किसान र आयुर्वेदिक डाक्टर प्रमोद सावन्त गोवाको नयाँ मुख्यमन्त्री

Krishi Suchana - Agriculture in Nepal

५ चैत, काठमाडौं । पेशाले किसान र आयुर्वेदिक डाक्टर प्रमोद सावन्त गोवाको नयाँ मुख्यमन्त्री बनेका छन् । उनले मंगलबार बिहानपख दुई बजेतिर राजभवनमा मुख्यमन्त्री पदको सपथ लिए ।

गोवाका पूर्वमुख्यमन्त्री मनोहर पर्रिकरको यही मार्च १७ मा निधन भएको थियो । चार कार्यकालसम्म गोवाको मुख्यमन्त्री बनेका उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए । मनोहरको निधनपछि भाजपालाई उनको उत्तराधिकारीको चिन्ता थियो । अन्ततः ४५ वर्षीय प्रमोद सावन्तको काँधमा गोवाको जिम्मेवारी आएको छ ।

प्रमोदका साथै अन्य ११ सांसदले पनि मन्त्री पदको सपथ लिएका छन् । यसमा महाराष्ट्रवादी गोमान्तक पार्टी (एमजीपी)का सांसद धवलिकर र गोवा फरवार्ड पार्टी (जीएफपी)का अध्यक्ष एवम् सांसद विजय सरदेसाइ विशेष छन् । बाँकी शपथ लिएकाहरु पुरानै सांसदहरु हुन्, जो पर्रिकर नेतृत्वको सरकारमा पनि मन्त्री थिए ।

सुधिन धवलिकर र विजय सरदेसाइलाई उपमुख्यमन्त्री पद दिने तयारी भइरहेको भारतीय मिडियाहरुले लेखेका छन् ।

सोमबार दिउँसो मनोहर पर्रिकरको अन्तिम संस्कार पछि गोवामा राजनीतिक सरगर्मी बढेको थियो । आइतबार साँझ केन्द्रीय मन्त्री नितिन गडकरी गोवा आएका थिए । मंगलबार राति अबेर पार्टी र सहयोगी पार्टीका सांसदहरुको समर्थन लिएर उनी राजभवन पुगेका थिए ।

यस्तो छ राजनीतिक समीकरण

पर्रिकरको निधनपछि संसदमा भाजपाको बहुमतलाई लिएर संशय थियो । किनभने उसका सहयोगी पार्टी एमजीपी र जीएफपी पार्टीले साथ छाड्ने अनुमान गरिएको थियो ।

४० सिट रहेको गोवा विधानसभामा हाल ३६ सांसद छन् । कांग्रेसका १४ र भाजपाका १२ सांसद छन् । यसैगरी एमजीपी र जीएफपीका तीन-तीन सांसद छन् । यी एमजीपी र जीएफपी दुवै पार्टीले भाजपालाई समर्थन गरे । साथै अन्त्य स्वतन्त्र तीन जना सांसदहरुको समर्थन पनि भाजपाले पायो । र, बहुमत पुगेपछि भाजपाकै नेतृत्वमा सरकार गठन भयो ।

सदनमा कांग्रेस सबैभन्दा ठूलो दल थियो । त्यसैले उसले पनि सरकारको नेतृत्वमा दाबी गरेको थियो । यसै दाबीअनुसार कांग्रेसले गोवाकी राज्यपाल मृदुला सिन्हालाई चिठ्ठी लेखेर भाजपा नेतृत्वको सरकार भंग गर्न माग गरेको थियो ।

सो चिठ्ठीमा लेखिएको थियो, राज्यको सबैभन्दा ठूलो पार्टी भएका कारण कांग्रेसलाई सरकार बनाउन निम्तो दिइयोस् ।

मुख्यमन्त्री पदको शपथ लिनुअघि प्रमोद सावन्तले पत्रकारहरुसँग भने, ‘पार्टीले ठूलो जिम्मेवारी दिएको छ, यो जिम्मेवारी पूरा गर्न धेरै मेहेनत गर्नेछु ।’

उनले पूर्वमुख्यमन्त्री मनोहर पर्रिकरको कारण आफू यहाँसम्म आएको पनि बताए । उनले भने, ‘म पर्रिकरजीको लागि यहाँ छु, उहाँले मलाई राजनीतिमा ल्याउनुभयो, उहाँकै लागि सभामुख बनें र उहाँकै लागि अब मुख्यमन्त्री बन्दैछु ।’

Source: OnlineKhabar

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments