चिउरी महको माग बढ्दो

हेटौंडा — मकवानपुरमा उत्पादित चिउरीको महको माग बजारमा बढ्दो छ । यहाँका चेपाङले उत्पादन गरेको चिउरीको मह खरिद गर्न व्यापारीले पहिले नै ‘अर्डर’ दिनुपर्छ ।

चिउरीको महको बजार व्यवस्थापनको जिम्मेवारी लिएको लोथरस्थित जनचेतना कृषि सहकारी संस्थामा मह खरिद गर्न उपभोक्ता तथा व्यापारीहरूले कम्तीमा एक साता कुर्नुपर्छ । ‘विगतमा चिउरीको महको माग यस्तो थिएन अहिले बढदो छ,’ सहकारीका बजार व्यवस्थापक दिनेश चेपाङले भने, ‘चिउरीको मह लिन आउनेहरूलाई दिन सकिएको छैन’ । राक्सिराङ गाउँपालिका ६ काँकडाका चेपाङहरूले उत्पादन गरेको मह सहकारी संस्थामा बिक्री गर्ने गरेका छन् । सहकारीले खरिद गरेको मह मेसिनले प्रशोधन गरी बिक्री गर्ने गरेको छ ।

चिउरीको मह प्रशोधन गरेपछि माग बढेको छ,’ बजार व्यवस्थापक चेपाङले भने, ‘माग मात्र होइन, उत्पादन पनि बढेको छ ।’ सहकारी संस्थाले प्रतिकेजी २ सय ५० रुपैयाँमा खरिद गरेको मह प्रतिकेजी ४ सय रुपैयाँदेखि ५ सय रुपैयामा बिक्री गर्ने गरेको छ । महलाई शुद्धीकरण र गुणस्तरीय बनाउनका लागि प्रशोधन मेसिन प्रयोग गरिन्छ ।

सहकारी संस्थाद्वारा संकलित मह काठमाडौंको हिमालयन हनी कम्पनीले खरिद गर्ने गरेको छ । लोथर बजारमा फुटकर पनि बिक्री गर्ने गरेको छ । हिमालयन हनीलाई मागअनुसार मह नै पुर्‍याउन नसकिएको सहकारी संस्थाले जनाएको छ । ऊक्त संस्थाले अहिलेसम्म २५ टन मह बित्री गरिसकेको छ ।

‘यो वर्ष ४५ टन मह बिक्री हुने अनुमान छ,’ व्यवस्थापक चेपाङले झने, ‘गत वर्ष ४० टन मह बिक्री गरिएको थियो, अहिलेको वर्ष ५ टन बढी बित्री गरिन्छ, महको उत्पादन नै बढेको छ ।’ गत वर्ष काँकडामा चार हजार ५ सय घार मौरी थिए । यो वर्ष ५ हजार ५ सय घार पुगेका छन् । गत वर्ष मौरीपालनमा ८० जना कृषकहरू संलग्न थिए भने अहिले सय जनाभन्दा बढी छन् ।

चिउरीको महको गुणस्तर उत्कृष्ट र अर्गानिक भएको ठहर भएपछि बजारमा यसको माग बढेको हो । गत वर्ष उक्त सहकारी संस्थाले १ करोड ५० लाखभन्दा बढी मूल्यको मह बिक्री गरेको थियो । चिउरीको मह मंसिरदेखि चैतको पहिलो सातासम्म उत्पादन हुने गर्छ । महबाट मात्र राक्सिराङ गाउँपालिका ६ साविकको काँकडा गाविसमा बर्सेनि २ करोड रुपैयाँ भित्रिने गर्छ ।

‘दुई वर्षदेखि बाहिरबाट मौरी चराउन ल्याउन पूर्ण रूपमा रोकेका छौं,’ वडाध्यक्ष सिंहलाल चेपाङले भने, ‘स्थानीयवासीले व्यावसायिक रूपमा मौरीपालन सुरु गरेका मात्र छैनन्, मनग्गे आम्दानी लिन थालिसकेका छन् । चिउरीको रसबाट बनेको मह गुणस्तर र स्वास्थ्यवर्द्धक हुने भएकाले चिउरीको मह ग्राहकहरूले खोजीखोजी खरिद गर्ने गरेका छन् ।

विगतमा चेपाङ समुदायहरूले मुढेघारमा स्थानीय सेरेना जातका मौरी पाल्थे । अहिले विकासे मेलिफेरा जातको मौरी आधुनिक घारमा पाल्ने गरेका छन् । चिउरीको जंगललाई नै लक्ष्य गरेर चेपाङहरूले आधुनिक ढंगले मौरीपालन सुरु गरेका हुन् । साविकको काँकडा गाविसमा मात्रै साढे २ लाखभन्दा बढी चिउरीको रूख रहेका छन् । चेपाङ जातिको संस्कृति र जीवनसँग जोडिएको चिउरीको संरक्षण काँकडा चेपाङहरूले विगत चार वर्षदेखि अभियान नै सञ्चालन गरेका छन् ।

विषादी छर्न रोक
व्यावसायिक रूपमा मौरीपालन गर्ने राक्सिराङ गाउँपालिका ६ काँकडाका खेतबारीमा रासायनिक मल र विषादी प्रयोग गर्न रोक लगाइएको छ ।

विषादीका कारण मौरी मर्ने भएकाले उनीहरूले विषादी प्रयोग गर्न रोक लगाएका हुन् । राक्सिराङ ६ सिलिङेका कृषकहरूले खेतबारीमा विषादी र रासायनिक मल प्रयोग गर्दैनन् । खेतबारीमा हालेको विषादीका कारण स्थानीय मौरी मर्ने भएकाले विषादी प्रयोग गर्न रोक लगाएको वडाध्यक्ष सिंहबहादुर चेपाङले बताए । ‘मौरी संरक्षण र अर्गानिक मह उत्पादन गर्ने उद्देश्यले फलफूल र तरकारीलगायत कुनै पनि बालीमा रासायनिक मल र विषादी प्रयोग गर्न रोक लागएका हौं,’ उनले भने ।

चिउरीको रसको मह गुणस्तरयुक्त हुँदाहुँदै पनि अर्गानिक मह उत्पादन गर्नका लागि स्थानीयवासीले विषादी प्रयोग गर्न छाडेका छन् । महको आम्दानीबाट हौसिएका उक्त क्षेत्रका बासिन्दाले गत वर्षदेखि बाहिरका मौरीपालकहरूलाई मौरी चराउन ल्याउन रोक लगाएका छन्। कान्तिपुर

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments