प्लास्टिकमा धानको बेर्ना, रोपाइँ मेसिनले

दमक, झापामा बोरो (हिँउदे) धान खेतीमा यान्त्रीकरण र प्रविधिको प्रयोग बढ्न थालेको छ । परम्परागत रूपमा धान खेती हुँदै आएको झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, धान सुपरजोन घोषणा भएर कार्यान्वयनमा आएसँगै झापाको कचनकवल गाउँपालिकामा प्रविधिको प्रयोगमा बढोत्तरी भएको छ ।
झापाको दक्षिण भागमा पर्ने कचनकवलमा केही वर्ष अघिसम्म एक बाली मात्र धान खेती हुँदै आएकोमा तीन वर्षयता दुईदेखि तीन बालीसम्म धान खेती हुँदै आएको छ र यसमा यान्त्रीकरणको प्रयोग हुने गरेको छ । धान सुपरजोनले विस्तार गरेका प्रविधिमध्ये ‘राइस ट्रान्सप्लान्टर’ र ‘ड्रम सिडर’बाट धान रोप्ने प्रविधिलाई किसानले रुचाउन थालेको धान सुपरजोन कार्यान्वयन एकाइका कृषि विकास अधिकृत सागर विष्टले बताउनुभयो ।
‘राइस ट्रान्सप्लान्टर’ प्रविधिमा प्लास्टिक ‘ट्रे’ मा वा प्लास्टिक ओछ्याएर धानको बीउ राखी २५ देखि ३० दिनको बेर्नालाइ मेसिनको प्रयोगबाट खेतमा रोप्ने गरिन्छ, विष्टले भन्नुभयो । ट्रे महँगो हुने भएकाले यस पटक आपूmहरूले पहिलो पटक प्लास्टिकमा धानको बेर्ना उमारेर ‘राइस ट्रान्सप्लान्टर’ बाट रोपिएको समेत उहाँले बताउनुभयो । अहिले हामी प्रदर्शनीका रूपमा करिब ३० बिघा जमिनमा यसरी धान रोपिरहेका छौँ, विष्टले भन्नुभयो ।
यस प्रविधिबाट खेती गर्दा एक घण्टामा आठ देखि दस कट्ठा रोप्न सकिने बताइएको छ । धान सुपरजोन क्षेत्रमा कृषकको माग अनुसार अनुहरित कृषक समूहले प्रतिबिघा तीन हजार शुल्क लिएर अन्य कृषकको समेत धान रोपिदिने कार्य यस वर्षदेखि शुरुवात गरिएको छ, विष्टले भन्नुभयो । उक्त ‘राइस ट्रान्सप्लान्टर’ मेसिन सहकारीलाई धान सुपरजोन एकाइले उपलब्ध गराएको हो ।
मान्छेले धान रोपाइँ गर्दा प्रतिबिघामा कम्तीमा छ हजार लाग्नेमा यस मेसिनको प्रयोगबाट रोपाइँ खर्च पचास प्रतिशतले घटाउन सकिन्छ, उहाँले भन्नुभयो । बीउ राख्न सजिलो र बेर्ना उखेल्न नपर्ने भएकोले यस प्रविधिप्रति कृषक आकर्षित भइरहेको धान सुरपरजोनका प्रमुख धनबहादुर थापाले बताउनुभयो । लागत कम हुने र उत्पादकत्वसमेत बढ्ने भएकाले यो प्रविधि किसानका लाभदायक छ, उहाँले जनाउनुभयो ।
गत वर्षदेखि सरल प्रविधिका रूपमा रहेको ड्रम सिडरप्रति पनि किसान आकर्षित भएका छन् । हिलोमा धान छर्ने प्रविधितर्फ कृषक अत्यन्तै आकर्षित भएर यस प्रविधिलाई अपनाइ रहेको धान सुपरजोन सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईले बताउनुभयो । यस प्रविधिमा ड्रम सिडरमा नउमारिएको धानको बीउ राखिन्छ र त्यो एकनासले हिलोमा खस्दै जान्छ । गत वर्ष हिउँदे र वर्षे धानबालीमा करिब दस बिघामा प्रयोग गरिएको यो प्रविधिबाट उत्पादन राम्रो र उत्पादन लागत कम भएको छ, उहाँले भन्नुभयो ।
धान खेतीका लागि ब्याड राख्नु नपर्ने र रोपाइँ नगरी सीधै हिलो बनाएको खेतमा ड्रम सिडर मेसिनबाट धान छर्न सकिने भएपछि यस प्रविधि सबैभन्दा सरल र सहज भएको बताइने गरेको छ । यसको प्रयोगले उत्पादन लागत ३० प्रतिशतसम्म घट्ने र यस वर्ष कम्तीमा पनि ५० बिघा यस प्रविधिको प्रयोग गरेर खेती गरिने भट्टराईले बताउनुभयो । धान सुपरजोन क्षेत्रमा पाँच सय बिघा जमिनमा दुई खेती हुन थालेको छ ।गोरखापत्र

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments