हिउँले स्याउबारीमा किसान व्यस्त

जुम्ला — पुसको अन्तिम साता हिउँ परेपछि जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनको चटारोमा छन् । सबेरैदेखि राति अबेरसम्म किसान स्याउबारीमा व्यस्त बनेका हुन् ।

पुसको पहिलो सातादेखि बिरुवा व्यवस्थापन गर्नुपर्ने भए पनि लामो समयसम्म पानी र हिउँ नपरेकाले किसानले समयमै बिरुवा व्यवस्थापन गर्न सकेका थिएनन् । हिउँ परेलगत्तै पातारासी ४ मा रहेको आफ्नो स्याउ बगैंचामै व्यवस्थापनका लागि कृषक पूर्ण बुढा व्यस्त छन् । उनी मात्र होइन, अहिले जुम्लाका सबै किसान स्याउका बिरुवा काँटछाँटमा व्यस्त छन् ।

कर्णाली राजमार्ग सुरु भएपछि स्याउ खरिद गर्न व्यापारी बगैंचामै पुग्ने गरेकाले कृषक उत्साहित भएर स्याउ खेतीमा लागेका हुन् । स्थानीय कृषक चाउरी बोहोराले राजमार्ग सञ्चालनमा आउनुअघि प्रतिकिलो ५ रुपैयाँमा बिक्री हुन मुस्किल हुने स्याउले राम्रो भाउ पाएको बताइन् । उनका अनुसार अहिले सिजनमै प्रतिकिलो ६० देखि ७० रुपैयाँसम्ममा बगैंचामै स्याउ बिक्री हुने गरेको छ ।

स्याउका बिरुवा कटानी–छटानी गर्दा नयाँ पालुवा पलाउने र फूल लाग्ने भएकाले किसान बगैंचा व्यवस्थापनमा लागेका हुन् । साविक जिल्ला कृषि विकास कार्यालयले कृषि प्रसार कार्यक्रम, स्याउ आत्मनिर्भर कार्यक्रम र कर्णाली अञ्चल कृषि विकास कार्यक्रमअन्तर्गत स्याउ काँटछाँट अभियान नै चलाएका थिए । अहिले स्थानीय तहले स्याउ कृषकलाई बिरुवा काँटछाँटका लागि उत्साहित गर्ने कार्यक्रम ल्याउने तयारी गरिरहेका छन् ।

जिल्लामा प्रत्येक स्थानीय तहमार्फत स्याउ काँटछाँट गर्न किसानलाई सहयोग भइरहेको कृषि ज्ञान केन्द्रका अधिकृत बालकराम देवकोटाले बताए । ‘पहिले साविक कृषि कार्यालयले कृषि अधिकृतसहित प्राविधिकको टोली गाउँगाउँमा खटाएर स्याउ किसानलाई स्याउ व्यवस्थापनबारे जानकारी दिने गरेको थियो,’ उनले भने, ‘अब यसलाई स्थानीय तहले पनि निरन्तरता दिनुपर्ने देखिन्छ ।’ उनका अनुसार स्याउको उत्पादन बढाउन बिरुवा काँटछाँट गर्ने, बोडो पेस्ट लगाउने, बोडो मिश्रण छर्नेदेखि मलखादको व्यवस्थापनमा ध्यान पुर्‍याउनुपर्छ ।

स्याउ बिरुवा काँटछाँट गर्दा गुणस्तरीय फल उत्पादन हुनुका साथै रोग, कीरा नियन्त्रण हुने र बिरुवा स्वस्थ्य भई दिगो रूपमा फल्न सक्ने कृषि ज्ञान केन्द्रले छ । जुम्लामा ‘एक घर एक बगैंचा’ कार्यक्रम लागू भएपछि र जिल्लाबाहिर स्याउ जान थालेपछि खेती गर्नेको संख्या हवात्तै बढेको छ ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?