सलकपुरका सुन्तला सखाप

सलकपुर, स्वादिलो सुन्तला उत्पादन गरेर अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएको इलामको सलकपुरका सबै सुन्तलाको बोट मरेर सखाप भएपछि किसान चिन्तित भएका छन् । गाउँको सबै सुन्तला बगान सखाप भएपछि सलकपुरका किसानले वैकल्पिक खेती शुरु गरेका छन् । केही किसान भने अब के गर्ने भन्ने सोचमा रहेको बताउँछन् । इलामको रोङ गाउँपालिका–६ सलकपुरका पर्शुराम तामाङको पाँच रोपनी जग्गामा भएका सुन्तलाका सबै बोट मरेपछि रुद्राक्ष र एभोकाडो लगाउनुभएको छ । उहाँले ७० बोट भएको बगानबाट वार्षिक तीनदेखि साढे तीन लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको थियो ।
सुन्तलाको बोटमा सेतो कीरा देखापरेको र त्यसको नियन्त्रणका लागि प्रयोग गरिएको विषादी धेरै कडा भएपछि सुन्तलाको जरा नै मर्न थालेको तामाङको भनाइ छ । उक्त कीरा मार्न नेपालमा नै प्रतिबन्धित रेड लेबलको मोनासिल नामक विषादी प्रयोग गरिएको स्थानीय किसान मदन प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, त्यो विषादीले कीराको साथै सुन्तलाको बोट नै मारिदियो ।
यहाँको सुन्तला भारतको कोलकातामा भएको अन्तर्राष्ट्रिय सुन्तलाले महोत्सवमा समेत राम्रो बजार पाएको थियो । सुन्तला बगानभित्र किसानले अलैँची खेतीसमेत गरेका थिए । अलैँची खेती गर्दा सुख्खा मौसममा सिँचाइ गर्नुपर्ने हुन्छ । यसरी सिँचाइ गर्दा सुन्तलालाई अनुकूल माटो नभएर माटोमा ढुसीका कारण पनि सुन्तलाको बोट मरेको हुनसक्ने प्रधानको अनुमान छ ।
उहाँ भन्नुहुन्छ, रोग कीरा लाग्नासाथ उचित प्राविधिक ज्ञान पाउन सकिएन किसानले अहिलेसम्म पनि के कारणले सुन्तलाको बोट मरेको हो भन्ने थाहा पाउन सकेका छैनन् ।
सलकपुरमा मात्र लगभग १५० परिवारले सुन्तला खेती गर्दै आएका थिए ।
पाँच वर्षअघिसम्म यहाँ प्रतिवर्ष तीन लाख ९० हजार किलोभन्दा बढी सुन्तला उत्पादन हँुदै आएको थियो । सुन्तलाको रोग कीरा तथा उपचारसम्बन्धी अनुसन्धान गर्न किसानले सरकारसँग माग गरेका छन् ।
सुन्तला रोगसम्बन्धी अनुसन्धान केन्द्रका विज्ञ प्राविधिकबाट यो क्षेत्रको समस्या पहिचान गर्न सकेमा गुमेको सुन्तला बगान फर्काउन सकिने किसानहरूको भनाइ छ ।गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments