको अवस्थामा पाउडर दूध खपत खरिन्छ । वाार्षिक ३ हजार टन पाउडर दूध आवश्यक पर्छ । जसमध्ये ९० प्रतिशत डेरी उद्योगमा खपत हुन्छ । १० प्रतिशत बिस्कुट, पोल्टीलगायतमा खपत हुने गरेको अध्यक्ष राजभण्डारीले बताए ।

उनका अनुसार पाउडर दूध १ किलोबाट ९ देखि ११ लिटर दूध बन्छ । ‘पाउडर दूध सस्तो पनि भए,’ उनले भने, ‘उद्योगीले सस्तो चलाउदा किसानको बिकेन ।’ कृषिमन्त्री चक्रपाणि खनालले किसानहरूले मूल्य नपाएको सही रहेको बताए ।

‘सस्तोमा आयात हुने सञ्जाल छ । सस्तोमा आयात गर्ने, यहाँ सस्तोमा उत्पादन गरेपनि त्यही रेटमा बेच्ने नदिने सञ्जाल छन्,’ उनले भने, ‘यसलाई छिट्टै हल गर्छौं ।’ कृषिमा उत्पादन लागत बढी भएकै कारण समस्या भएको बताए । लागत घटाउन कार्ययोजना तयार भएको मन्त्रालयले जनाएको छ । ‘भारत/चीनबाट आउने कृषि उपज बढी छ । अनुदानले मात्रै हुँदैन, लागत पनि घटाउनुपर्छ,’ उनले भने । स्वदेशमा उत्पादित दूधलाई प्रोत्साहन गर्न धूलो दूध आयातमा नियन्त्रण गरेको बताए ।

उपत्यकामा दैनिक ५ लाख लिटर आवश्यक पर्छ । जसमध्ये दुग्ध विकास संस्थानले साढे १ लाख लिटर बिक्री वितरण गर्छ । निजी डेरी उद्योगहरूले दुईदेखि साढे दुई लाख लिटर वितरण गर्छन् । बाँकी पसलहरूले बिक्री गर्दै आएको संघले जनाएको छ । हाल मुलुकमा १० लाख २५ हजार दुधालु गाई छन् । १३ लाख ६९ हजार दुधालु भैंसी रहेको जनाएको छ ।
कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments