स्याउ बिरुवाबाट २७ लाख

जुम्ला — जिल्लाका गाउँगाउँमा स्याउ नर्सरी स्थापना भएपछि किसानले मनग्गे आम्दानी गर्न थालेका छन् । साविक कृषि विकास कार्यालयले एक घर एक स्याउ बगैंचा कार्यक्रम लागू गरेपछि गाउँगाउँमा स्याउ नर्सरी स्थापनाको लहर चलेको थियो । जुम्ली स्याउको बिरुवाको माग विभिन्न जिल्लामा बढदै गएको छ ।

गत वर्ष स्याउको बिरुवा बिक्रीबाटै जुम्लामा झन्डै २७ लाख रुपैयाँ भित्रिएको तथ्यांक छ । यस वर्ष भने पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाका किसानले मात्र स्याउका बिरुवा जिल्ला बाहिर पठाएका छन् |

जिल्लामा १ सय १० वटा फलफूल नर्सरी छन् । जुम्लामा उत्पादन भएका स्याउका बिरुवा देशैभरि पुग्ने गरेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हुम्लाका लागि जुम्लाबाट ११ हजार स्याउका बिरुवा किसानले हवाईजहाजबाट पठाएका छन् । खार्पुनाथ गाउँपालिकाले जुम्लाबाट जहाजमार्फत स्याउका बिरुवा लिएर किसानलाई वितरण गरेको जनाएको छ ।

कलमी प्रविधिबाट जुम्लामा उत्पादन भएका बिरुवा पूर्वको सोलुखुम्बु र पश्चिमको दार्चुलासम्म पुगेको चन्दननाथ नगरपालिकाको कृषि शाखाका प्राविधिक धर्ममराज आचार्यले बताए । ‘स्थानीय तहको कृषि शाखाको सिफारिस लिएर मात्रै बिरुवा जिल्ला बाहिर लैजान पाउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘स्याउको माग देशभर बढ्दै गएपछि किसानले स्याउ खेतीसँगै बिरुवा उत्पादनमा पनि जोड दिन थालेको छन् ।’

नगरबाट मात्रै १० हजारभन्दा बढी स्याउका बिरुवा जिल्ला बाहिर पठाइएको उनको भनाइ छ ।जिल्लाका बिरुवा बझाङ, बाजुरा, धादिङ र पूर्वी नेपालका जिल्लामा बिक्रीका लागि जाने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार एक हजार ओखर र एक हजार अंगुरका बिरुवा बाहिर पठाइएको हो ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?