बन्दा किन्न चेक बोकेर बारीमा

चितवन — वर्षौंदेखि तरकारी खेती गर्दै आएका खैरहनी ६ तुल्सीपुरका पुरन महतो मंगलबार दुई वटा कुराले हर्षित थिए । पहिलो कुरा, जीवनमै पहिलो पटक किन्न आउनेले उनलाई तरकारीको मूल्य कति हो भनेर सोधे । दोस्रो, तरकारी किन्ने निधो गरेपछि काट्न नपाउँदै भुक्तानी दिए त्यो पनि चेकबाट ।

पुरन तिनै किसान हुन्, जसले बिक्री हुन नसकेपछि खेतमा लगाएकोमध्ये आधा बन्दाकोपी शुक्रबार मात्रै डोजर लगाएर नष्ट गरेका थिए ।

उपभोक्ताले चर्को मूल्य तिर्दा पनि बारीको बन्दा दुई रुपैयाँ किलोमा पनि नबिकेपछि नष्ट गर्नुपरेको समाचार पत्रपत्रिकामा प्रकाशित भएपछि यसले धेरैको ध्यान तान्यो । अनलाइन सपिङ कम्पनी मेट्रो तरकारी डटकमका प्रतिनिधिहरू भने बाँकी रहेको बन्दा किन्ने निधो गरेर पुरनको खेतमै पुगे । पुरन र मेट्रोको टोलीको खेतमै भेट भयो । मेट्रोका सीईओ अनिल बस्नेतले कतिमा बेच्ने हो भनेर सोधे, पुरन अक्क न बक्क भए ।

‘दुई रुपैयाँ किलो लैजाऊ भनेर दिँदा पनि डेढ बिघामा लगाएको बन्दा बिक्री नै भएन । अरू बाली लगाउन अबेला हुने भएपछि आधा बन्दा त फाल्नुपरेको थियो । बाँकी पनि फाल्ने तयारीमा छु । किन्न आउने व्यपारीले यसरी कहिल्यै हाम्रो तरकारीको भाउ सोधेनन्, उसैको मूल्यमा लग्यो । अनि मैले कति भन्ने ?’ पुरनले भने । मेट्रो तरकारीका सीईओ बस्नेतले घाटा नहुने गरेर मूल्य तोक्न पुरनलाई नै जिम्मा दिए ।

केही बेरको हिसाब किताबपछि पुरनले लौ यो पटकलाई पाँच रुपैयाँ किलो दिनु न भन्ने प्रस्ताव गरे । मेट्रो तरकारीले तत्कालै दुई टन बन्दा किन्ने भयो । मूल्य र तरकारीको परिमाण तय भएपछि अनिल बस्नेतले १० हजार रुपैयाँको चेक तयार गरेर बारीमै पुरनलाई जिम्मा लगाए । यसअघि तरकारी टिपेर लगेको केही समयपछि नै पुरनले पैसा पाउँथे । तत्काल दुई टन लगे पनि थप लैजाने प्रतिबद्धता बस्नेतले गरे ।

‘हामीले अहिले चितवनबाट गाजर पनि लैजाने भएका कारण पहिलो लटमा दुई टन मात्रै लिएर जाँदै छौं । बारीमा बाँकी रहेको अरू बन्दा नष्ट नगर्नु होला, त्यो पनि हामी नै किन्नेछौं,’ बस्नेतले भने । त्यसैले यो रकमलाई बैनाका रूपमा बुझ्न अनिलले आग्रह गरे । अरू व्यपारीहरू आउँछन् भने पनि उचित मूल्य आएमा उनीहरूलाई पनि बेच्न सकिने उनले पुरनलाई छुट दिए ।

‘तपाईंले तरकारी नष्ट गर्न पर्दैन, हामी किन्छौं । यो बीचमा किन्छु भन्दै अरू आउँछ भने पनि हामीलाई नै पर्खनुपर्छ भन्ने छैन,’ अनिलको भनाइ थियो । मेट्रो तरकारी काठमाडौंमा पाँच वर्षअघि सुरु भएको हो । ‘किसानले सस्तोमा दिए भन्दैमा हामी उपभोक्तालाई महँगोमा बेच्न खोजेको पनि हैन । बजारमा तरकारीको माग छ तर किसानले मूल्य नपाएको अवस्था देखेर हामीले किसान उपभोक्ता दुवैको हित गर्न खोजेका हौं,’ बस्नतेले भने ।

किसानबाट किनेको मूल्यमा ढुवानी र अन्य खर्च जोडेर सामान्य नाफा राखेर बिक्री मूल्य तय गर्ने बस्नेतले बताए । आफूहरूले प्रांगारिक उत्पादनलाई जोड दिने गरेको उनको भनाइ छ । ‘अहिले नबिकेको सुनेपछि किन्न आयौं र उहाँसँग हामी जोडियौं । यो मात्रै हैन, हामी उहाँले उत्पादन गरेका तरकारीहरू अरू बेला पनि किन्न तयार छौं । उहाँले लागत खर्चको आधारमा आफैं मूल्य तय गर्नुस् भन्ने हाम्रो आग्रह छ,’ अनिल बस्नेतले भने ।कान्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments