हिमपातले अलैँचीमा क्षति

रुकुम (पश्चिम), लगातारको हिमपात र वर्षात्का कारण जिल्लाको त्रिवेणी गाउँपालिकाका विभिन्न वडाको अलैँची खेतीमा ठूलो क्षति पुगेको छ । हिमपातकै कारण गाउँपालिकाको १, ३, ४ र ५ मा लगाइएको करिब ५५ लाख ६० हजार बराबरको अलैँचीमा क्षति भएको अनुमान गरिएको छ ।
अलैँची पकेट क्षेत्रका रूपमा रहेका यी वडामा हिमपातका कारण अलैँची कामै नलाग्ने गरी सोत्तर भएको कृषकको गुनासो छ । अघिल्लो वर्ष अलैँचीबाट राम्रो उत्पादन गरी व्यवसाय गर्न हौसिएका कृषक यो वर्षको हिमपातले क्षति गरेपछि निराश भएका छन् । हिमपातका कारण अधिकांश ठाउँको अलैँची भाँचिएर काम नलाग्ने अवस्थामा पुगेको त्रिवेणी गाउँपालिका–१ का अलैँची उत्पादक कृषक विकल्प ओलीको भनाइ छ । डाँठ भाँचिएको अलैंँची यो वर्ष नफल्ने उहाँले बताउनुभयो । यस क्षेत्रमा करिब एक दशकपछि ठूलो हिमपात भएको हो ।
हिमपातले सबैभन्दा बढी क्षति त्रिवेणी गाउँपालिका–४ मा भएको छ । वडाध्यक्ष चन्द्रबहादुर खड्काका अनुसार यस वडामा २६ लाख बराबरको क्षति भएको छ । यो वर्ष करिब ४० क्विन्टल अलैँची उत्पादन हुने लक्ष्य राखिएको र यसको बजार मूल्य करिब २६ लाख अनुमान गरिएको वडाध्यक्ष खड्काको भनाइ छ । वडाका ८० घरपरिवारले लगाएको करिब ६५ हजार अलैँचीका बोटमध्येमा ५० हजार बोटमा क्षति पुगेको बताइएको छ । यस वडाको दम्दु, खुम्चेरी, ज्यालगा, कालीमाटी, थारेघर, भाल्दुला, छोटेकाँडा, जुगेपानीलगायतका ठाउँमा व्यावसायिक अलैँची खेती गरिएको छ । वडा १ मा करिब १४ लाख बराबरको क्षति भएको वडाध्यक्ष मोहनकिशोर ओलीको भनाइ छ । वडाका २५ घरपरिवारले करिब ४० हजार अलैँचीका बोट लगाएकोमा सबै बोटमा क्षति पुगेको उहाँले बताउनुभयो । यो वर्ष करिब २१ क्विन्टल अलैँची उत्पादन हुने लक्ष्य राखिएकोमा यसको बजार मूल्य करिब १४ लाख हुन आउने उहाँको भनाइ छ । वडाका बग्रेखोला, चिसापानी, रिसम्जा खोला, किमगैरा, स्यानोखोलालगायतका ठाउँमा अलंँची लगाइएको छ ।
त्यस्तै वडा ५ का ५० घरपरिवारले लगाएको अलैँचीमा हिमपात हुँदा करिब १३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । वडाका हाइरु खोला, माथगाउँ, लाइतखोलालगायतका ठाउँमा अलैँची खेती गरिएकोमा करिब २० क्विन्टल अलैँची उत्पादन हुने अनुमान गरिएको थियो । यसका साथै वडा ३ को कुल्सिवाङ, सल्लेडारा र कुरललगायतका ठाउँमा लगाइएको अलैँचीमा करिब साढे दुई लाखको क्षति भएको वडाध्यक्ष मोहन ओलीले जानकारी दिनुभयो ।गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments